Comments Add Comment

दाङमा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो, उम्मेदवार भन्छन्- जित मेरै

दाङ देउखुरीको मावि मौरीघाटको मतदान केन्द्रमा मतदाता । तस्वीर: नरेन्द्र केसी

१४ असार, दाङ । पानीको पर्वाह नगरी दाङका मतदाताहरुले उत्साहजनक रुपमा चुनावमा भाग लिइरहेका छन् । विहान ११ बजेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिकामा कांग्रेसका भुपबहादुर डाँगी, एमालेका नरुलाल चौधरी र माओवादी केन्द्रका जीवन गौतम मेयर पदको उम्मेदवार छन् । उनीहरु तीनैजनाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् ।

कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोहल स्कुल मतदान केन्द्रबाट बिहान ७ बजे नै भोट हालेका थिए । पहिलो मतदाताको रुपमा भोट हालेका उनले आफ्नो पक्षमा राम्रो माहोल भएको दाबी गरे ।

एमाले उम्मेदवार नरुलाल चौधरीले घोराही उपमहानगरपालिका वडानम्बर २ जनता मावि बुका केन्द्रबाट भोट हालेका छन् । उनले बिहान १० बजेसम्म करिब पाँच सय भोट खसेको र आफ्नो पक्षमा माहोल राम्रो रहेको दाबी गरे ।

यसैगरी माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतमले घोराही उपमहानगरपालिका १८ मसिना मतदान केन्द्रबाट भोट हालेका छन् । उनले बिहान सात बजे नै सबैभन्दा पहिले मतदान गरेका थिए ।

माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतम

मतदानपछि गौतमले मतदाताहरुसँग भलाकुसारी गर्दै आफूलाई जिताउन अपिल गरेका थिए । उनले पनि घोराहीका मतदाता आफ्नो पक्षमा रहेको दाबी गरे ।

आफ्ना जनप्रतिनिधि आफै चुन्ने २० वर्ष पछिको अवसरलाई दाङबासीले उपयोग गरिरहेका छन् । दाङ जिल्लाभर शान्तिपूर्ण रुपमा चुनाव भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सामान्य वर्षात भइरहे पनि मतदाताहरु पानी प्रवाह नगरी मतदानमा सहभागी भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका र देउखुरी क्षेत्रमा पनि शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment