Comments Add Comment

कांग्रेस-एमाले गठबन्धन तोड्ने गुल्मीकी छोरी, रुकुमकी बुहारी

एमाले छाडेर माओवादी बनेकी कुमारी बनिन् गाउँपालिका प्रमुख

२१ असार, रुकुम । रुकुमको इतिहासमा पहिलोपटक एक महिला स्थानीय तहको नेतृत्वमा पुगेकी छिन् । जिल्लाको ऐतिहासिक ‘बाउन्न पोखरी त्रिपन्न टाकुरी’को नामले चिनिने सुन्दर रुकुमकोटकी कुमारी बरालले यो गौरव हासिल गरेकी हुन् ।

चर्चित कमल तालसमेत रहेको सिस्ने गाउँपालिकाको प्रमुखमा कुमारीले देशका दुई ठूला पार्टी कांग्रेस-एमालेको गठबन्धनलाई पछार्दै गाउँपालिकाको अध्यक्ष जितिन् ।

उनका प्रतिस्पर्धी उम्मेद्वार पनि चानचुने थिएनन् । नन्दलाल शर्मा रुकुमको राजनीतिमा खारिएको नाम हो । लामो शिक्षण पेशा त्यागेर नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका शर्मा एमालेको जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन् । रुकुमकोटकै स्थानीयबासी शर्मालाई पछि पार्नु कुमारी बरालका लागि कम चुनौतिपूर्ण थिएन ।

बुहारी बनेर छिरिन्, अध्यक्ष बनेर निस्किइन्

गुल्मीको ठूलो लुम्पेकमा जन्मे-हुर्केकी कुमारी माओवादी आन्दोलनमा लाग्दै गर्दा रुकुमको साविक रुकुमकोट गाविसमा बुहारीको रुपमा भित्रिएकी हुन् । गण्डक क्षेत्रमा कार्यरत रहँदा बासुदेव गौतम ‘प्रविण’सँग उतै उनको चिनजान भएको थियो । पछि नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत माओवादी नेताहरुको उपस्थितिमा पार्टीले उनीहरुको बिहे गराइदियो ।

कुमारीले पहिलो पटक उम्मेद्वार हुन्छु भन्दा हाँसोमा उडाउनेहरु धेरै थिए । एमालेको गढ भनेर चिनिने सिस्ने गाउँपालिका रुकुमकोटमा बलियो उम्मेदवारको खोजी माओवादी केन्द्रलाई थियो । त्यसैले सुरुमा कुमारीले आफू गाउँपालिका अध्यक्षमा दाबी गर्दा उनकै पार्टी माओवादी केन्द्रका कतिपय नेताले पत्याएका थिएनन् ।

स्थानीयस्तरमा भिजेको, पाको उमेरको र सिनियर नेता उठाउँदा मात्र जितिने आंकलन माओवादी नेता-कार्यकर्ताको थियो । पुराना रजौटाहरुको ‘लिगेसी’ बोकेको रुकुमकोट क्षेत्रमा माओवादी राजनीति फस्टाउनु गाह्रो कुरा त छँदै थियो, एमालेको गढ भत्काउने चुनौति पनि थियो ।

रुकुमको विकट बस्तीका बासिन्दाले कुमारीलाई राम्रोसँग चिनेका पनि थिएनन् । ‘गुल्मी जिल्लाबाट आएको र रुकुमको बस्तुस्थिति बुझिनसकेको हुँदा टिकट पाउन सजिलो थिएन,’ कुमारीले चुनावको तयारी सुरु हुनुभन्दा अघिका दिन सम्झिइन्, ‘कतिपयलाई कुरा बुझाउन समय पनि लाग्यो । तर, अन्ततः पार्टीले मलाई नै योग्य ठान्यो र टिकट दियो ।’

 

 

जिल्लाभर उम्मेदवार छनौट हुँदा प्रमुख पदमा महिला आकांक्षी अरु पनि थिए । जिल्लाका अन्य स्थानीय तहमा उनीभन्दा सिनियरहरु पनि थिए । तर गाउँपालिका प्रमुखको टिकट पाउने भाग्य कुमारीलाई मात्र जुर्‍यो । उनले पनि त्यो अवसरलाई राम्रैसित उपयोग गरिन् र महिला उम्मेदवार भन्दा नाक खुम्चाउनेहरुलाई देखाइदिइन् कि महिलाहरु पुरुषभन्दा कुनै कुरामा कम छैनन् ।

जिल्लामा पार्टीको तर्फबाट एकमात्र महिला अध्यक्षको टिकट पाएपछि हौसिएकी कुमारीलाई उनका पति वासुदेवको दह्रो साथ रह्यो । माओवादी कार्यकर्तासमेत रहेका बासुदेवले श्रीमतीलाई कुनै व्यवहारिक कठिनाई हुन दिएनन् ।

अखिल पाँचौबाट राजनीतिक यात्रा

एमालेका नेता रामनाथ ढकालको गाउँमा जन्मिएकी बरालले अखिल पाँचौबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । ०५४ सालमा उनी एमाले निकट विद्यार्थी संगठन अखिल पाँचौंको विद्यालय इकाइ कमिटीको कोषाध्यक्ष भएकी थिइन् ।

तर, २०५७ मा उनी माओवादी निकट अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी भइन् र जिल्ला सदस्य बनिन् । त्यसपछि उनी माओवादी जनयुद्धमा भूमिगत बनिन् । ‘वर्गीय मुक्तिको आन्दोलन’मा लाग्दा उनको पढाइ त्यागिन् । घर परिवार र व्यक्तिगत स्वार्थ त्यागिन् । ज्यानलाई हत्केलामा राखेर हिँडेकी कुमारी बरालको पनि अन्य माओवादी नेता-कार्यकर्ताहरुको जस्तै समान सपना थियो- मरे शहीद, बाँचे सर्बहारा वर्गको सिंगो संसार ।

कुमारीका चुनौति

गरिबको सरकार ल्याउने सपनासहित उनी जनता जगाउने माओवादी अभियानमा लागिन् । माओवादी आन्दोलनमा उनको परिचय पनि बदलियो- ‘कुमारी’बाट ‘विपना’को रुपमा । अहिले गाउँपालिका अध्यक्ष चुनिएपछि विगतमा आफूहरुले बाँडेका सपनालाई विपनामा कार्यान्वयन गरेर देखाउने चुनौति उनमा छ ।

अध्यक्षको रुपमा कुमारीका सामु चुनातिको पहाड छ । समाजमा पलाएका अनगन्ति आशा र आकांक्षाहरुको व्यवस्थापन गर्नुछ । पहिलोपटक अभ्यासमा आएको स्थानीय सरकारलाई व्यवस्थापन गर्दै कार्यान्वयनमा लैजानु छ । गरीवी र पछौटेपनमा बाँचिरहेको समाजलाई सशक्तिकरण गर्नुछ । बेरोजगार युवाहरुका लागि कामको सृजना गर्नुछ ।

अजङ्गका चुनौतिकाबीच पनि कुमारीको हिम्मत भने दह्रो छ । त्यो हिम्मत माओवादी नेतृ पम्फा भुसालले दिएको अभिव्यक्तिबाट मिलेको छ । बिहेपछि गुल्मीबाट रुकुम फर्किने बेला पम्फाले कुमारी बराललाई सम्झाएकी थिइन्- बुहारी वा श्रीमती बनेर होइन, जनताको पार्टीको क्याडर बनेर रुकुम जाँदै हुनुहुन्छ । आफ्नो ऊर्जालाई पार्टीमा लगाउनुहोला, जनताको सेवामा लाग्नुहोला ।’

यस्ता छन् योजना

 

रुकुमको कमल ताल

अहिले उनी जनताको सेवकको रुपमा सिस्ने गाउँपालिकाको अध्यक्षमा चुनिएकी छन् । त्यसैले उनले प्राथमिकताका आधारमा कामलाई वर्गीकरण गरेकी छन् ।

आफू महिला भएकैले पनि हुनसक्छ, लैंगिक भेदभावलाई जरैदेखि उखेल्ने दृढता कुमारीले बोकेकी छिन् । आफ्नो गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरु सिस्ने हिमाल र कमल ताललाई पर्यटकीय गन्तव्य बनाउने काम पनि उनको कार्यसूचीमा छ ।

भौगोलिकरुपले विकट रहेको सिस्ने गाउँपालिकामा सडक सञ्जाल विस्तार गर्दै त्यसलाई व्यवस्थित गराउने र इमेल इन्टरनेटको पहुँच पुर्‍याउने कामलाई प्राथमिकतामा राखेको उनले बताइन् ।

मध्यपहाडी राजमार्गमा पर्ने रुकुमकोटलाई स्मार्टसिटी बनाउने कुमारीको धोको छ । जनयुद्धकालमा माओवादी जनसरकारबाट भएका जग्गा किनबेच लगायतका कामलाई बैधानिकता दिने योजनालाई पनि आफ्नो प्राथमिकतामा राखेको उनले बताइन् ।

आफ्नो यो काममा आम रुकुमेली जनता, रुकुम नै घर भएका गृहमन्त्री जनार्दन शर्मा, पूर्वआपूर्तिमन्त्री गणेशमान पुन र पूर्वखेलकुद मन्त्री कमला रोका, दलजित श्रीपाइली लगायतको साथ पाउने उनले विश्वास लिएकी छिन् ।

कुमारी हाल माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment