Comments Add Comment

प्रधानमन्त्री देउवाको दैनिक कार्यसूचीः ३ ठाउँमा बिहेभोज !

सचिवालय नबन्दा बीबीसीमा फसेको निश्कर्ष


२१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालय बनाउन अहिलेसम्म पनि सकेका छैनन् । प्रधानमन्त्रीको सचिवालय व्यवस्थित नहुँदा उनका कार्यक्रमको प्राथमिकता निर्धारण हुन नसकेको र कतिपय सन्दर्भमा विवादमा परेको भन्दै सहयोगीहरुले अशन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री निर्वाचित भएको एक महिना हुन लाग्दा पनि देउवाले औपचारिक रुपमा स्वकीय सचिव पनि नियुक्त गरेका छैनन् । उनका सहयोगी भानु देउवाले स्वकीय सचिवको भूमिका निर्वाह गरिरहे पनि नियुक्ति पाएका छैनन् ।

जेठ २३ गते प्रधानमन्त्री निर्वाचित भएका प्रधानमन्त्री देउवाको सचिवालय व्यवस्थित नहुनको परिणाम उनको बीबीसीको साझा सवाल कार्यक्रमको सहभागिता र त्यसपछिको विवाद हो भन्ने तर्क देउवा निकटस्थहरुको छ ।

देउवाका एक निकट सहयोगीले भने–प्रधानमन्त्रीले राष्ट्रका नाममा संसदबाट सम्बोधन पनि नगरी टेलिभिजनको कार्यक्रममा लैजानु गम्भीर कमजोरी हो,प्रायोजित कार्यक्रममा लगेर उहाँको मानमर्दन गराइएको छ । जसले प्रधानमन्त्रीलाई त्यो कार्यक्रममा लगेका हुन्,तीनै व्यक्ति हावी हुने हो भने देउवा अझै खुइिलिने सम्भावना छ ।

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको आज बुधवारका प्रधानमन्त्रीका कार्यक्रमको लिष्ट हेर्ने हो भने पनि अहिले प्रधानमन्त्रीको काम के कसरी भइरहेको छ भन्ने छर्लङ्ग हुन्छ ।

प्रधानमन्त्रीले विहान ११ बजेदेखि साँझसम्म भाग लिने ५ वटा कार्यक्रममध्ये तीनवटा चाहिँ बिहे भोज छन् । प्रधानमन्त्रीको महत्वपूर्ण समय बिहेभोजमा गइरहेको छ भन्ने देखाउन खोजिएको हो कि ? अरु कार्यक्रमनै नभएका हुन् ? सचिवालय व्यवस्थित नहुदाको यो एउटा उदाहरण हो ।

देउवाका ती सहयोगीले अनलाइनखबरसँग भने– प्रधानमन्त्रीले बिहे र ब्रतबन्धमा सहभागी हुने वा जन्ती मलामी जाने कुरा सामाजिक कार्य हुन् र आवश्यकता अनुसार जानु पनि पर्छ । तर, सचिवालयले जनताले देख्ने गरी वेभसाइटमै यस्ता कार्यक्रममा प्रधानमन्त्रीको समय गइरहेको छ भनेर खुइल्याउन खोजेको त होइन ?

प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिव, प्रेस सल्लाहकार र राजनीतिक सल्लाहकार नियुक्त गर्नेबारे छलफल भइरहे पनि टुंगो नलागेको देउवा निकट स्रोतले जनाएको छ । मन्त्रिपरिषद विस्तारका लागि छलफलमै व्यस्त रहेकाले आफ्नो सचिवालय गठनमा समय दिन नपाएको स्रोतको भनाइ छ ।

सचिवालय व्यवस्थित नहुँदा जनता कार्यकर्ताको पहुँचमा समेत समस्या भएको छ भने मिडियाको पहुँच पनि प्रधानमन्त्रीका गतिबिधिहरुको बारेमा हुन सकेको छैन । स्रोतका अनुसार प्रेस सल्लाहकारमा देउवाले प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई नियुक्त गर्ने सम्भावना छ ।

प्रेस सल्लाहकारका लागि पत्रकार महासंघका पूर्व अध्यक्षहरु किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, पत्रकार गोविन्द परियार, गोरखापत्रका बसन्तप्रकाश उपाध्याय लगायतको नाम पनि चर्चामा छ ।

देउवालाई साँच्चिकै सल्लाह दिन सक्ने र राजनीतिक काममा सघाउने खालका नेतालाई राजनीतिक सल्लाहकार राख्न शुभचिन्तकले सुझाव दिएका छन् । लगातार निर्वाचनहरु आइरहेको, संविधान संशोधनको जटिलता बढिरहेको सन्दर्भमा देउवालाई भरपर्दो राजनीतिक सहयोगी चाहिएको हो ।

देउवाको राजनीतिक सल्लाहकारका लागि केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको नाम अग्रपंक्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment