+
+

केपी ओलीलाई कार्यकर्ताको जवाफः अन्तरघाती सिंहदरबारमै छन्

चुनाव हार्ने नेता, गाली खाने कार्यकर्ता ?

गौरव पोखरेल गौरव पोखरेल
२०७४ असार २६ गते ११:००
एमाले झापाका जिल्ला अध्यक्ष चिन्तन पाठक र जिल्ला सचिव मदन अधिकारी

२६ असार, झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापामा पार्टीका नेताहरु पराजित हुनुको कारणसहितको जवाफ ७ दिनभित्र केन्द्रमा बुझाउन निर्देशन दिएका छन् ।

वर्षभरि एमाले हुने तर एक दिन भोट हाल्ने बेलामा चाहिँ रुखमा भोट हाल्ने कार्यकर्ताहरु एमालेमा अटाउन नसक्ने भन्दै ओलीले कारवाहीको चेतावनीसमेत दिएका छन् ।

झापामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक र जिल्ला सचिव मदन अधिकारीले समेत चुनाव हारे । त्यस्तै मेचीनगरमा एमालेका पुराना नेता विष्णु प्रसाईले चुनाव हारे । यही पराजयका कारण एमालेले झापाका १५ स्थानीय तहमध्ये आधा भन्दा कम स्थानमा चित्त बुझाउनुपर्‍यो ।

आखिर झापामा एमाले नेताहरु किन हारे ? जनताले उनीहरुलाई किन कम भोट दिए ? के यो पराजयमा केन्द्र र जिल्लाका नेताहरुको कुनै दोष छैन र तलका कार्यकर्तामात्रै दोषका भागिदार हुन् ? कि एमालेलाई मतदान नगर्ने मतदाताहरुलाई दोष दिन खोजिएको हो ? यसको हिसाव अबको एक सातामा एमाले नेता कार्यकर्ताले पक्कै पनि ओलीलाई बुझाउलान् ।

आखिर एमालेका जिल्ला अध्यक्ष र सचिवले झापामा किन हारे ? यस विषयमा विश्लेषण गर्नुपूर्व अध्यक्ष केपी ओली झापाको चुनावी परिणामपछि किन रिसाए भन्नेबारे चर्चा गरौंः

केपी ओली किन रिसाए ?

नेपाली कांग्रेसलाई पहिलो दल बन्नबाट रोक्ने पार्टीको रणनीति अनुरुप दोस्रो चरणको निर्वाचनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापामा दौडधुप बढाए । मृगौला प्रत्यारोपण पछि अस्वस्थ बनेका ओलीलाई चिकित्सकले धेरै धपेडी नगर्न सुझाव दिए पनि उनले आफ्नो व्यस्ततालाई कम गरेनन् ।

एकैदिन ५ वटासम्म चुनावी सभा र दर्जनौं भेला तथा बैठकमा ओली सहभागी भए । यसरीले ओलीले गृहजिल्लामा दौडधुप बढाउनुको अर्को कारण थियो- उनी झापामा धेरैभन्दा धेरै सीट जितेर एमालेलाई मुलुककै पहिलो दल बनाउन योगदान गर्न चाहन्थे ।

चुनावको देशव्यापी परिणामलाई हेर्दा केपी ओलीको लक्ष पूरा भएको छ । एमालेले कांग्रेसलाई उछिनेर आफूलाई पहिलो दल बनाएको छ । तर, केपी ओलीको गृहजिल्ला झापामा भने एमालेले ५० प्रतिशत पनि सीट जित्न सकेन र ओलीको प्रतिष्ठामाथि धक्का लाग्यो ।

निर्वाचनको समयमा केपी ओली झापाका गाउँगाउँमा यति धेरै खटेको पहिलो पटक भएको उनी निकट झापाली नेताहरु बताउँछन् । उनी यहाँ आएर एमालेभित्र रहेको असन्तुष्टि साम्य पार्नेदेखि लिएर गाउँटोलसम्म पुगेर मतदातालाई फकाउनेसम्मको काममा व्यस्त भएका थिए ।

झापामा चुनावी प्रचारका क्रममा ओलीले दिन रात नभनी खटिएको भएता पनि आशा गरिए अनुरुप नतिजा आएन । ओलीको दौडधुप देखेर झापामा कांग्रेस नेतालाई आफूहरु खुम्चिने डर थियो । तर, नतिजा एमालेले सोचे अनुरुप आएन ।

एमालेले ७ स्थानीय तह (अर्जुनधारासहित) मा आफ्नो कब्जा जमायो भने कांग्रेस पनि एमालेकै हाराहारीमा आयो । कांग्रेसले ५ स्थानीय तहमा जित निकाल्यो । यहाँ राप्रपा पनि तीन सीट जितेर उदायो । दमक र विर्तामोडमा पनि राप्रपाले उल्लेख्य मत पायो । राप्रपाले ३ वटा स्थानीय तह जित्दा माओवादी केन्द्र झापामा शुन्य भयो ।

तर, केपी ओलीले सोचे जस्तो परिणाम नआए पनि झापामा एमाले पहिलो दल त बन्यो । तर, एमालेका जिल्ला स्तरका नेताहरु नै पराजित हुँदा एमालेको प्रतिष्ठामाथि आँच आयो । र, यही कारणले केपी ओली आइतबार झापा आएका बेला निकै आक्रोशित देखिए ।

सबै स्थानीय तहको मतपरिणाम आइनसक्दै विजयी उम्मेदवारहरुलाई बधाई दिन आइतबार झापा आएका ओलीले बिर्तामोडमा आयोजित एक सभामा अन्तरघातका कारण एमालेलाई झापामा सोचेअनुरुपको नतिजा नआएको भन्दै कार्यकर्तालाई थर्काए ।

एमालेले एमालेलाई नै हराएको ओलीको टिप्पणी थियो । त्यसरी एमालेलाई नै हराउनेलाई निर्मम कारबाही गर्ने उनले चेतावनी पनि दिए ।

झापाको बुद्धशान्ति गाउँपालिकामा जिल्ला अध्यक्ष चिन्तन पाठक र गौरादह नगरपालिकामा जिल्ला सचिव मदन अधिकारी पराजित भएकोमा ओलीले तीब्र असन्तुष्टि व्यक्त गरे ।

चिन्तन पाठकः जनताको दुःखमा भन्दा व्यवसायमा ध्यान

एमाले अध्यक्ष पाठक बुद्धशान्ति गाउँपालिकामा ६ सय ४३ मत अन्तरले पराजित भएका थिए । त्यहाँ उनी पराजित हुनुमा धेरै कारणहरु रहेको स्थानीय कार्यकर्ता बताउँछन् ।

पाठक गाउँमा मजाले नभिजेको तथा व्यवसाय र जिल्लाको राजनीतिमा मात्र बढी ध्यान दिएको एकथरी कार्यकर्ताको आरोप छ । अर्को कुरा उम्मेदवार चयनको विषयमा पनि केही स्थानीय नेताहरु असन्तुष्ट थिए ।

एक जनाका स्थानीय नेताका अनुसार एउटा वडामा वडाध्यक्ष चयन गर्ने विषयमा आकाङ्क्षीहरुलाई व्यवस्थापन गर्न नसक्दा धेरै मत बाहिर गयो । जसका कारण एमाले मतदाताको असहयोगमा उनी परे ।

गाउँमा हुने सामाजिक कार्य र मुद्दा मामिलामा पनि उनको भूमिका कम हुने स्थानीय कार्यकर्ताको भनाइ छ । त्यसैले यहाँ उनले हार व्यहोर्नु परेको त्यहाँका मतदाता बताउँछन् ।

गौरादहः साँढेको जुधाइ, बाच्छाको मिचाइ

गौरादह नगरपालिकामा एमाले जिल्ला सचिव मदन अधिकारी ४ सय ५४ मत अन्तरले पराजित भए । एमालेको गढमा कांग्रेसले अप्रत्याशित नजिता निकाल्यो । आखिर किन त ?

एमालेको गढको रुपमा रहेको गौरादहमा सांसद दीपक कार्की र अग्नी खरेलका दुई गुट छन् । कार्की र खरेल सिंहदरबारमै रहेर गौरदहमा गुट चलाइरहेका छन् । र, दुबैजना एमालेमा केपी ओली पक्षकै नेताहरु हुन् । अर्का काठमाडौंमा रहने हिक्मत कार्की पनि गौरादहकै नेता हुन् ।

अन्ततः गौरादहमा सिंहदरबारबाट सञ्चालित र बालकोटबाट संरक्षित गुटबन्दीका कारण एमालेले हारेको स्थानीय नेताहरु बताउँछन् ।

एमाले नेताको लोकपि्रयता खस्किएकाले गौरदहमा एमालेको गढ भत्किएको उनीहरुको ठहर छ ।

गौरादहका स्थानीयवासीहरु एमाले नेता अधिकारी अधिकांश समय दमक नगरपालिकामा बस्ने गरेको बताउँछन् ।

‘अधिकांश समय दमकमा बस्ने अनि चुनाबको आसपास गाउँ छिरेपछि काहीँ जितिन्छ ?’, एकजना एमाले कार्यकर्ताले प्रश्न गरे ।

एमाले सविच एवं मेयरका पराजित उम्मदेवार मदन अधिकारीलाई अनलाइनखबरकर्मीले प्रश्न गर्दा उनले आफ्नो पराजयमा कार्यकर्ताको असहयोग नै प्रमुख कारण भएको बताए ।

अर्को कारण, एमाले बाहेकका सबै शक्ति बीच ‘अघोषित तालमेल’ भएको उनको भनाइ छ । उनका अनुसार यहाँ माओवादी केन्द्रको ७ हजार माथि मत आउनुपथ्र्यों । तर, ४ हजार मत कट्दै कटेन ।

मधेसवादी दलका पनि उम्मेदवार थिएनन् । अधिकारीको भनाइमा उनीहरु बीच अघोषित तालमेल भयो । राप्रपाको मत पनि कांग्रेसतिरै जाँदा आफूले पराजय ब्यहोर्नु परेको उनले तर्क गरे । उद्यपि, यस विषयमा स्थानीय कमिटीले छानविन गर्ने उनको भनाइ छ ।

गौरादहका एकथरि एमाले कार्यकर्ताहरु यहाँका नेता सांसद् दिपक कार्की र पोलिटब्यूरो सदस्य अग्नि खरेलबीच सम्बन्ध चिसिएको बताउँछन् । त्यसको प्रभाव निर्वाचनमा परेको बताइन्छ । मेयर बनेको खण्डमा मदन अधिकारी गौरादहमा स्थापित हुने भन्दै दीपक कार्की बाधक भएको पार्टी स्रोत बताउँछ ।

दीपक केपी ओली समूहकै भए पनि विगतमा आफूलाई मन्त्री नबनाएर अग्नी खरेललाई बनाएको भन्दै ओलीसँग असन्तुष्ट छन् ।

कानूनविदसमेत रहेका खरेल र उनको टीमलाई गौरादहमा स्थापित हुन नदिन दीपक कार्की हात धोएर लागिपरेको स्थानीय एमाले कार्यकर्ताको गुनासो छ ।

कार्यकर्ता भन्छन्- सिंहदरबारमै छन् अन्तरघाती

एमाले अध्यक्ष पाठक र सचिव अधिकारी जिल्ला पार्टीको जिम्मेदवार पदमा थिए । उनीहरुले पदीय दायित्व अनुसार तत् स्थानमा अन्य योग्य व्यक्तिलाई अवसर दिएर चुनाव जिताउन भूमिका खेल्नु पथ्र्यो । तर, त्यसो भएन, उनीहरु आफैं मेयर र अध्यक्ष बन्न दौडिए ।

‘समग्र जिल्लालाई कमाण्ड गर्नुपर्ने मान्छे, आफैं झोला झ्याम्टा बोकेर पदका लागि होमिएपछि के अवस्था होला ?’, एकजना एमाले कार्यकर्ताले प्रश्न गरे, ‘उम्मेदवारहरुको निर्णय गर्ने ठाउँमा बसेका मान्छेले आफैंलाई उम्मेदवार बनाए ।’

एमाले कार्यकर्ताकै भनाइलाई मान्ने हो भने यो कुराले एमाले मतदातामा ‘इरिटेसन’ पनि भएको हुनसक्छ । जहाँ पद पायो, त्यहीँ कुद्ने बानीले पनि अप्रत्याशित हार ब्याहोर्नु परेको हुन सक्ने एमाले कार्यकर्ता बताउँछन् ।

यस्तो अवस्थामा अध्यक्ष केपी ओलीले सार्वजनिक ठाउँबाट कार्यकर्ता र मतदातालाई किन सूर्यमा भोट हालेनौ भन्दै गाली गर्नुभन्दा पराजयको कारण सिंहदरबार र दमकतिरै खोज्नुपर्ने कार्यकर्ता बताउँछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?