+
+

स्थानीय तहमा भ्रष्टाचार: यस्ता छन् सम्भावित भ्वाङ

तुल खड्का तुल खड्का
२०७४ असार २३ गते १३:२०

भ्रष्टाचार हुने अनेकौं कारणमध्ये स्थानीय निकायमा जनप्रतिनिधिको रिक्तता पनि एक मानिएको थियो । स्थानीय चुनावपछि आज त्यो रिक्तता हटेको छ ।

व्यवस्थापकीय, कार्यपालिका र न्यायिक शक्ति र अधिकारको प्रयोग गर्न पाउने अख्तियारी संवैधानिक रुपमा स्थानीय तहलाई दिइएको छ । संघीय नेपालका स्थानीय तहहरु अधिकारको हिसाबले पूर्ण र स्रोत-साधनको परिचालन, व्यवस्थापन र सञ्चालनका हिसाबले स्वायत्त जस्तै छन् ।

शक्ति र अधिकार तथा स्रोत-साधनको प्रयोग हुने ठाउँमै भ्रष्टाचार र अनुचित कार्य हुने हो । यसै सन्दर्भमा प्रस्तुत आलेखमा स्थानीय तहमा हुने सम्भावित भ्रष्टाचारका क्षेत्र र त्यसमा जनप्रतिनिधिले अपनाउनुपर्ने सजगताको बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

योजना तर्जुमा

भ्रष्टाचारमा ‘टप-डाउन एप्रोच’ को प्रयोग हुन्छ, अर्थात् यो माथिदेखि तल हुन्छ । स्थानीय निकायमा योजना छनोट गर्दा आवश्यकता र प्राथमिकता हेर्नुभन्दा पनि आफन्त र कार्यकर्तामुखी हुने गरेको आरोप छ । योजना छनोटमा समाजको भौगोलिक, आर्थिक-सामाजिक र नागरिकको आवश्यकता र चाहनाको बीचमा समदूरी कायम गर्नभन्दा पनि निश्चित वर्ग, क्षेत्र र समुदायको प्रभावमा छनोट गर्ने गरेको देखिन्छ ।

हरेक समाजमा एउटा ‘एलिट’ वर्ग छ । योजना छनोटमा पनि एलिट वर्गको प्रभुत्व रहेको छ । आफन्तमुखी योजना छनोटले भ्रष्टाचारलाई पश्रय दिन्छ । जसले विकासको गुणस्तरमा ह्रास र विकासको गतिमा सुस्तता ल्याउँछ ।  योजना प्राप्तिको लागि निश्चित रकम पहिले नै दिने र त्यसको साँवा, बोनस र थप कमिसन योजनाबाट असुल्ने गरिन्छ । निश्चित वर्ग, क्षेत्र र समुदायमा योजना बिक्री गरिन्छ ।

तर, अब उप्रान्त योजना राजनीतिक प्रतिशोध साँध्ने माध्यम बन्न हुँदैन । योजना रिक्तता, अभाव र आवश्यकता पूर्ति गर्ने हुनुपर्छ ।

खरिद तथा खर्च गर्ने ठाउँ

स्थानीय तह भर्खर मात्र स्थापना भएका छन् । स्थानीय सरकारलाई आवश्यक पर्ने अनेकौं सामग्री खरिद गरिँदै छन् । यो बेला नजानिँदो किसिमले भ्रष्टाचार र अनुचित कार्य हुने जोखिम हुन्छ । साथै, वित्तीय अनुशासन स्खलित हुने सम्भावना पनि त्यति नै रहन्छ ।

खरिद गर्दा खरिदकर्तादेखि व्यापारीसम्म मिल्छन् । कम मूल्यमा सामान खरिद गरी बढी मूल्यको बिल बनाउने भ्रष्ट प्रवृत्ति प्रशासनिक वृत्तमा सदियौंदेखि चल्दै आएको छ । जो आजका दिनसम्म पनि ज्यूका त्यूँ छ ।

त्यस्तै, बजेट सक्ने नाममा गुणस्तरहीन कार्यमा खर्च गर्ने चलन पनि कायमै छ । यस्तो भ्रष्टाचारलाई निरुसाहित गर्न स्थानीय सरकारसँग ठोस नीति र नियम हुनुपर्छ ।

निर्माण गर्ने ठाउँ

स्थानीय तहको कुशल व्यवस्थापन र प्रभावकारी सञ्चालनको लागि एकातिर कार्यालयले भौतिक पूर्वाधारको निर्माण र अर्कातिर सार्वजनिक पुल, सडक, खानेपानी, भवन, नहर/कुलो लगायत संरचनाको निर्माण गर्नुपर्ने नियमित काम छन् ।

तर, स्थानीय स्तरमा निर्माण हुने सार्वजनिक संरचनाहरुमा चरम भ्रष्टाचार हुने गरेको इतिहास छ । यसमा दुई तरिकाले भ्रष्टाचार हुन्छ । पहिलो, लागत स्टिमेट तयार पार्दा । जहाँ कम मूल्यमा सम्पन्न हुने कामको बढी मूल्यको स्टिमेट तयार गर्न लगाइन्छ ।

दोस्रो, कार्यसम्पन्न प्रतिवेदन । जहाँ शत: प्रतिशत काम  गुणस्तरीय रुपमा भएको देखाइन्छ । त्यो निश्चित रकमको कमिसनमा गरिन्छ । जहाँ उपभोक्ता समितिदेखि कार्यालयसम्मको मिलेमतो रहन्छ । यस्तोमा न काम पूरा भएको हुन्छ, न गुणस्तरीय काम भएको हुन्छ, न त लागत स्टिमेट अनुसारको निर्माण सामग्री प्रयोग हुन्छ । हर प्रकारले रकम बचाउने र बाँड्ने उपाय रचिन्छ ।

यो रकम उपभोक्ता समितिदेखि फिल्डमा खटिने कर्मचारी, कार्यालय प्रमुख र त्यसभन्दा माथिको तालुक निकायसम्म पुग्ने गरेको देखिन्छ । यसरी निर्माण गरेका सार्वजनिक संरचनाहरुको आयु थोरै र गुणस्तरहीन हुने गरेको यथार्थ सबैले जाने-सुनेकै कुरा हो । यो भ्रष्टाचारको सञ्जाल तोड्ने आँट अबको जनप्रतिनिधिसँग हुनुपर्छ ।

राजश्व संकलन 

हिजोका स्थानीय निकायहरुले कसरी र के-कति मात्रामा राजश्व संकलन गरी राज्यलाई योगदान गरे भन्ने बहस आज पुरानो भइसकेको छ । अब आजका स्थानीय तहहरुले भोलि कसरी गर्छन् भन्ने बहस आवश्यक छ । संकलन भएको राजश्व राज्यकोषमा जम्मा नहुने, लामो समयसम्म राजश्व दाखिला नहुने, राजश्व संकलन गर्ने रसिद कीर्ते हुने, राजश्व संकलन गरिएका रसिद बीचमै हराउने, गायब हुने समस्या बल्झिने हुन् कि भन्ने शंका छ ।

यो शंकालाई भ्रमको रुपमा परिणत गर्ने जिम्मेवारी अब जनप्रतिनिधि र स्थानीय सरकारमा रहेको छ ।

समाधानका लागि के गर्नुपर्छ ?

हिजो एक राजनीतिक दलबाट उम्मेदवार बनेका पात्र आज सबैका साझा जनप्रतिनिधि बनेका छन् । राजनीतिक नेतृत्व इमानदार, निष्पक्ष र पारदर्शी छ भनेर प्रमाणित गर्ने सुनौलो अवसर जनमानसले दिएको छ । त्यो प्रमाणित गर्ने चुनौती र जिम्मेवारी थपिएको छ ।

यसका लागि शासकीय शक्ति र स्रोत-साधनको अनैतिक वितरणमाथि प्रतिबन्ध लगाउँदै अधिकार र अवसरको पर्याप्तता र सहज पहुँच कायम गर्नुपर्छ । जसले स्थानीय सरकार र नागरिकबीचमा समदूरी कायम गर्न मद्दत गर्छ ।

स्रोत-साधनको जथाभावी परिचालन र दोहन, सार्वजनिक शक्तिको दुरुपयोग, अधिकारबारे आफ्नो हित अनुकूलको व्याख्या र लोकप्रिय कामको नाममा अनुचित कार्य भएमा स्थानीय तहप्रतिको साख खस्किने निश्चित छ ।

जल, जमिन, वन र अन्य प्राकृतिक स्रोत-साधनमाथिको राजनीतिक एकाधिकार र राजनीतिक आडमा गरिएका अनैतिक कार्यलाई रोकेर त्यसको परिचालन र व्यवस्थापनमा लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्छ ।

सुशासनको जग निर्माण नगरी समृद्ध गाउँ, नगर र शहर निर्माणको यात्रा पूरा हुन सक्दैन । त्यसको लागि भ्रष्ट र भ्रष्टजन्य प्रवृत्ति ‘डिलिट’ तथा सदाचार र निष्पक्षतालाई ‘सेभ’ गर्ने संस्कारको निर्माण गरे मात्र समावेशी विकासले गति लिन्छ ।

लोभ र लालचबाट माथि उठेर समाजको हित र उन्नयनको लागि त्याग र निष्ठा राख्न सक्ने नेतृत्वको निर्माण गर्नुपर्छ । उल्लिखित क्षेत्र बाहेकका अन्य भ्रष्टाचार हुनसक्ने क्षेत्रको पहिचान गरी त्यसको ठोस कार्यरुप तयार गरी भ्रष्टाचारमुक्त गाउँ-नगरको निर्माणमा प्रतिबद्धता र सजगता अपनाउनु जरुरी छ ।

अन्त्यमा,

स्थानीय तहमा राजनीतिक र प्रशासनिक गरी दुईथरी शक्ति छन् । एउटासँग राजनीतिक शक्ति र अर्कोसँग पशासनिक ज्ञान छ । कुनै पनि राजनीतिज्ञ एकै समयमा कर्मचारी र कर्मचारी राजनीतिज्ञको रुपमा दुवै भूमिकामा रहन सक्दैन । त्यस कारण भ्रष्टाचार नियन्त्रणमा यी दुई शक्तिको समान भूमिका र दायित्व रहेको छ ।

भ्रष्टाचार र अनुचित कार्यको मामिलामा यी दुई शक्तिको समीकरण निर्माण भयो र एकले अर्कोलाई नियन्त्रण र सन्तुलन कायम गर्न सकेन भने भ्रष्टाचार झन् व्यापक हुने सम्भावना हुन्छ । यसका लागि जनिप्रतिनिधिहरुले प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ ।

महँगो चुनावी संस्कारबाट आएका प्रतिनिधिले चुनावी खर्चको क्षतिपूर्ति सार्वजनिक पदधारण गरेकै अवस्थामा असुल्न थाले भने भ्रष्टाचार झन् गहिरो बन्नेछ । फलस्वरुप समृद्ध गाउँ-नगर निर्माणको अभियानमा पूर्णविराम त लाग्छ नै, जनप्रतिनिधिको राजनीतिक जीवन पनि धमिलिँदै हराउन समय लाग्नेछैन ।

लेखकको बारेमा
तुल खड्का

राजनीतिशास्त्र र द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेका लेखक राजनीतिक र प्रशासनिक विषयमा रूचि राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?