Comments Add Comment

सामसुङले कमायो किर्तिमानी नाफा, चिप उत्पादनमा समेत नम्बर वान बन्दै

विश्वव्यापी रुपमा मेमोरी चिपको मागमा भएको तिव्र वृद्धिसँगै दक्षिण कोरियाली कम्पनी सामसुङको मुनाफा समेत चुलिएको छ ।

जून महिनासम्मको पछिल्लो त्रैमासिकमा सामसुङले १२ अर्ब डलर कार्यसञ्चालन मुनाफा हासिल गरेको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशत बढि हो ।

साथै नयाँ फ्लागसीप स्मार्टफोन ग्यालेक्सी एस एटको बिक्रि चम्किएसँगै यो त्रैमासिकमा सामसुङका उत्पादनहरुको बिक्रिबाट हुने आयमा समेत १८ प्रतिशतले वृद्धि हुँदै ६० टि्रलियन कोरियन वन पुगेको छ ।

गत वर्ष ग्यालेक्सी नोट सेभेनको असफलतासँगै ठूलो घाटा बेहोरेको सामसुङका लागि पछिल्लो तथ्यांकले ठूलो राहत दिलाएको र सामसुङले सानदार पुनरागमन गरेको विश्लेषकहरुले बताएका छन् ।

यसैबीच सामसुङले फिर्ता बोलाएका नोट सेभेनका केही पाटपुर्जा प्रयोग गरी तयार पारेको नयाँ फोन शुक्रबार दक्षिण कोरियामा सार्वजनिक गरेको छ । लाखौँ संख्याका ग्यालेक्सी नोट सेभेन बजारबाट फिर्ता लिएको सामसुङले ती सेट नष्ट गर्दा पर्ने वातावरणीय प्रभावलाई ध्यानमा राख्दै उच्च गुणस्तरका पाटपुर्जा निकालेर नयाँ फोन उत्पादन गरेको हो ।

शाख फर्किएकै हो त ?

अनुसन्धानकर्ताहरुका अनुसार यो वर्ष नै सामसुङ चिप उत्पादनमा इन्टेललाई पछि पार्दै नम्बर वान कम्पनी बन्ने दौडमा छ । स्मार्टफोन र कम्प्युटरमा प्रयोग हुने चिपको माग तथा मूल्यमा समेत वृद्धि भएसँगै सामसुङलाई फाइदा पुगेको छ ।

ब्याट्री खराब भएर पडि्कएसँगै बजारबाट नोट सेभेन फिर्ता लिएर उत्पादन नै बन्द गर्नुपर्दा सामसुङका लागि गत वर्ष ठूलो घाटा परेको थियो । साथै त्यसले सामसुङको ब्राण्ड इमेजमा पनि धक्का लागेको थियो ।

सोही घटनाका कारण सामसुङले विश्वको नम्बर वान स्मार्टफोन निर्माताको ताज पनि गुमाउनु परेको थियो । सामसुङ समस्यामा फसेसँगै एप्पल, हुवावे, साओमी तथा ओप्पोजस्ता स्मार्टफोनहरुले बजारमा हिस्सा बढाउन सफल भए । साथै कम्पनीका प्रमुख जे वाइ ली घुसकाण्डमा परेर पक्राउ पर्दा समेत कम्पनीको शाख गिरेको थियो ।

तर ग्यालेक्सी एस एटको सफलता तथा चिप बिक्रिबाट प्राप्त आयका कारण सामसुङको आर्जन बढेसँगै यो कम्पनी पुनः विश्वको नम्बर वान बन्ने देखिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment