Comments Add Comment

पोखरा र बाग्लुङमा स्मार्ट लाइसेन्स वितरण सुरू, वीरगञ्ज र जनकपुरमा पनि थालिने

१३ असार, काठमाडौं । सरकारले पहिलोपटक उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागले उपत्यकाबाहिर पहिलोपटक पोखरा र बाग्लुङमा स्मार्ट लाइसेन्स वितरण थालेको महानिर्देशक रुपनारायण भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

विभागले असार एक-दुई दिनमै जनकपुर र वीरगञ्जबाट पनि लाइसेन्स वितरणको प्रक्रिया थाल्ने उनले बताए । अहिले वीरगञ्ज र जनकपुरमा पनि लाइसेन्स बनाउने र नवीकरण गर्नेहरुको ठूलो चाप हुन्छ ।

 

आगामी साउनको अन्तिमसम्म सबैै अञ्चल यातायात ब्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि तयारी सक्ने विभागका महानिर्देशक भट्टराईले जानकारी दिए ।

विभागले २०७२ को गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । स्मार्ट लाइसेन्सको वितरण थालेको झण्डै २ वर्षमा सोमबार अञ्चल यातायात कार्यालय पोखरा मंगलबार बाग्लुङबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु भएको हो ।

‘साउनको अन्तिमसम्ममा सबै स्थानबाट स्मार्ट लाइसेन्स वितरण गर्ने योजना अनुरुप हामी प्राविधिक तयारी भइरहेको छ,’ भट्राईले भने, ‘ हामी सबै प्राविधिक तयारी चाँडै सकेर सबै क्षेत्रमा स्मार्ट लाइसेन्स लैजान्छौं ।’

विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ । विभिन्न कार्यालयमा स्मार्ट लाइसेन्सको सफ्टेवर जडानका लागि मद्रास सेक्युरेटी पि्रन्टर्सको टोली नेपालमा छ । उनीहरु लाइसेन्सको सर्भर व्यवस्थापन गर्ने काममा विभागको प्राविधिक टोलीसँगैकाम गरिरहेका छन् ।

‘पोखरापछि यो सेवा अन्य क्षेत्रमा गर्न धेरै ढिलाइ गरिने छैन,’ महानिर्देशक भट्टराईले भने, ‘अब स्मार्ट लाइसेन्स उपत्यकाबाहिर पनि बाँड्नैपर्छ । पुरानो प्रविधिको विस्थापनमा हामी अग्रसर छौं ।’

साढे ७ लाख स्मार्ट लाइसेन्स आउँदै

उपत्यकाबाहिर पनि नयाँ लाइसेन्स लिने, वर्ग थप्ने, नवीकरण गर्ने र प्रतिलिपि बनाउनेले मात्रै स्मार्ट लाइसेन्स पाउनेछन् । विभागले अहिले एकैपटक ७ लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने गरी ग्लोबल टेण्डर आह्वान गरेको छ ।

स्मार्ट लाइसेन्स अभावले उपत्यकाबाहिर पुरानै लाइसेन्स बाँडिरहनुपर्ने अवस्था अन्त्य गर्न यातायात ब्यवस्था विभागले एकैकपटक ७ लाख ५० हजार लाइसेन्स आपूर्तिका लागि टेण्डर आह्वान गरेको जनाएको छ ।

यसमा अन्तर्राष्ट्रिय सेक्युरेटी प्रिन्टर्सहरुले दरखास्त हाल्न सक्नेछन् । विभागका महामनिर्देशक भट्टराईले सबै प्रक्रिया सरल रुपमा सकिए आगामी कात्तिकसम्म यो टेण्डरमार्फत स्मार्ट लाइसेन्सको आपूर्ति भइसक्ने बताए ।

अहिले विभागले एडीबीको सहयोगमा सीधै मद्रास पि्रन्टर्ससँग कार्ड ल्याएर वितरण गरिरहेको छ । सुरुमा छापिएका १ लाख ६० हजार कार्ड सकिएपछि विभागले ४५ हजार कार्ड ल्याएको थियो ।

त्यो पनि वितरण भएर सकिएपछि पुनः ८० हजार स्मार्ट लाइसेन्स ल्याउन लागिएको छ । त्यसमध्ये १० हजार कार्ड आइसेकको छ भने ७० हजार केही दिनमै आइपुग्ने भट्टराईले बताए ।

यातायात व्यवस्था विभागले बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट झण्डै २ लाख लाइसेन्स वितरण गरिसकेको छ । पुरानो कागजी लाइसेन्स ‘रिप्लेस’ गर्न चाहानेलाई भने अझै पनि विभागले वितरण गर्न सकेको छैन ।

विभागसँग अहिले स्मार्टकार्ड प्रिन्ट गर्न ४ वटा मात्रै मेसिन छ । यसमा एउटा मेसिन बिग्रएको छ । पुरानो प्रविधिको सवारी चालक अनुमतिपत्र विस्थापन गर्न आधुनिक विद्युतीय प्रविधिको स्मार्ट कार्डमा रुपान्तरण गर्न स्मार्ट प्रविधि सुरु गरिएको हो ।

कस्तो हुन्छ स्मार्ट लाइसेन्स ?

स्मार्ट लाइसेन्स क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो । पोलिकार्बोनेटबाट बनेको हुनाले आगो र पानीले यसलाई कुनै हानि पुर्‍याउन सक्दैन । यो टिकाउ, मजबुत र बोक्न सजिलो पनि छ ।

यसमा देखिने गरी चालकसँग सम्बन्धित फोटोसहितका विवरणहरु राखिएका हुन्छन् । यसबाहेक यसमा सिमकार्डमा जस्तै धातुको चीप जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिन्छ । त्यहाँका डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन् ।

धातुको चिपमा भएका डाटालाई लिंकेज र डाटारिडर मेसिनमा राखेर हेर्न सकिन्छ । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेपछि त्यसैमा रकेर्ड राखिन्छ ।

यसमा विभिन्न सेक्युरेटी फिचरहरु पनि हुन्छन् । जसमार्फत विभाग र ट्राफिक प्रहरीले चालक र उसले चलाउने सवारीसम्मका विस्तृत विवरणहरु चाहेको बेला राख्न, झिक्न र हेर्न सक्छ ।

स्मार्ट लाइसेन्सको चिपमा रहने डाटामा चालकको औंठाछाप र बायोमेटि्रक क्याप्चरसहित वास्तविक विवरणहरु पनि राखिन्छ । त्यसैकारण कसैले चोरी भएका वा भेटाएका लाइसेन्स प्रयोग गर्न नसक्ने यातायात व्यवस्था विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment