Comments Add Comment

राप्रपाले ‘धोका’ नदिए केही दिनमै संविधान संशोधन !

यस्तो छ संसदको अंकगणित

२५ असार, काठमाडौं । सरकारले केही दिनमा नै संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरेको छ । असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको चुनावमा राजपालाई समेट्न संशोधन अघि बढाउन लागिएको हो ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संशोधन विधेयक पास गर्न आवश्यक दुई तिहाई जुटाउन प्रयासरत छन् । ‘२/३ दिनमा नै संशोधन पास गर्ने गृहकार्य भइरहेको छ’ सत्तारुढ दलका एक नेताले भने, ‘त्यसका लागि चाहिने दुई तिहाई पुर्‍याउँछौं ।’

राष्ट्रिय जनता पार्टीले हालै मात्र निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएको छ । तर, उसले चुनावमा जान संविधान संशोधन लगायतका आफ्ना माग पुरा हुनुपर्ने अडान पनि छाडेको छैन ।

संशोधन विधेयकलाई संसदको प्रक्रियामा लैजाने र पास फेल जे भएपनि त्यसलाई स्वीकार गरेर चुनाव जाने बचन राजपा नेताहरुले लिएको सत्तारुढ दलको दाबी छ । साथै प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले पनि दुई तिहाई पुर्‍याएर संशोधन पास गराउने बचन दिएका छन् ।

राप्रपाले ‘धोका’ नदिए यसरी पुग्छ दुई तिहाई

पहिलो चरणको चुनाव अघि बैशाख १७ गते नै संशोधन पास गर्ने सरकारको तयारी थियो । तर, अन्तिम समयमा राप्रपाका १० सांसद हराएपछि यो प्रक्रिया अवरुद्ध भयो ।

संघीय समाजवादी फोरम चुनावमा आएपछि तत्कालीन मधेसी मोर्चामा रहेका अन्य छ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले भाग लिएन । दोस्रो चरणको चुनाव अघि प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सहमति भयो । केही ठाउँमा राजपाका नेताहरु स्वतन्त्र उम्मेदवार बने । तर, सिंगो पार्टी अझै चुनावी प्रक्रियामा आएको छैन ।

अहिले फेरि संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी सुरु भएको छ । तर, संशोधन विधेयक पास फेल के हुन्छ यसै भनिहाल्ने अवस्था छैन । यद्यपि राप्रपाले ‘धोका’ नदिए संशोधन विधेयकको पक्षमा दुई तिहाई पुग्ने सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

संसदमा अहिले सदस्य संख्या ५९२ छ । अर्थात संशोधन पास गर्न ३९५ सांसद चाहिन्छ । यस्तै यदि संशोधन विधेयकलाई पास हुन नदिने प्रमुख विपक्षी एमालेले आफ्नो पक्षमा १९८ सांसद पुर्‍याउन सक्नुपर्छ ।

अहिले संशोधनको विपक्षमा प्रष्ट १९८ सांसद छैनन् । एमालेको १८० सांसद छन् । मालेको ५, नेमकिपाको ४, रााष्ट्रिय जनमोर्चाका ३ सांसद र लक्ष्मण राजवंशी नेतृत्वको बौद्धिक जनतान्त्रिक परिषद्को एक सांसद छन् ।

यसरी हेर्दा एमाले गठवन्धनमा १९३ सांसद देखिन्छन् । तर, यो संशोधन रोक्नका लागि पर्याप्त छैन ।

हुन त अहिले एमाले गठवन्धनमा दुई सांसद भएको परिवार दल र मेघराज नेपाली निशाद नेतृत्वको एक सांसद भएको मधेस समता पार्टी पनि छ । तर, दुबै दलले कुनै पनि बेला आफ्नो निर्णय फेर्न सक्ने विश्लेषण छ ।

रोचक त के छ विपक्षी गठवन्धन जस्तो समस्यामा छ, त्यो समस्या सत्ता गठवन्धनमा पनि छ । उनीहरुसँग संशोधन पास गर्न चाहिने ३९५ सांसद प्रष्ट देखिएको छैन । कांग्रेसका २०७, माओवादी केन्द्रका ८१ (सभामुखले भोट नहाल्ने), राप्रपाका ३७ र राजपाका २४ सांसद छन् । फोरम लोकतान्त्रिकका १६, संघीय फोरमका १५ र नेकपा संयुक्तका ३ सांसद छन् । यो सबै जोड्दा ३८३ हुन्छ । यसमा निर्णायक साना दल छन् ।

संसदका एक सिटे दलहरु समाजवादी जनता दल (प्रेमबहादुर सिंह) थरुहट (रुक्मिणी चौधरी), खम्बुवान राष्ट्रिय मोर्चा (आरके खम्बु), जनजागरण पार्टी नेपाल (लोकमणि ढकाल), अखण्ड नेपाल (कुमार खड्का), जनता दल (हरिचरण शाह), स्वतन्त्र सांसद विन्देश्वर झा पनि संविधान संशोधनको पक्षमै देखिएका छन् । यो जोड्दा ३९० पुग्छ । यस्तै नयाँ शक्ति पार्टीमा प्रवेश गरेका दुई सांसद पनि संशोधनको पक्षमा हुनेछन् ।

दुई सांसद भएको परिवार दलका साथै बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, मधेस समता पार्टीका मेघराज नेपाली निशादलाई पनि संशोधनको पक्षमा ल्याउन सकिने सत्तारुढ दलको बुझाइ छ । यसो गर्दा ३९६ हुन्छ ।

सत्तारुढ दलले अपेक्षा गरे अनुसार सबै भोट आउने हो भने संशोधनको पक्षमा दुई तिहाई पुग्ने देखिन्छ । तर, एक सांसद भएका दलको मात्र होइन, राप्रपाकै भर गर्ने अवस्था नरहेको एक नेताले बताए ।

प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीका नेता केशरबहादुर विष्टका छोरा विराज विष्ट राप्रपाका सांसद छन् । उनीको समूहमा ५ सांसद रहेको बताइन्छ । यदि यो समूह विपक्षमा उभिए संशोधन फेल हुन सक्छ । संविधान संशोधनमा के गर्ने भन्नेबारे राप्रपाले पार्टीको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment