Comments Add Comment

सलमानको ट्युबलाइटको फ्युज किन उड्यो ? यी हुन् ७ कारण

सलमान खानको लागि यसपालीको इद खल्लो भयो, ट्युबलाइटको कारण । अघिल्लो बर्षहरुकै रेकर्डलाई दोहोर्याउने मात्र होइन, उछिन्ने अपेक्षा गरिएको थियो यसपाली । तर, त्यस्तो भएन । एक था टाइगर र बजरंगी भाईजानको दर्शकले प्रतिक्षा गरेको यो फिल्मले उनीहरुलाई निराश तुल्यायो । आखिर के कारणले सलमानको ‘ट्युबलाइट’ चम्किएन त ?

१.  फेरि उही कथा

निर्देशक कबीर खान ‘ईद’ र ‘सलमान खान’को अवसर छोप्न चाहन्थे । र, यसले एक किसिमको हतारो पनि थियो उनलाई । त्यही कारण कबिरले ‘लिटल ब्वाई’मा आधारित कथा छनौट गरे । सानो केटाको भूमिका उनले ५० बर्ष भन्दा माथिका सलमानलाई थमाइदिए । यसले कथाको इमोशन नै बदलियो । धेरैले ट्युबलाईटलाई बजरंगी भाईजान जस्तै देखे । बजरंगी भाईजानमा सानी बच्ची थिइन्, यसमा बच्चा । ति बच्ची पाकिस्तानकी, बच्चा चीनका । यसमा नौलो स्वाद भएन ।

२. कमजोर स्क्रप्ट

ट्युबलाईटको स्क्रप्ट नै यति कमजोर भयो कि, मानौ त्यो कुनै सिकारुले लेखेका हुन् । फिल्ममा ‘यकिन रखो’ भन्ने वाक्य दिक्कलाग्दोगरी प्रयोग गरिएको छ । फिल्मको इमोशनले दर्शकको मन छुँदैन । सबैकुरा बनावटी लाग्छ । लक्ष्मण कहिले ट्युबलाइट बन्छ त कहिले समझदार । अर्थात लेखकले आफ्नो अनुकुलता अनुसार उसको भाग्य लेखिदिएको छ । चट्टान हल्लाएको र भूकम्प आएको दृश्य त हास्यस्पद छ । फिल्ममा मनोरञ्जनको नामोनिशाना छैन ।

३. रुँने सलमान

कमर्शियल फिल्म रुचाउने दर्शकहरु आफ्ना हिरो रोएको देख्न रुचाउँदैनन् । त्यो पनि बिना कुनै कारण । फिल्ममा सलमानलाई एकदमै सोझो देखाएइएको छ । उनको भूमिका सहि ढंगले लेखिएको छैन । एकदमै बनावटी लाग्छ । फिल्मको भूमिका सलमानसँग कुनै हिसाबले मिल्दो देखिदैन । फिल्ममा सलमान हिरो लाग्दैन । क्लाइमेक्समा सबै कुरा आफै ठीकठाक हुन्छ । मानौ, हिरोले केहि गर्नैपर्दैन ।

४. नो हिरोइन, नो रोमान्स

फिल्ममा हिरोइनको भूमिका महत्वहिन नै होलान्, तर कमर्शियल फिल्ममा उपस्थिती भने आवश्यक छ । फिल्म सार्वजनिक हुनुअघि थाहा थिएन कि, सलमानसँग अरु को छ भन्ने कुरा । चिनियाँ अभिनेत्री झू झू खासै परिचित होइनन् । फिल्ममा सलमान र उनको रोमान्स पनि छैन । यहि कारण फिल्म बोझिलो लाग्दैन ।

५. कबिरको फ्युज जल्यो

ट्युबलाइटको असफलताको जिम्मेवार हुन्, निर्देशक कबीर खान । उनीसँग ठूलो बजेट थियो, साधन थियो, सलमान खान जस्ता स्टार थिए । तर, उनले फिल्म बनाउन कतिपनि ढंग पुर्‍याएनन् । उनले गलत कथा छनौट गरे र त्यसलाई गलत ढंगले भारतियकरण गरे । स्क्रप्ट लेख्नेमा उनको पनि नाम छ । निर्देशकको रुपमा उनले न युद्धको दृश्यलाई रोमाञ्चक बनाउन सकेका छन्, न इमोशन सीन नै । उनले सलमानको भूमिका र दर्शकलाई जोड्न सक्दैनन् । कबिरको प्रस्तुतिकरणमा कल्पनाशीलताको अभाव देखिन्छ ।

६. टिकट दर बढाइयो

बाहुबलीले सफलताको उचाई चुम्यो । बाँकी फिल्म त्यही फिल्मले कायम गरेको रेकर्ड तोड्नमा केन्दि्रत भए । यसको सजिलो उपाय खोजियो, फिल्मको टिकट दर । कति सिनेमाघरले पचास प्रतिशतसम्म मूल्य बढायो । जब, फिल्मको बारेमा नकारात्मक टिप्पणी आउन थाल्यो, दर्शकले पैसा खर्च गर्न चाहेनन् ।

७. संगीत खल्लो

फिल्म सार्वजनिक हुनुअघि कुनैपनि गीत चर्चामा आएन । दर्शकले फिल्म हेरिसकेपछि पनि गीत याद गर्न सकेनन् । सबै गीत औसत दर्जाको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment