Comments Add Comment

भूकम्पमा फरार कैदी अझै सम्पर्कबाहिर

१४ असार, सिन्धुपाल्चोक । २०७२ साल वैशाख १२ मा भूकम्प आएपछि सिन्धुपाल्चोक कारागारबाट भागेका २१६ कैदीमध्ये १११ जना अझै सम्पर्कबाहिर रहेका छन् ।

जेलबाट भागेका कैदीमध्ये विदेशी मुद्रा अपचलनका दुई विदेशीसहित १०५ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरी हाल विभिन्न जिल्लाको कारागारमा राखिएको कारागार शाखा सिन्धुपाल्चोकका सूचना अधिकारी टीका दाहालले जानकारी दिए ।

फरार रहेका कैदीमध्ये सुन तथा आखेटोपहार तस्करीमा कैद सजाय भोगिरहेका ११ चिनियाँ नागरिक छन् भने अन्यले जबर्जस्तीकरणी, मानब बेचबिखन, कर्तव्य ज्यान तथा डाँका चोरीलगायत अभियोगमा सजाय भोगिरहेका थिए । फरारमध्ये कैद भुक्तान हुन थोरै समय मात्र बाँकी रहेका केहीले अदालतमा आफैं उपस्थित भएर इमान्दारिता देखाएको कारागार शाखाले जनाएको छ ।

स्थान अभावले गर्दा अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएकालाई प्रहरीको हिरासतमा राख्ने गरिएको छ । त्यहाँ पनि स्थान अभावका कारण सात÷आठ जनाको सङ्ख्या पुग्नासाथ अन्यत्र जिल्लामा पठाउनुपर्ने बाध्यता रहेको छ । यसरी अन्यत्र पठाउँदा राज्यले ठूलो आर्थिक भार व्यहोर्नु परेको यथार्थता रहेको छ ।

दाहालका अनुसार विभिन्न समयमा विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका फरार कैदीलाई केन्द्रीय कारागार, नख्खु, भीमफेदी, सुनसरी, पाल्पा, धादिङ, वीरगन्ज, रामेछाप र काभ्रे कारागारमा राखिएको छ । कैदीलाई अन्यत्र स्थानान्तरण गर्नु पर्दा राज्यले ठूलो आर्थिक भार बहन गर्नु परेको कारण देखाउँदै केही समयअघि स्थलगत निरीक्षणमा आउनुभएका कारागार व्यवस्थापन विभागका महानिर्देशक विष्णुचन्द्र घिमिरेले मर्मत सुधार गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

रु पाँच करोडको लगानीमा निर्माण गरिएको सो कारागार भवन निर्माणकै क्रममा कम गुणस्तरका सामान प्रयोग भएको जनगुनासो रहेको थियो । सो भवन ठेकेदारबाट हस्तान्तरणसमेत नभएको जिल्ला कारागार शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment