Comments Add Comment

रोल्पा ‘क्लिन स्वीप’ गर्ने माओवादीको प्रयास किन असफल भयो ?

प्रचण्डसँग चुनाव हारेका शान्तकुमार वलीले १० वर्षपछि जिते

१८ असार, रोल्पा । १० वर्षे माओवादी जनयुद्धको उद्गमथलो रोल्पाले यसपटकको स्थानीय तह चुनावमा माओवादी नेतृत्वलाई झड्का दिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्तीदेखि कृष्णबहादुर महरा, वर्षमान पुन लगायत माओवादीका ठूला नेताहरुको जिल्ला रोल्पामा रुकुम जस्तै ‘क्लिन स्वीप’ गर्ने माओवादीको प्रयास सफल हुन सकेन ।

रोल्पाका १० स्थानीय तहमध्ये एमालेले २ स्थानीय तह जितेर माओवादीको आधार इलाका तोडेको छ भने कांग्रेसले एक गाउँपालिका जितेर माओवादीलाई ७ स्थानीय तहमा रोक्न सफल भएका छन् ।

माडी र थवाङ गाउँपालिका बाहेक जिल्लाका अन्य सबै स्थानीय तहमा दलहरु एक्लाएक्लै लडेका थिए । माडी र थवाङमै अन्य सबै दल मिल्दा पनि मााओवादी विजयी भएको छ । तर, रुन्टिगढी, लुंग्री र त्रिवेणीमा माओवादी हारेको छ ।

माओवादी जनयुद्धकालमा सेल्टरका रुपमा रहेका क्षेत्र एमालेले जितेको छ । चर्चित होलेरीकाण्ड भएको होलेरी सहितको क्षेत्र रुन्टिगढी गाउँपालिकामा पनि एमालेले जितेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले पहिलो संविधानसभा चुनाव जितेको रोल्पामा उनैसँग १० वर्षअघि पराजित भएका एमालेका पूर्वजिल्ला अध्यक्ष शान्तकुमार ओलीले माओवादी युद्धकालको सेल्टर मानिने त्रिवेणी गाउँपालिका प्रमुख जितेर आधार इलाका तोडे ।

त्यस्तै रुन्टीगढी गाउँपालिकामा एमालेका बालाराम बुढा र छमाया पुन अध्यक्ष उपाध्यक्षमा निर्वाचित भए ।

कांग्रेसले लुंग्री गाउँपालिका जितेर माओवादी नेताहरुलाई स्तब्ध बनाएको छ । लुंग्री गाउँपालिकामा कांग्रेसका दुर्गाबहादुर खड्का अध्यक्षमा र भीममाया बुढा उपाध्यक्षमा निर्वाचित भए । यो नतिजा माओवादीका लागि निराशाजनक बन्यो ।

रोल्पालाई पनि रुकुम जस्तै ‘क्लिन स्वीप’ गर्ने सबै प्रयास असफल भएको माओवादी युवा नेता दिपेश पुनले स्वीकार गरे । उनी चुनावी अभियानको क्रममा करीब एक महिना रोल्पामा खटिएका थिए । केही आन्तरिक कमजोरीका कारण पनि सोचे जस्तो सबै नतिजा निकाल्न नसकिएको उनले बताए ।

चुनाव जित्नका लागि प्रचण्डदेखि महरासम्मका नेताहरु रोल्पा जाने तर, कार्यकर्ता र जनताको अपेक्षा अनुसार काम नगर्ने कमजोरीले माओवादी रक्षात्मक बनेको टिप्पणी समेत भएको छ । रोल्पा घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि माओवादी हराउन भूमिका खेलेका थिए ।

यसपटकको स्थानीय चुनावले माओवादीभित्र जनार्दन शर्मा ‘प्रभाकर’लाई अझ बलियो बनाएको छ भने आधार इलाकाका अन्य नेताहरुमाथि प्रश्न उठेको छ । शर्माको गृहजिल्ला रुकुममा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ गरेको छ । रोल्पा, सल्यान, गोरखा, जाजरकोट, दाङ जस्ता जिल्लामा खराब नतिजा आएको छ ।

यो चुनावी परीणामले रोल्पामा माओवादीको एकाधिकार तोडिएको छ । ०४८ मा तत्कालीन जनमोर्चाले त्यहाँ चुनाव जितेको थियो । त्यसबेला कृष्णबहादुर महरा र बर्मन बुढाले जितेका थिए ।

०५१ र ०५६ मा माओवादीले बहिस्कार गरेकाले कांग्रेसले जित्यो । माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ र ७० दुबै संविधानसभा चुनावमा माओवादीले जित्यो । दोस्रो संविधानसभामा देशैभर माओवादी नराम्रोसँग पराजित हुँदा पनि रोल्पामा जितेको थियो । तर, यो पटक स्थानीय चुनावमा माओवादीले आफ्नो बर्चश्व जोगाउन सकेन ।

प्रचण्डसँग हार्नेले यसपटक जिते

०६४ सालमा प्रचण्डसँग फराकिलो अन्तरले हारेका शान्तकुमार वली स्थानीय चुनावमा भने विजयी भएका छन् । रोल्पाका सामान्य किसान परिवारका वली माओवादी दबदबाका बेला पनि युद्धकालमा एमालेको नेतृत्व सम्हालेर बसेका राजनीतिज्ञ हुन् ।

वली २०५४ सालमा जिल्ला विकास समिति सदस्य थिए । उनले माओवादीका गंगाबहादुर घर्ती मगरलाई हराएका हुन् । त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचितसावित्रा बुढामगर महिला संघकी केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment