Comments Add Comment

वर्षाले बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह

खोटाङको जन्तेढुंगा गाउँपालिकाको एक मतदान केन्द्र ।

१४ असार, काठमाडौं । तीन प्रदेशका ३३४ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान भइरहेको छ । तर, मध्यवर्षामा चुनाव परेकाले मतदाताले निकै हैरानी व्यहोर्नु परेको छ ।

धेरै पहाडी जिल्लाहरुमा पानी परेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका निर्वाचन अधिकृत चक्रपाणि शर्माका अनुसार विहानैदेखि पानी परेको छ । ‘सबै केन्द्र स्कुलमा छन् । तर, पनि समस्या भइरहेको छ’ उनले भने, मतदाताहरु भिज्दै भए पनि मतदानका लागि आउनुभएको छ ।’

मतदातालाई एउटा कोठामा बस्ने व्यवस्था मिलाइएको छ । बरन्डामा लाइन राखिएको छ । तर, महिला र पुरुषका लागि छुट्टै लाइन व्यवस्था गर्न सकिएको छैन । नाम बोलाउने र मतदान गर्ने गरिएको छ । मतदाताहरु भिजेर आउने भएकाले हात पुछ्न टालोको पनि व्यवस्था गरिएको छ । तै पनि मतपत्र जोगाउन हम्मेहम्मे परेको छ ।

मोरङ, झापा लगायतका तराई मधेसका जिल्लाहरुमा पनि पानी परेको छ । मतदाता कोही छाता ओढेर मतदानका लागि पुगेका छन् भने कोही भिज्दै गएका छन् ।

मोरङको केराबारी ९ स्थित लोहोन्द्रा खोला तर्दै मतदाता ।

तराईमा खोलो तरेर मतदान केन्द्रसम्म पुग्नुपर्ने मतदाताहरु बाढीले गर्दा रोकिने स्थिति आएको छ । अशक्त र कमजोरहरु खोलो तर्न नसक्ने अवस्था छ । बाढीका कारण सवारी साधनमा अशक्तहरुलाई लैजाने अवस्था छैन ।

मोरङको केराबारी ९ स्थित लोहोन्द्रा खोलामा आएको बाढीका कारण मतदातालाई रामवीर स्कुलमा रहेको मतदान केन्द्रसम्म पुग्नै मुस्लिल भएको छ । तैपनि मतदाताहरु खोला तरेर मतदानका लागि जाने प्रयास गरिरहेका छन् ।

रुपन्देहीमा पनि पानीले बिजोग बनाएको छ । मतदान केन्द्र स्कुल तथा सरकारी भवनहरुमा राखिएकाले मत पेटिका त सुरक्षित नै छन् । तर, मतदाता भिजेका छन् । मतदान केन्द्र बाहिर त्रिपाल राखिए पनि हावाले उडाएको छ ।

दाङ देउखुरीको मावि मौरीघाटको मतदान केन्द्रमा मतदाता । तस्वीर: नरेन्द्र केसी

दाङको लमहीको अवस्था पनि त्यो भन्दा फरक छैन । दुमदुमा केन्द्रमा विद्यालयको चौरमा मतदानको तयारी गरिएको थियो । तर, पानी परेपछि  निर्वाचन सामाग्री कोठाभित्र राखिएको छ । तर, मतदाताहरू रुझ्दै लाइनमा बसेका छन् । कतिपयले छाता ओढे पनि ठूलो पानी परिरहेकाले समस्या परेको गुनासो गरेका छन् । उम्मेदवारहरुको दुःख पनि कम छैन । उनीहरु भिज्दै भए पनि मत मागिरहेका छन् ।

दाङ देउखुरीको लमहीस्थित दुमदुमा मतदान केन्द्रमा छाता ओढेर लामबद्ध भएका मतदाता ।तस्वीर: दशरथ घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment