Comments Add Comment

अघि बढ्यो पुल्चोक-कुपण्डोल फ्लाइ ओभर योजना, मेयर चिरिबाबु भन्छन्-मेरै कार्यकालमा बन्छ

१३ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘फ्लाई ओभर’ निर्माणको प्रक्रिया अघि बढाएको छ । स्थानीय निर्वाचनबाट आएको महानगर कार्यापालिकाले पुल्चोकबाट कुपण्डोल (सम्भवतः बाग्मती वारी) सम्म फ्लाई ओभर निर्माणका लागि सम्भाब्यता अध्ययन गर्ने निर्णय गरेको हो ।

मेयर चिरिबाबु महर्जनले पहिलो बोर्ड बैठकबाटै आफ्नो घोषणापत्रमा उल्लेख भएको महत्वपूर्ण आयोजना कार्यान्वयन गर्ने गरी फ्लाई ओभरको निर्माणका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको बताए । उनले भने, हाम्रो कार्याकालभित्रै ललितपुरमा फ्लाई ओभर बन्नुपर्छ भनेर पहिलो बैठकबाटै यो निर्णय गरेका हौं ।’

एक-दुई दिनमै यसका लागि परामर्शदाता छनोटका लागि टेण्डर हुनेछ । पुल्चोकबाट कुपण्डोलसम्म निर्माण गर्दा झण्डै १.४ किलोमिटरमा फ्लाइओभर बन्नेछ । ललितपुरको योजनाअनुसार यो फ्लाई ओभर बनेमा नेपालमा स्थानीय तहले बनाएको सबैभन्दा ठूलो परियोजना हुनेछ ।

‘हामीले फ्लाइ ओभर निर्माणका लागि एक्प्रेशन अफ इन्ट्रेस्ट (ईओआई) माग्ने भएका छौं’ महर्जनले भने, ‘अब परामर्शदाता छनोट प्रक्रिया सकेर फ्लाई ओभरको सम्भाब्यता अध्ययन थाल्नेछौं ।’

सम्भाब्यता अध्ययन ८ महिनाभित्र सक्ने लक्ष्य छ । त्यससपछि विस्तृत आयोजना प्रतिवेदन -डीपीआर) बनाइनेछ । सम्भाब्यता अध्ययनले कस्तो खालको फ्लाई ओभर बनाउन सकिन्छ भन्ने टुंगो लाग्नेछ ।

पुल्चोक-कुपण्डोल फ्लाइ ओभर योजना नेपाली कांग्रेसबाट मेयर जितेका महर्जनको चुनावी बाचा पनि हो । आफ्नो कार्यकालभित्र फ्लाई ओभर बनेर सञ्चालनमा आइसकोस् भनेर तत्काल प्रक्रिया अघि बढाएको भन्दै महर्जनले भने, ‘चुनावअघि नै मैले यो काम गर्छु भनेको हुँ, यसमा म प्रतिवद्ध छु ।’

यसलाई बनाउन झण्डै ५ अर्ब लाग्ने अनुमान छ । यो लगानी कसरी जुटाउने भन्ने अहिले टुंगो लागिसकेको छैन । ‘पीपीपी मोडल पनि अबलम्बन गर्न सकिएला । नभए अरु मोडलहरुमा पनि छलफल हुनसक्छ’ मेयर महर्जनले भने, ‘निजी क्षेत्रको लगानी भए त्यसको प्रयोग गर्दा प्रयोगकर्ताले केही शुल्क तिर्नुपर्ने हुनसक्छ । तर, धेरै विज्ञापन राखेर शहरलाई कुरुप पनि बनाउन भएन ।’

फ्लाई ओभरको अन्तिम बिन्दु थापाथली हुन सक्ने महानगरको आंकलन छ । यो सम्भाब्यता अध्ययन र डीपीआरपछि नै टुंगो लाग्नेछ ।जाइकाले त्रिपुरेश्वर-थापाथली-माइतीघर रुटमा फ्लाइओभर बनाउने भनेकाले यसमा जोड्न सकिन्छ कि भन्ने ललितपुर महानगरको बुझाइ छ ।

जाइलाले गरेको डिजाइनमा ललितपुरबाट पनि फ्लाई ओभर आएर यसमा जोडिन्छ भन्ने सुनेको भन्दै भन्दै मर्हजनले भने, ‘खेला क्रस गरेर यो फ्लाई ओभर थापाथलीमा जोडिन सक्छ ।’

फ्लाई ओभर ठूला मालबहाक सवारी पनि गुड्न सक्ने गरी बनाइने बताए । ‘हामी यस्ता ब्रिज  निर्माणको काम गरिसकेका ठेकेदारमार्फत नै यसको काम गराउनुपर्छ भन्नेमा छौं’ महर्जनले भने, ‘यसले ललितपुरको सम्बृद्धि झल्काउने मात्रै छैन, अब समग्र नेपालको विकासको मोडल पनि देखाउनेछ ।’

मेयर महर्जनले पुल्चोकभन्दा अघि जाउलाखेलतर्फ भने रातो मच्छिन्द्रनाथको जात्रा हुने भएकाले फ्लाई ओभर नबनाइने स्पष्ट गरे । सो क्षेत्रबाट जात्रा शहर परिक्रमा गराइने रथ अग्लो हुने भएकाले अन्य क्षेत्रमा फ्लाई ओभर बनाउन नहुने निश्कर्ष महानगरपालिकाको छ ।

‘ललितपुर कला र संस्कतिको शहर हो । शहरका विशिष्ट महत्वका सम्पदा र संस्कृति बचाए मात्रै विकास अघि लैजानुपर्छ’ महर्जनले भने, पुल्चोकभन्दा अघि फ्लाई ओभर बनाउँदा जात्रा रोकिने अवस्था आउँछ । त्यसैले सम्भाब्य क्षेत्रमा हामी विस्तारै आवश्यक पूर्वाधार बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment