Comments Add Comment

विदेशी विज्ञापन हटाए सबै टेलिभिजन बन्द गर्ने ब्यवसायीको घोषणा

२५ असार, काठमाडौं । सरकारले ‘क्लीन फीड’ (विदेशी विज्ञापन हटाउने ब्यवस्था) लागू गरे साउनको सुरूवातबाटै केबल टिभी र डीटीएच सञ्चालकहरुले नेपालमा प्रशारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् ।

सरकारले लागू गर्ने तयारी गरेको विज्ञापनरहित (क्लीन फीड) नीति-२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै उनीहरुले नीति फिर्ता नभए साउन १ गतेबाट सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल केवल टेलिभिजन महासंघ, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।

भू-परिबेष्टित र खुला सीमाना भएको मुलुकमा विदेशी डीटीएचको चोरी पैठारी हुन सक्ने र नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरु धारासायी बन्ने र सो को कारणबाट नेपाली टेलिभिजनहरु पनि प्रायः बन्द नै हुने अवस्था आएको दावी उनीहरुको छ ।

नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुमा लगानी भएको अर्बौं रुपैयाँको नोक्सानी हुने भएकालेे विज्ञापन रहित नीति रद्द गर्न उनीहरुले माग गरेका छन् । यो माग राख्दै उनीहरुले प्रधानमन्त्री तथा नेपाल सरकार सूचना तथा सञ्चार मन्न्त्रालयका सचिव समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

विज्ञापन रहित नीति, २०७३ लागु भएमा नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुका लागि बिक्रियोग्य बस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले सरकारले असार मसान्तभित्र विज्ञापनरहित नीति, २०७३ रद्द नगरेमा आगामी साउन १ गतेदेखि नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण भई आएका स-शुल्क, निःशुल्क, स्वदेशी, विदेशी तथा स्थानिय केवल टिभी लगायत सम्पूर्ण टेलिभिजनहरु बन्द गर्न बाध्य हुने चेतावनी टेलिभिजन सञ्चालकहरुले दिएका छन् ।

यसबाट सरोकारवाला, प्रशारक तथा उपभोक्तामा पर्न जाने असर तथा त्यसबाट उत्पन्न हुने बिषम परिस्थितिको जिम्मेवार समेत नेपाल सरकार नै हुने उनीहरुले प्रेश विज्ञप्ति निकालेर जनाएका छन् ।

सरकार साउनबाट विज्ञापनरहित नीतिको कार्यान्वयन गर्ने तयारीमा छ । टेलिभिजन सञ्चालकहरुले भने नेपालमा प्रशारण भई आएका ९५ प्रतिशत विज्ञापनसहितका विदेशी च्यानलहरु रहेको भन्दै ति च्यानलहरुको नेपालका लागि विज्ञापन रहित फीड नभएको जनाएका छन् ।

‘भारतीय प्रशारक फोरमले नेपालको लागि क्लीन फीड उपलब्ध गराउने नसकिने जानकारी गराएको छ । नेपालका लागि अलग्गै फीड तयार गरी प्रशारण गर्न सम्भव नै छैन र प्रशारण हुँदा पनि नेपाली उपभोक्ताले क्लीन फीडबाट प्रशारित च्यानलको शुल्क भुक्तान गर्न सक्ने पनि देखिँदैन’ विज्ञप्ीतमा भनिएको छ ।

अघि भनिएको छ, ‘विज्ञापन रहित नीति, २०७३ लागू गरिएमा नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरु बन्द नै हुन्छन् भने सोबाट नेपाली टेलिभिजनहरु पनि बन्द हुन पुग्छन्, कारण हाल नेपाली टेलिभिजनहरुको प्रशारण डीटीएच कम्पनी तथा केबल कम्पनीमार्फत भइरहेको छ । यसरी विज्ञापन रहित नीति लागू गरिएमा यस क्षेत्रमा लगानी भएको अरबौ रुपैयाँको लगानी खेर जाने पनि स्पष्ट छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment