Comments Add Comment

भरतपुर प्रकरणः सर्वोच्च अदालतको सुनुवाई सरेको सर्‍यै

२६ असार, काठमाडौं । भरतपुर महानगरपालिकाको पुनः मतदान वा पुनः मतगणना सम्बन्धी विवादको टुंगो लगाउन सर्वोच्च अदालतमा सोमबारको सुनुवाई पनि हुन सकेन ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भरतपुर प्रकरणको सुनुवाईको पेशी तोकिएको थियो । तर, हेर्न नभ्याइने भन्दै साउन २ गतेका लागि सारिएको नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिए ।

भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई सरेको यो तेस्रो पटक हो । यसअघि दुई पटक सरि सकेको छ ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो । सबै कागजातहरु दुई साताअघिनै पेश भइसकेका छन् ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गर्‍यो । तर, आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् । एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसकेपछि मतपत्र च्यातिएको थियो ।

पछिल्लो गणनामा एमालेका देवी ज्ञवाली माओवादीकी रेणु दाहाल भन्दा ७८४ मतले अगाडि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment