Comments Add Comment

रोल्पाको चुनावः कम्युनिष्ट गढमा कम्युनिष्टकै धावा

१३ असार, रोल्पा । रोल्पा जिल्ला राजनीतिक रुपमा माओवादी ‘आधार इलाका’ को रुपमा चिनिन्छ । असार १४ गते हुन लागेको स्थानीय चुनावमा भने माओवादीको गढ भत्काउने दाउमा कांग्रेस, एमाले, राप्रपा र जनमोर्चा लागेका छन् । कांग्रेस, एमालेलाई वर्ग दुश्मन किटान गरेको विप्लव नेतृत्वको नेकपासमेत उनीहरुसँगै गठबन्धन गरेर माओवादी केन्द्रलाई हराउने अभियानमा छ । त्यसैले रोल्पाको चुनाव यतिबेला रोचक मोडमा छ ।

रोल्पा पहिलेदेखि नै कम्युनिष्टको गढ हो । त्यसकै जगमा १० वर्षे जनयुद्धमा केन्द्रीय आधार बन्यो ।

शान्ति प्रक्रियापछि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । यसै क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचन ०७० मा निर्वाचित भएकी ओनसरी घर्तीमगर हाल सभामुखको कुर्सीमा छिन् ।

दोस्रो संविधानसभा चुनावमा प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रले आफैबाट अलग्गिएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको चुनौति बनेको थियो । थवाङमा त्यतिबेला एउटा पनि भोट खसेको थिएन । अहिले स्थानीय चुनावमा विप्लव माओवादी चुनौति बनेको छ ।

माओवादी केन्द्रविरुद्ध जताततै तालमेल

चुनौति यसमानेमा हो कि माओवादी जनयुद्धको उदगमथलो थवाङमा विप्लव समूहको प्रभाव छ र त्यहाँ विप्लव समूह पनि स्वतन्त्ररुपमा चुनाव लडेको छ । त्यतिमात्रै होइन, माओवादी केन्द्रविरुद्ध विप्लव समूहसँगै कांग्रेस र एमालेको संयुक्त गठबन्धन बनेको छ ।

रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस, एमाले र राजमोको समर्थनमा विप्लव समूहका अमित घर्ती अध्यक्ष र कांग्रेसकी श्रीकुमारी रोका उपाध्यक्षको उम्मेदवार छन् ।स्थानीय चुनाव खारेजीको अभियानमा रहेको नेकपाले नै स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि चर्चामा रहेको थवाङमा अब दुई पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी केन्द्रबाट पूर्व वि्रगेड कमाण्डर वीरबहादुर घर्ती ‘वियोग’ अध्यक्षमा र जनयुद्धमा थवाङकी संस्थापक नेतृ रामकिरणी रोकाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सुकिदह गाउँपालिकामा पनि विप्लव नेतृत्वको नेकपाकी महिला नेतृ अमृता कुमारी केसी उपाध्यक्ष पदको उम्मेदवार छिन् । उनलाई नेपाली कांग्रेसको समर्थन छ । माओवादी केन्द्र र एमाले अलग्गै प्रतिस्पर्धामा छन् ।

माडीमा पनि माओवादी केन्द्रविरुद्ध कांग्रेस-एमालेको गठबन्धन छ । अध्यक्षमा कांग्रेसको गोपाल घर्ती र उपाध्यक्ष एमालेका प्रेम घर्ती उम्मेदवार छन् । माडी गाउँपालिकाकै वडानम्बर ५ मा माओवादीविरुद्ध कांग्रेस, एमाले र नेकपाको संयुक्त गठबन्धन छ । त्यहाँ नेकपाका विष्णुकुमार घर्तीमगर कांग्रेसको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका छन् ।

सुवर्णावती गाउँपालिकाको ३ नम्बर वडामा पनि कांग्रेस र राप्रपाको गठबन्धन छ । सुनछहरी गाउँपालिका वडा नम्बर ६ मा नेकपाका हस्तमान बुढा ‘बलव’ले आफ्नो प्यानल नै दर्ता गराएका छन् । सुवर्णावती गाउँपालिकाको वडानम्बर २ मा नेकपाका गेहराज घर्तीमगर वडा अध्यक्षको उम्मेदवार छन् ।

त्रिवेणी गाउँपालिकामा त माओवादीका नेता कुलानन्द गिरी नेकपा मालेको चुनाव चिन्ह लिएर मैदानमा छन् । पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका गिरी मालेको समर्थनमा चुनाव लडेका हुन् ।

कांग्रेस-एमालेको संयुक्त प्रचार

सरकारको नेतृत्वकर्ता दल कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेको गज्जबको मिल्ती रोल्पामा देख्न पाइन्छ । केन्द्रमा नेताहरु एकअर्का दलको खोइरो खन्न व्यस्त भइरहेका बेला रोल्पाका गाउँहरुमा कांग्रेस-एमालेले संयुक्त चुनाव प्रचार गरे । रोल्पाका ग्रामिण बस्तीहरुमा कांग्रेस र एमालेका झण्डा राखिएका गाडीका दुबै दलका कार्यकर्ताहरु चढेर प्रचारमा हिँडेको पनि देखियो ।

रोल्पाका धेरैजसो स्थानीय तहमा माओवादी केन्द्रविरुद्ध कांग्रेस-एमालेको चुनावी गठबन्धन छ । मौन अवधि लागू हुनुभन्दा अघिसम्म संयुक्त प्रचारमा निस्किएकाहरुले ‘कांग्रेस-एमाले गठबन्धन जिन्दावाद’को नारा लगाउँदै भोट मागेका छन् ।

अन्य गाउँपालिका भन्दा जनयुद्धको ऐतिहासिक किल्ला भनिने थवाङको चुनाव सबैका लागि प्रतिष्ठाको लडाईं बनेको छ । त्यसैले अन्त हारे पनि थवाङमा जित निकाल्न सबै आ-आफ्नै तरिकाले चुनावको तयारीमा छन् ।

माओवादी नेता भन्छन्- पुनर्पुष्टि गरेर देखाउछौं

थवाङमा विप्लव समूहको डोमिनेसन छ । त्यहाँ कांग्रेस-एमालेका मतदाता खासै नभए पनि जनमोर्चाका कार्यकर्ताहरु केही बढी छन् । त्यसैले माओवादी केन्द्रलाई अप्ठेरो पर्नसक्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ ।

त्यसैगरी सुकिदह गाउँपालिकाको माघेखर्कदेखि रुकुमको सीमासम्म माओवादी केन्द्र तुलनात्मक कमजोर मानिन्छ । त्यहाँ पनि कांग्रेस र नेकपाको गठबन्धन भएकाले कडा संघर्ष गर्नुपर्ने स्थिति माओवादी केन्द्रलाई रहेको स्थानीय बताउँछन् ।

माओवादी केन्द्रलाई जसरी पनि हराउने रणनीति लिएको विप्लव समूहले पनि रोल्पाका अधिकांश स्थानीय तहमा कांग्रेस-एमालेको गठबन्धनलाई साथ दिएको छ । त्यसकारण रोल्पाका सबै १० वटै स्थानीय तह जित्ने लक्ष्य लिएको माओवादी केन्द्रलाई कठिन संघर्ष गर्नुपरेको अवस्था छ । तर, चुनाव प्रचारका लागि गाउँ-गाउँमा खटिएका रोल्पाली माओवादी नेताहरु भने जिल्ला ‘क्लिन स्वीप’ गर्ने लक्ष्य पूरा गरेरै छाड्ने दाबी गर्दछन् ।

माओवादी केन्द्र रोल्पाको निर्वाचन परिचालन समिति संयोजक दिपेन्द्र कुमार पुन ‘सिजल’ले भने, ‘हामीविरुद्ध अरु सबै दल मिल्नु भनेको हामी बलियो छौं भन्ने प्रमाण हो । त्यसैले रोल्पाली जनता माओवादी केन्द्रको साथमा छन् भन्ने कुरा स्थानीय चुनावबाट पुनर्पुष्टि हुनेछ ।’

नेकपाका नेता भन्छन्- उम्मेदवारी पार्टीको नीति विपरित

देशभर चुनाव बहिस्कार गर्दै आएको नेकपाले अधिकार सम्पन्न स्थानीय तहको चुनावलाई उपयोग गर्ने रणनीति लिएको रोल्पामा दर्ता भएको उम्मेदवारीले देखाउँछ । किनकी उम्मेदवारी दिनेहरु नेकपाका जिम्मेवार कार्यकर्ताहरु छन् ।

यसपटकको निर्वाचनमा नेकपाले घोषित रुपमै निर्वाचनमा भाग नलिएपनि उनका कार्यकर्ताहरुले भाग लिनुलाई आन्तरिक योजना र सल्लाहअनुसार नै भएको हुनसक्ने रोल्पाली जनताको अनुमान छ ।

यद्यपी उम्मेदवारी दर्ता पार्टीको नीति विपरित भएको नेकपा रोल्पाका नेताहरु दलबहादुर खत्री जागृतिले बताए । नेकपा रोल्पाका जिल्ला सेक्रेटरी खत्रीले उम्मेदवारी दर्ता गराएकाहरुलाई कारवाही गर्ने चेतावनी दिए । उनले भने, ‘उहाँहरु पार्टीको नीति विपरीत जानुभयो, कथित संसदीय भ्रममा पर्नुभयो । त्यसैले हामी कारवाही गर्दछौं । तर, जिल्लाको बैठक नबसेकाले निर्णय गर्न सकिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment