सन् १९३३ मा स्विट्जरल्याण्डका आँखा चिकित्सक हेनेरिक जोग्रेनकहाँ एउटै प्रकृतिका समस्या लिएर बिरामीहरु पुगे । अधिकांश बिरामीको समस्या थियो, आँखा र मुख सुख्खा हुने । उनीहरुमा थुक निकाल्ने ग्रन्थि (पारोटिड ग्ल्याण्ड) बढेको पाइयो ।
यस्तो समस्या डा. जोग्रेनले पत्ता लगाएकाले यसलाई जोग्रेन सिन्ड्रोम (Sjogren’s syndrome) भनिन्छ । यो सिन्ड्रोम एक किसिमको बाथ रोग हो ।
जोग्रेन भएमा सबैभन्दा पहिले हाम्रो शरीरमा हुने टी र बी सेल्सले संकेत गर्छन् । ती सेल्सको असन्तुलनका कारण इनेट पाथमा जलन हुन्छ, त्यसबाट शरीरमा बन्ने अटो एण्टीबडीलाई एन्टी रो र एन्टी ला भनिन्छ । यसले गर्दा मुख र आँखा सुख्खा हुने जस्ता लक्षण देखिन्छन् ।
जोग्रेन सिन्ड्रोम दुई प्रकारका हुन्छन्:
१. प्राइमरी जोग्रेन (जोग्रेन मात्र हुने)
२. सेकेण्डरी जोग्रेन (अरु बाथ रोगसँगै आउने)
सामान्यतया यो रोग लागेका बिरामीहरु सुरुमा धेरै मुख सुख्खा र आँखा सुख्खा भयो भनेर चिकित्सककहाँ आउने गर्छन् । तर, यी लक्षण देखिँदैमा जोग्रेन नै भएको भन्ने हुँदैन । यस्ता लक्षण अन्य कारणले पनि देखिने भएकाले पहिले खास कारण पत्ता लगाउनुपर्ने हुन्छ ।
जस्तै: मधुमेह भएका, पानी कम पिउने, धेरै गर्मी हुने ठाँउमा बस्ने, खास किसिमका औषधि सेवन गर्ने, रेडिएसन थेरापी लिएका लगायत मानिसमा पनि मुख र आँखामा सुख्खापन देखिन सक्छ ।
जोग्रेन भएको कसरी थाहा पाउने ?
कुनै पनि मानिसमा ३ महिनाभन्दा लामो समयदेखि निम्न लक्षण देखिए उसलाई जोग्रेन भएको अनुमान गर्न सकिन्छ:
– मुख अत्यधिक सुख्खा हुनु ।
– खाना खाँदा पटकपटक पानी पिउनैपर्ने, पानी बिना खाना निल्न नसक्नु ।
– सुख्खा किसिमका खानेकुरा जस्तैः पाउरोटी, बिस्कुट, चिउरा आदि खान निकै गाह्रो हुनु ।
– खानेकुरा गिजामा अड्किनु र गिजामा घाउहरु हुनु ।
– गालाको छेउछाउमा हुने थुक निकाल्ने ग्रन्थिहरु बढ्नु ।
– आँखा अत्यधिक सुख्खा महसुस हुनु ।
– रुँदा आँसु नआउनु ।
– आँखामा बालुवा वा धूलो पसेको जस्तो अप्ठेरो महसुस हुनु ।
रोगले निम्त्याउने असर
जोग्रेनले कतिसम्म असर पुर्याउँछ भन्ने यकिन हुँदैन । यो रोग मुख र आँखा सुख्खा पार्नमा मात्र सीमित रहन पनि सक्छ । यसका साथै यसले अरु अंगमा असर पुर्याउन सक्ने सम्भावना पनि त्यत्तिकै हुन्छ ।
आँखा र मुख बाहेक अरु अंगमा पनि असर गर्ने जोग्रेनलाई एक्स्ट्राग्ल्याण्डु
– छाला सुख्खा हुने ।
– जोर्नीहरु दुख्ने ।
– फोक्सो तथा श्वासनलीमा सुख्खापन हुने ।
– दम रोग निम्त्याउने ।
– महिलाहरुलाई योनिमा सुख्खापन हुने ।
– मिर्गौलामा असर गरेर टुबुलर एसिडोसिस (शरीरमा एसिड जम्मा भएर मिर्गौला फेल गराउन सक्ने रोग) गराउने ।
– खाने नलीमा अत्यधिक सुख्खापन भएर खाना निल्न समेत अप्ठ्यारो हुने ।
– केही बिरामीहरुमा पछि लिम्फोमा (शरीरमा गिर्खाहरु आउने) पनि हुनसक्छ ।
रोगको पहिचान कसरी गर्ने ?
यदि ३ महिनाभन्दा बढी समयसम्म मुख र आँखा बढी सुख्खा हुन्छ र गालाको छेउछाउमा थुक निकाल्ने ग्रन्थिहरु बढेको पाइए जोग्रेन भएको आशंका गर्नुपर्छ । त्यस्तो लक्षण देखिए आँखाको विशेष किसिमको जाँच (सिरमर टेस्ट) गराउनुपर्छ ।
यो जाँचअन्तर्गत आँखामा विशेष किसिमको कागज राखिन्छ र आँसुको मात्राको जाँचिन्छ । कागज राखेको १ मिनेटमा ५ एमएमभन्दा बढी भिजेको हुनुपर्छ । यदि एक मिनेटमा सोभन्दा कम कागज भिजेमा सुख्खापन भएको बुझ्नुपर्छ ।
थुक निकाल्ने ग्रन्थिको एमआरआई सिआलोग्राफी तथा ओठको बायोप्सी गर्दा पनि रोगको पहिचान हुन सक्छ । रगतमा एण्टीबडी एण्टी रो र एण्टी ला जाँच गराउनुपर्छ ।
रोग पहिचान भएका बिरामीको उपचार गर्ने उपाय
– मुख सफा राख्ने ।
– आँखामा नियमित रुपमा औषधि हाल्ने ।
– इम्युनोसप्रेसिभ नामक औषधिको सेवन गर्ने ।
– सुख्खापन मुख र आँखामा मात्र सीमित रह्यो भने खासै आत्तिनु पर्दैन । तर, अरु अङ्गहरुमा पनि असर बढ्न थाल्यो भने औषधिको प्रयोग गर्नुपर्छ ।
(डा. रेग्मी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंका बाथरोग विशेषज्ञ हुन् ।)