Comments Add Comment

निर्वाचनसँगै हवाई चाप बढ्यो, निजी एयरलाइन्सले उडान थप्ने

१४ असार, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने प्रदेश र जिल्लामा हवाई उडानको चाप बढेको छ ।

लामो गन्तव्य र बर्खाको समय ठाउँ–ठाउँमा पहिरो जाने समस्याले गर्दा हवाई यात्राको चाप बढेको हो । निर्वाचन हुने क्षेत्रका मुख्य गन्तव्य विराटनगर, भद्रपुर, नेपालगन्ज र धनगढीमा यात्रुको चाप असाध्यै बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ती गन्तव्यमा हुने आन्तरिक उडानको चाप बढेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । निर्वाचनका लागि गन्तव्यमा जाने यात्रुको चाप बढेसँगै वायु सेवा कम्पनीले आफ्नो उडान सङ्ख्या थप गरेका छन् ।

निर्वाचनमा जाने यात्रुलाई लक्षित गर्दै निर्वाचन हुने दिन भोलि पनि निजी एयरलाइन्सले उडान थप्ने योजना बनाएको प्रवक्ता ठाकुरले बताए ।

छोटो र सुलभ यात्रा भएकाले विमानबाट गन्तव्य पुग्ने यात्रुको सङ्ख्या बढेको छ । कतिपय यात्रु टिकट नपाएर समस्यामा परेको वायु सेवा कम्पनीले जनाएका छन् ।

निर्वाचन हुने दिन पनि नियमित रुपमै आन्तरिक उडान भरिने विमानस्थलले जनाएको छ । अहिले हेलिकोप्टरसहित २० वटा निजी एयरलाइन्सले आन्तरिक उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment