Comments Add Comment

राजपाका नेताको स्वीकारोक्ति-चुनाव बहिस्कार गर्ने पार्टीको अपील जनताले खारेज गरे

सबै मतदान केन्द्र घुमेका शुक्लले भोट हालेनन्, भोट हाल्न नपाउँदा गुप्तालाई 'पीडा'

 
१४ असार, काठमाडौं । चुनाव बिथोल्ने घोषणासहित आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टीका दुई शीर्ष नेताले पार्टीको अपील मधेसी जनताले खारेज गरेको टिप्पणी गरेका छन् ।

राजपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल र महामन्त्री तथा प्रमुख सचेतक बृजेश गुप्ताले जनताको मतदानको इच्छा रोक्न नसकिएको स्वीकार गरे ।

अनलाइनखबरसँग कुरा गर्दै भैरहवामा रहेका शुक्लले भने, ‘मेरो क्षेत्रका सबै मतदान केन्द्रको निरीक्षण गरेँ । जनताले उत्साहपूर्वक मतदानमा भाग लिएका छन् । मैले चाहिँ पार्टीको आदेश मानेर मतदान गरिनँ तर, मेरा कार्यकर्ता र जनतालाई शुभेच्छा दिएर फर्किएँ ।’

शुक्लको मतदान केन्द्र रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ४ बिजगारी निमावी फरेनामा पर्छ । उनी विहानै आफ्नो मतदान केन्द्रमा पुगे पनि भोट हालेनन् । त्यहाँबाट गाउँपालिका अध्यक्षमा राजपाका दुलारे हरिजन स्वतन्त्र उम्मेदवार छन् ।

शुक्लले हरिजनलाई आफ्नो शुभकामना रहेको भन्दै उनको जितका लागि हरसम्भव प्रयत्न गरेको बताए । उनले भने-कम्तिमा अर्को पार्टीमा गएनन्, राजपामै रहेर स्वतन्त्र उम्मेदवार बनेका हुनाले आन्दोलनकै रुपमा मतदान गरेर आन्दोलनकारीलाई जिताउन मैले मेरा मतदातालाई अपिल गरेको छु ।’

शुक्लले मतदान बहिस्कार गर्ने राजपाको अपील जनताले खारेज गरेको स्वीकारेका छन् । उनले मत परिणाम स्वतन्त्र उम्मेदवारको पक्षमा आयो भने त्यसलाई आन्दोलनप्रति मधेसी जनताको समर्थनका रुपमा बुझ्नुपर्ने बताए । ‘अहिले हाम्रो अपिल त खारेज नै भयो तर, मत परिणाम हेरौं, मैले जनतालाई मधेस आन्दोलन बिरोधीलाई भोट नदिनुस् भनेर अपिल गरेको छु’ शुक्लले भने ।

शुक्ल मर्चवार, सम्मरीमाई, बुद्ध सांस्कृतिक नगरपालिकासहित सिद्धार्थनगर नगरपालिकाका पनि बिभिन्न मतदान केन्द्रमा घुमेका थिए । उनी राजपाभित्र चुनाव बहिस्कार गर्नु हुदैन भन्ने पक्षका नेता हुन् ।

भोलि आन्दोलन गर्नका लागि पनि संगठन चाहिने भएकाले कार्यकर्ताको चुनाव लड्ने चाहना रोक्न नचाहेको उनले स्वीकार गरे । सम्मरीमाई मर्चवार लगायतका क्षेत्रमा शुक्लले हरेक चुनावमा ७५ प्रतिशत मत ल्याउने गरेका छन् ।

मतदान नगरी फर्किनुपर्दा आफूलाई पीडा भएको उनले बताए । तर, पार्टीको कार्यकर्ता भएपछि पार्टी निर्णय मान्नुपर्छ भन्दै उनले पीडा लुकाउने प्रयास गरे । उनले भने, ‘म सबै मतदान केन्द्रमा पुगेर हेरेँ । बृद्धबृद्धालाई गाडीबाट लैजान पनि सहयोग गरेँ । प्रहरीले अवरोध गरेको थियो, मैले आग्रह गरेर मतदान प्रक्रिया शान्तिपूर्ण बनाउन सहजीकरण गरेको छु ।’

गुप्ता भन्छन्-बहुत पीडा छ

कपिलबस्तुको तौलिहवामा रहेका राजपाका महामन्त्री बृजेश गुप्ताले पनि चुनाव बहिस्कार गर्ने पार्टीको निर्णय जनता र कार्यकर्ताले खारेज गरेको बताए । पार्टी निर्णय अनुसार आफूले मतदान नगरेपनि स्वतन्त्र उठेका आफ्ना कार्यकर्तालाई साथ सहयोग दिएको बताए ।

गुप्ताले भने, ‘म के भनुँ, बहुत पीडा सहेर घरमा बसेको छु । मलाई चुनाव जिताउन सधैं साथ दिने साथीहरु स्वतन्त्र उम्मेदवार बनेका छन् । उनीहरुलाई बिजयको शुभकामना दिएको छु ।’

राजपाको मुख्य प्रभाव रहेका कपिलबस्तु र रुपन्देहीका स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । तर, नवलपरासीको प्रतापुर गाउँपालिकामा भने मतदान निकै कम भएको छ ।

राजपा नेता हृदयेश त्रिपाठीको गृहक्षेत्र भएकाले त्यहाँ राजपा कार्यकर्ताले विहानैदेखि घर-घरमा गएर भोट हाल्न नजान चेतावनी दिएका छन् । त्रिपाठी चुनावमा भाग लिनु हुदैन भन्ने पक्षका नेता हुन् । उनी गत संवधानसभा चुनावमा नवलपरासीको यहि ६ नम्बर क्षेत्रबाट पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment