Comments Add Comment

हिरा केबटः सेना छाडेर लडाकु, लडाकु छाडेर गाउँपालिका अध्यक्ष

२० असार, भैरहवा । स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लामा नेकपा माओवादी केन्द्रको साख पूर्वजनमुक्ति सेनाको बटालियन कमाण्डरले जोगाएका छन् । जिल्लाको १६ स्थानीय तहमध्ये ११ तहको परिणाम आउँदा एक तहमा मात्र माओवादी केन्द्रले जित हात पार्दै आफ्नो साख जोगाएको छ ।

स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लाको एक तहमा प्रमुख र उपप्रमुख जितेर पूर्वनेपाली सेनासमेत रहेका हिरा केबट ‘राहुल’ले इज्जत जोगाएका हुन् । उनी ०५६/५७ साल तिर नेपाली सेनाको जागिर छाडेर माओवादी जनयुद्धमा होमिएका थिए । जनयुद्धकालका थुप्रै लडाईंका मोर्चा जितेका उनलाई स्थानीय तह निर्वाचनमा पनि हार व्यहोर्नु परेन ।

स्थानीय तह निर्वाचनमा केबटले रुपन्देहीको ओमसतिया गाउँपालिका जितेर माओवादी पार्टीको लाज जोगाए । उनी २ हजार ४ सय ४२ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मन्जित यादवले २ हजार ३ सय ११ मत प्राप्त गरेका थिए ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि माओवादीले नै जित हात पारेको छ । उपाध्यक्षमा सुन्दरमती हरिजनले २ हजार २ सय ६४ मत प्राप्त गरी विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अमृता उप्रेतीले २ हजार १ सय ७२ मत प्राप्त गरेकी छिन् ।

हिरा केबट ‘राहुल’

रुपन्देहीका १६ तहमध्ये मत परिणाम आउन बाँकी पाँचवटै तहमा माओवादी पछाडि परेको छ । बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, सियारी गाउँपालिका र कोटहिमाई गाउँपालिकामा मंगलबारसम्म मतगणना जारी छ ।

बुटवल उपमहानगरपालिकामा माओवादीले तालमेल गरेर उपमेयर लिएको छ । बुटवलमा माओवादीलाई विजयी हुन फलामको चिउरा चपाए सरह हुनेछ । उपमेयरका माओवादी उम्मेदवार जगत पोखरेल तेस्रो स्थानमा संघर्ष गरिरहेका छन् ।

हालसम्मको अवस्था हेर्दा सिद्धार्थनगर नगरपालिकामा पनि माओवादी कहिले तेस्रो त कहिले चौथो स्थानमा पुग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment