Comments Add Comment

गाडी कर्जा दिने डिलरलाई राष्ट्र बैंकको विशेष सुविधा

२६ असार, काठमाडौं । सवारी कर्जा (हायर पर्चेज) दिन अनुमति पाएका अटो डिलरहरुले बैंकहरुबाट कर्जा लिदा पर्याप्त धितो राखेको अवस्थामा र पुरै बिमा गरेको अवस्थामा जतिवटा बैंक तथा वित्तीय संस्थाबाट पनि सहजसँग कर्जा लिन सक्ने भएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाबाट अटो डिलरले सवारी साधन, मेशिनरी जस्ता स्थिर धितो सुरक्षण राखेर त्यसको खरिद मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा लिएमा र सम्पत्तीको पूरा मूल्य बराबरको बिमा गरेमा सहवित्तीयकरण गर्न नपर्ने भएको छ ।

एकभन्दा बढि बैंकबाट एकै व्यक्ति वा संस्थाले रु १ अर्बभन्दा बढि कर्जा लिएमा त्यसैलाई बैंकहरुले सहवित्तीयकरण कर्जामा रुपान्तरण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, तोकिएको शर्त पुरा गरेका गाडी डिलरले लिएको कर्जामा भने यो व्यवस्था लागु नहुने भएको हो ।

सहवित्तीयकरण कर्जामा रुपान्तरण गर्दा एकै व्यक्ति वा संस्थालाई ऋण दिएका बैंकहरुमध्ये एउटा बैंकले त्यसको नेतृत्व लिने गर्दछ भने कर्जाको व्याज दर पनि सबै बैंकको समान हुने गर्दछ । यो व्यवस्थाले कर्जाको व्याजदरमा बैंकहरु अनुदार देखिएको र आफुहरुले बैंकहरु अनुसार व्याज दरमा मोलमोलाई गर्न नपाएकोमा ठुला ऋणीहरु असन्तुष्ट देखिदै आएका थिए ।

व्यवसायी नेपाल उद्योग वाणिज्य महसंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र संघको बैंक तथा वित्तीय संस्था समिति प्रमुख सौरभ ज्योतीले मौद्रिक नीति निर्माणको क्रममा सुझाव लिन आयोजना गरेको कार्यक्रममा नै सहवित्तीयकरण लागु नगर्न आग्रह गरेका थिए । राष्ट्र बैंकले केही शर्त सहित यो आग्रहको सम्बोधन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment