Comments Add Comment

युएईमा एनआरएनए र नेपाली समाजको अधिबेशनको चर्चा

२७ जुन, युएई । युएईमा क्रियाशील दुई ठूला नेपाली संस्थाको आसन्न अधिवेशनले यहाँको नेपाली समुदाय तथा सामाजिक व्यक्तिहरु चलायमान हुन थालेका छन् ।

युएईकै पहिलो नेपाली संस्था नेपाली समाज, युएई र अन्तर्राष्ट्रियस्तरमै धेरै सञ्जाल भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति युएईको अभिवेशनको मिति तय भएका कारण यहाँको नेपाली समुदाय मौसम तातेसँगै तात्न थालेका हुन् ।

नेपाली समाजले अधिवेशनको मिति भन्दा करिव २ महिना अघिदेखि निर्वाचन समिति गठन गरेर विभिन्न कामहरुको सूची सार्वजनिक गरिसकेको छ ।

गोविन्द ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले संस्थागत आवद्धतादेखि उम्मेद्वारी दर्ता, मतदानदेखि मतगणना, मत परिणामको घोषणासम्मका कार्यक्रमहरु व्यवस्थित रुपमा सार्वजनिक गरेको छ ।

गैरआवासीय नेपाली संघ, युएई शाखाको निर्वाचनका लागि नेपाल पत्रकार महासंघले निर्वाचन समितिको भूमिका निर्वाह गर्ने लगभग तय भएको छ ।

अधिवेशनका कारण साधारण सदस्यता फाराम वितरणदेखि आन्तरिक तयारी व्यापक रुपमा भइरहेको प्रवक्ता बालकृष्ण मरासिनीले अनलाइनखबरलाई बताए ।

यसपालि गैरआवासीय नेपाली संघ, युएई शाखाको साधारण सदस्यता शुल्क ६० दिराम्स निर्धारण गरिएको छ ।

भूकम्पपीडितहरुका लागि घर निर्माण र एनआरएन भवन निर्माणमा आर्थिक सहायता पुग्ने गरी केन्द्रले सदस्यता शुल्कका रुपमा १५ डलर लिन निर्देशन दिए पनि साधारण कमाई भएका मजदुरसँग १० डलर मात्र लिने गरी सहमति गरिएका कारण युएईको हकमा ६० दिराम्स नयाँ सदस्यता शुल्क निर्धारण भएको प्रवक्ता मरासिनीले जानकारी दिएका छन् ।

यसपालिदेखि अनलाइनबाटै सदस्यता दिन सकिने गैरआवासीय नेपाली संघ युएईले जनाएको छ । जुन २५ देखि सदस्यता लिनका लागि फाराम सार्वजनिक भएको गैरआवासीय नेपाली संघ युएईले बताएको छ ।

नेपाली समाज, युएईको अधिवेशन जुलाई ७ मा हुन लागेको छ भने गैरआवासीय नेपाली संघ, युएईको अधिवेशनको सेप्टेम्बर ८ मा हुँदैछ ।

सदस्य संख्या, संस्थाको गरिमा र पदीय आकर्षण हरेक दृष्ट्रिले ठूला र प्रभावशाली मानिएका यी दुई संस्थाको अघिवेशनको कारण युएईका सामाजिक, जातीय, राजनीतिक तथा जिल्ला तथा क्षेत्रीय संघसंस्था तथा सर्वसाधारण नेपालीहरुले आसन्न अधिवेशनलाई निकै चासोका साथ हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment