Comments Add Comment

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, आज बहस र फैसला नहुने

१३ असार, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका ९० मतपत्र र पुनः मतदान गराउने निर्वाचन आयोगको सक्कल निर्णय आज सर्बोच्च अदालतमा पेश हुँदैछ ।

अदालतको आदेश अनुसार च्यातिएका मतपत्र र त्यसको मुचुल्का समेत काठमाडौं पठाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै मतपत्र च्यात्नेमा संलग्न रहेको भनी प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेका माओवादी कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेमाथि चलेको मुद्दाको सक्कल मिसिल समेत सर्बोच्च अदालतमा पठाइसकिएको छ ।

सर्वोच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान गराउने निर्वाचन आयोगको सक्कलप्रति समेत झिकाएको थियो । ती सबै मिसिल र निर्णयहरु हरेपछिमात्र अदालत निष्कर्षमा पुग्नेछ ।

कामु प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले ती कागजपत्र पेश गर्न एक साताको समय दिएको थियो । अदालतले सक्कल कागजात र मिसिल पेश गर्नु भनेको आज सात दिन पुगेको छ ।

अदालतले मागेका सबै कागजपत्रहरु सर्वोच्च अदालतमा पेश भए पनि आजै बहस र फैसला भने हुने छैन । अदालतले मागेका प्रमाणहरु जम्मा भएपछि अर्को पेशी तोकिने र त्यही दिन बहसका क्रममा ती कागजहरु इजलासमा पेश हुने सर्बोच्च प्रशासनले जनाएको छ ।

भरतपुर महानगरपालिकाका २९ वडामध्ये २७ वटा वडाको मतगणना सकिँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ७८३ मतले माआवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाललाई पछि पारिरहेका थिए । १९ नम्बर वडाको मत गणना आधा भन्दा बढी सकिएपछि मतपत्र च्यातिएको थियो ।

निर्वाचन आयोगले छानविनपछि ९० मतपत्र च्यातिएको भन्दै १९ नम्बर वडामा पुनः मतदान गराउन जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । तर आयोगको निर्णय विरुद्ध सोही वडाका एमाले उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले पुनः मतगणनाको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले अन्तरकालीन आदेश दिँदै आयोगको निर्णय कार्यन्वयन नगर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment