Comments Add Comment

मौन अवधिमा ओखलढुंगाः रातभर कांग्रेसमाथि एमाले, एमालेमाथि प्रहरीको निगरानी

१३ असार, ओखलढुंगा । दोस्रो चरणको चुनावको मौन समयमा पैसा बाँडेको अरोप-प्रत्यारोपका घटना बढेका छन् । धनगढीमा एमाले उम्मेदवारमाथि नै पैसा बाँडेको आरोप लागेको छ भने झापामा कांग्रेसले पैसा बाँडेको भन्दै अन्य दलले उसका कार्यकर्ता पक्राउ गरेका छन् ।

ओखलढुंगामा भने रोचक घटना भएको छ । कांग्रेसले पैसा बाँड्न लागेको सूचना आएको भन्दै एमाले कार्यकर्ताले रातभर गस्ती गरे । एमाले कार्यकर्ताको भने प्रहरीले निगरानी गरेको पाइएको छ ।

रातभर कांग्रेसको एमालेले र एमालेको प्रहरीले निगरानी गरे पनि दाबी गरिएजस्तो पैसा बाँडेको भेटिएन ।

सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिकाका साथै खिजीदेम्बा गाउँपालिका र मोलुङ गाउँपालिकाका विभिन्न वडामा मतदाता प्रभावित पार्न आर्थिक चलखेलको प्रयास भएको दाबी गरिएको छ ।

सिद्धिचरण नगरपालिकाको वडा नं. १० को रुप्से र आम्जानी, वडा नं. ९ ज्यामिरे र मोलुंग गाउँपालिका वडा नं. १ को साउनेमा पैसा बाडेर मतदाता किन्न खोजेको भन्दै एमालेले युवा खटाएको थियो । वडां नं. १० मा माओवादी उम्मेदवार र वडां नं. ९ र मोलुगंको १ मा कांग्रेसले पैसा बाँड्न खोजेको एमालेको दाबी छ ।

एमालेले युवा खटाएको सूचना पाएपछि राति झडप हुने आशंकामा स्थानीय प्रशासनले भने प्रहरी टोली खटाएको थियो । त्यसक्रममा मोलुगंको वडा नं. १ मा एमालेका कार्यकर्ता र प्रहरीबीच भनाभन समते भएको छ ।

दुईजना प्रहरी निरीक्षकको टोलीले पैसा बाँड्न लागेका र रोक्न हिँडेका भनिएको युवाहरुको रातभर रखवारी गरेको थियो । जिल्ला प्रहरीका प्रहरी निरीक्षक टिका कार्कीले दुई पक्षबीच भएका आरोप प्रयारोपबाट हुन सक्ने झडपसहितका घटना रोक्न प्रहरी तैनाथ गरिएको बताए ।
तर, एमालेले दाबी गरे जस्तो मतदातालाई प्रभावित पार्न पैसा बाँडेको नभटिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।

अनेरास्ववियुका नेता दीपक फुयलले भने भरपर्दो सूचनाका आधारमा युवाहरु खटिएको र आफूहरुको निगरानीबाट पैसा बाँड्न रोकिएको दाबी गरे । कांग्रेसले भने मतदाता आतंकित पार्न एमालेले गलत हल्ला चलाएर रातभरि गस्ती गरेको बताएको छ ।

कांग्रेसका एक जिल्ला नेताले भने एमाले आफैँले बाडेर अरुलाई आरोपित गरेको बताए । एमालेले रातभरि भोट माग्दै अरुलाई तर्साउन खोजेको आरोप लागाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment