Comments Add Comment

डिलक्स र ‘सेमी लो फ्लोर’ बस किन्न साझालाई महानगरको ५ करोड

१३ असार, काठमाडौं । साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि मंगलबार काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ। यो रकम साझामा महानगरले सेयरका रुपमा लगानी गरेकाे हो ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच महानगरपालिकाले साझालार्इ चेक हस्तान्तरण गरेको हो । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ५ करोड रुपैयााको चेक हस्तान्तरण गरे । महानगरपालिकाले गतवर्ष नै ५ करोड दिने गरी साझासँग सम्झौता गरिसकेको थियो ।

महानगरले प्रदान गरेको रकमबाट साझाले नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो फ्लोर’ बस पनि ल्याउनेछ । यसका लागि साझाले आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिसकेको छ ।

साझाले गरेको टेण्डरमा ५ करोड रुपैयाँमा १२ वटा डिलक्स र एउटा सेमी फ्लोर बस दिने गरी तीन कम्पनीले प्रस्ताव हालेका थिए । जसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आशेक ले-ल्याण्डकै बस ल्याउने गरी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको छ ।

५ करोडको चेक उपलब्ध भएकाले अब बस ल्याउन प्रतितपत्र (एलसी) खोलिने साझा यातायातले जनाएको छ । एलसी खोलेपछि अर्डरअनुरुपको बस बनाउने काम सुरु हुनेछ ।

साझा यातायातले अब किन्ने डिलक्स बसलाई अन्तर नगर यातायातका रुपमा सञ्चालन गर्ने बताएको छ । काठमाडौं महानगरबाट अन्तर महानगर/उपहमहानगर/नगरस्तरीय यातायातका रुपमा साझाका सुविधा सम्पन्न बसहरु किन्न लागिएको हो ।

यसलाई यातायातमार्फत काठमाडौं महानगरलाई अन्य स्थानीय निकयासँग ‘मितेरी’ अर्थात मित्रता जोड्ने माध्यमका रुपमा पनि विकास गर्ने साझाको योजना छ ।

यस्ता हुनेछन् डिलक्स बस

स्तरीय फोल्डिङ सिटसहितका हुने बस ४० सिटे हुनेछ । डिलक्स बसमा उलपब्ध हुने सबै सुविधा हुनेछ । कुन-कुन शहरमा साझाका नयाँ बसहरु चलाउने भनेर निर्णय भएको छैन ।

बस आएपछि काठमाडौं महानगरसँग छलफल गरेर रुट टुंग्याइने साझा यातायातले जनाएको छ । शहरी यातायातलाई सुधार्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गरेको साझाले लामो दूरीका बस सेवामा पनि आफ्नो मानक यिनै बसमार्फत कायम गर्ने विश्वास गरेको छ ।

त्यस्तै साझाले काठमाडौंभित्र सञ्चालन गर्न लगाउने गरी ‘सेमी लो फ्लोर बस’ किन्न पनि सम्झौता गरेको छ । साझाले पछिल्लो पटक महानगरलाई १० करोडको सेयर दिएर ल्याएको ३० वटा अपाङ्गमैत्री बस काठमाडौंका विभिन्न रुटमा चलिसकेका छन् ।

कस्तो हो ‘सेमी लो फलोर’ बस ?

साझाले पहिलो चरणमा एउटा विशेष बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना बनाएको छ । लो फ्लोर सको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ । त्यसैले एकदमै मिलेको र सम्म सडकमा मात्र यो बस चल्छ । यो बस समान्यभन्दा बढी महंगो हुन्छ ।

यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई कुनै लिफ्टको जरुरत पर्नेछैन ।

साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ । जसमा अपाङ्गता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा समयमा मान्छेले मेहेनत गरेर जोड्नुपर्छ । तर, लो फ्लोरको बसमा भने चढ्न ओर्लन कुनै असहज हुँदैन ।

समान्य बसमा कम्तिमा ९ सय मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स हुन्छ । कतिपयमा त त्योभन्दा पनि उच्च हुन्छ । तर, लो फ्लोरको बसमा ४ सय मिलिमिटरको क्लेयरेन्स हुन्छ । यस्ता बस सुविधासम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छन् ।

तर, चल्नका लागि भने खाल्डाखुल्डी र उबडखाबड नभएको चिल्लो सडक भने चाहिन्छ । अब साझाले किन्ने यो बस एयरपोर्ट क्षेत्रमा चलाउन सकिने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment