Comments Add Comment

चुनावमा माओवादीलाई शिक्षाः कहाँ चुक्यो पार्टी ?

यसपल्ट माओवादीले गुमाएको छैन

जनताको ठूलो उत्साह र सहभागिताका साथ भर्खर स्थानीय निर्वाचन सम्पन्न भएको छ र यसमा सहभागी सबै राजनैतिक दल तथा उम्मेद्वारहरु आ–आफ्नै चुनावी समीक्षामा केन्द्रित भएका छन् । कुनै राजनैतिक दलसँग आवद्ध नभएका स्वतन्त्र बौद्धिक व्यक्तित्वहरु पनि यस चुनावी समीक्षामा आ–आफ्ना विश्लेषणमा जुटेका छन् ।

कतिपय स्थानमा आफ्नो पक्षमा अनपेक्षित नतिजा आएका कारण नैतिकताका आधारमा जिम्मेवारी लिँदै राजीनामा दिएका खबरहरु पनि छिटफुट रुपमै भए पनि आएका छन् । जे होस्, पुरै मुलुक यति बेला निर्वाचन समीक्षामा व्यस्त छ ।

यसै प्रसँगमा माओवादी पार्टी र यसले निर्वाचनमा प्राप्त गरेको नतिजाका आधारमा पार्टीको एक कार्यकर्ता र निर्वाचनमा सक्रिय सहभागीका हैसियतले संक्षिप्त समीक्षा यस आलेखमा गर्न खोजिएको छ ।

वैचारिक राजनैतिक स्पष्टताको जरुरी

यस निर्वाचनको परिणामले मूलत: माओवादी आधार नेपाली सर्वहारा वर्ग वा निम्न वर्गीय किसान मजदुरहरु तथा उत्पीडित समुदाय नै हुन् भन्ने तथ्यलाई नै पुनर्पुष्टि गरेको छ । तर, अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारले यस दिशामा आम जनताले प्रष्ट देख्न र बुझ्न सक्ने गरी ठोस कार्य गर्न सकेन ।

शहरिया मध्यम वर्ग र उच्च वर्गलाई फाइदा हुने वा प्रभाव पार्ने कार्यहरु उज्यालो नेपाल, प्रधानन्यायाधिश प्रकरण, राजदूत र सचिवहरुको नियुक्ति वा आईजीपी प्रकरण आदिमा प्रचण्ड नेतृत्वको सरकार व्यस्त रह्यो, जुन बाबुरामका पालामा काठमाडौं को सडक फराकिलो पारेजस्तै भयो माओवादीका लागि ।

प्रचण्ड सरकारले यसको सट्ठामा बरु सुकुम्बासी समस्या समाधान, बेरोजगार युवाको समस्या, उत्पीडित समुदाय वा क्षेत्रको केही न केही सम्बोधन गर्न सकेको भए त्यसको सकारात्मक ठोस उपलब्धी हुन सक्थ्यो ।

वर्गीय राजनैतिक झुकावका हिसाबले उच्च कुलीन वर्गीय राजनीति कांग्रेसले र मध्यम वर्गीय अवसरवादी राजनीति एमालेले समातिसकेको अवस्थामा माओवादीले आधारभूत वर्ग र समुदायलाई नेतृत्व गर्ने र विश्वास जित्ने वातावरण निर्माण गर्नुपर्दथ्यो, यसमा कहीँ न कहीँ माओवादी पार्टी चुकेको छ । माओवादी पार्टी कुन वर्गका लागि ? यसको सीधा र सरल उत्तर दिन सक्नैपर्छ ।

कार्यनीति र संगठनवीचको अन्तरविरोध

अहिले माओवादी पार्टीले व्यापक मात्रामा जनपरिचालनको राजनैतिक कार्यनीति अवलम्वन गरेको छ, जसमा हरेक नीति र नेतृत्व जनअनुमोदित हुन जरुरी छ । तर, पार्टीको संगठनात्मक संरचना युद्धकालीन केन्द्रियतामुखी छ । केन्द्रका वरिष्ठ नेताहरु अध्यक्ष प्रचण्डको विश्वासपात्र हुने दौडमा लाजिम्पाट धाइरहेका छन्, जिल्ला जिल्लाबाट नेताहरु राजधानी धाइरहेका छन् । तलको संगठनमा दुःख गर्ने फुर्सद र आवश्यकता कसैलाई छैन । आफ्नो सोरेक परे पार्टी वैज्ञानिक छ , नेतृत्व महान छ भन्ने र आफू अनुकुल नभएमा पार्टी खत्तम छ र नेताहरुको बुद्धि छैन भन्दै सत्तोसराप गर्दैमा समय व्यतीत गरेका छन् ।

कसैले पार्टी र संगठन वा जनताको जिम्मेवारी लिनुनपर्ने अवस्था विद्यमान छ । समग्रमा भन्नु पर्दा संगठन माथितिर फर्केर हेरेको छ तल फर्कनु पर्ने बाध्यात्मक संगठनात्मक ढाँचा निर्माण गर्न सकिएको छैन । कसैलाई पनि अवसर प्राप्त गर्न बाहेक पार्टी कमिटी र नेतृत्व चाहिएको छैन । त्यसैले सवाल हजारीलाल केन्द्रीय समितिको होइन कि सवाल केन्द्र देखि तल सम्मको निर्वाचित कमिटी र स्पष्ट जिम्मेवारी सहितको कार्यविभाजन र अनुगमनको हो ।

चुनावी अनुभवको कमी

मेरो अनुमानमा अहिलेको निर्वाचनमा पार्टीले ९५ प्रतिशत भन्दा बढी उम्मेद्वार पहिलो पटक निर्वाचन लड्नेहरुलाई मैदानमा उतारेको थियो, जोसँग स्ववियू, विद्यालय व्यवस्थापन समिति वा यस्तै प्रकारका कुनै पनि निर्वाचन लडेको अनुभव थिएन । जसको परिणामस्वरुप निर्वाचनमा आवश्यक पर्ने कला, विरोधीका षडयन्त्र र चालवाजी अनुसार आफ्नो रणनीति बनाउन असफल रह्यो ।

टिकट पाउनासाथ जितिहालिन्छ भन्ने धेरै उम्मेद्वारको मानसिकता रह्यो । कांग्रेस र एमालेले मलाई भोट हाल्छन् भन्नेसम्मको वाल सुलभ मनोविज्ञान भनौं वा पार्टीभन्दा मेरो व्यक्तित्व, लोकप्रियता माथि छ भन्ने मानसिकताले पार्टी र नेतृत्वको कुरा सुन्ने तथा कमिटीको योजनामा चल्ने भन्दा पनि अल्लारे प्रशंसकको जमातबाट प्रभावित हुने अवस्था रह्यो ।

स्वयं नेतृत्व तह समेत निर्वाचन रणनीतिसँग सम्बन्धित योजना निर्माण, शक्ति र साधन श्रोतको विन्यास तथा विरोधीको अन्तरविरोधको परिचालन आदिमा निर्वाचन अनुभवकै कमीले पर्याप्त काम गर्‍यो।

यस बाहेक पनि आर्थिक व्यवस्थापन, प्रचारात्मक सामाग्रीको अपर्याप्तता आदि निर्वाचनमा निकै खट्केका विषय हुन् । साथै उचित समयमा तालमेल र यसका विविध पाटा पक्षका बारेमा पर्याप्त समझदारी कायम गर्न नसक्नु, उचित समयमा उम्मेद्वारको छनौट र सन्तुलन मिलाउन नसक्नु आदि यस निर्वाचनमा देखा परेका समस्याहरु हुन् ।

यसका वावजुद पनि माओवादी पार्टीको राजनैतिक एजेण्डा देशको तल्लो तहसम्म स्थापित भएको छ । देशभरमा लाखौं मतदाता तथा कार्यकर्ता परिचालित भएका छन् । पहिलो पटक पार्टीको तल्लो तहसम्म संगठनात्मक आधार तयार भएको छ । त्यसैले माओवादीले यस पल्टको निर्वाचनमा गुमाएको छैन, बरु धेरै चिज हासिल गरेको छ ।

विश्लेषणको विषय यो हो कि उसले प्राप्त गर्नुपर्ने जति अझ प्राप्त गर्न सकेन, जति उपलब्धिमाथि उल्लेखित विषयमा एक वर्ष अघिबाट प्रयत्न गर्न सकेको भए हासिल गर्न सकिने थियो ।

(लेखक माओवादी केन्द्रका नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment