Comments Add Comment

विश्वका शक्तिशाली नेताहरुले चढ्ने कार कति महंगा ?

२६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १६ करोड रुपैयाँको कार माग गरिएको चर्चाले सामाजिक सञ्जाल तातिएको छ । गरिब देशका राष्ट्रपतिलाई महंगो र विलासी कार किन्न लागिएको भनेर धेरैले आलोचना गरिरहेका छन् ।

विश्वका सबै देशहरुमा राष्ट्रप्रमुख, सरकारप्रमुखको सवारीलाई निकै संवेदनशीलरुपमा लिइन्छ र उनीहरुका लागि सवारीसाधन किन्दा धेरै कुरामा ध्यान पुर्‍याइन्छ । यद्यपि, कति मूल्यको कार किन्ने भन्ने कुरामा चाहिँ देशको आर्थिक हैसियतले पनि प्रभाव पार्छ । हामीले यहाँ विश्वका प्रमुख राष्ट्रहरुका राष्ट्र प्रमुख र सरकार प्रमुखले चढ्ने कारको मूल्य र सामान्य विशेषताको चर्चा गरेका छौं ।

१. बेलायति महारानी एलिजाबेथले १ करोड ५१ लाख ६७ हजार ५०० डलर अर्थात् करिब डेढ अर्ब रुपैयाँ पर्ने Bentley State Limousine चढ्ने गर्छिन् । यो कार उनकै लागि बनाइएको हो । सन् २००२ मा एलिजाबेथको गोल्डेन जुब्लीका अवसरमा ब्रिटिश कार उत्पादक कम्पनी बेन्टलेले यो कार बनाएर हस्तान्तरण गरेको थियो । यो कारको छत अग्लो छ भने ढोका ९० डिग्रीमा खुल्छ । यो विश्वकै सबैभन्दा महंगो कार मानिन्छ ।

२. अमेरिकी राष्ट्रपतिले चढ्ने कार Cadillac One को मूल्य १५ लाख डलर अर्थात् १५ करोड रुपैयाँ रहेको छ । १८ फिट लामो र ८ टन तौलको यस कारको ढोकामा ‘आर्मोर प्लेटिङ’ रहेको छ । यो कारलाई ‘द बिस्ट’ उपनाम दिइएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाका लागि यो कार बनाइएको थियो । यसमा नाइट भिजन सिस्टम रहेको छ भने अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महंगा कारका थुप्रै कलेक्सन छन् ।

३. चीनका राष्ट्रपति सि जिन पिङले Hongqi नामको कार चढ्छन्, जसको अर्थ हुन्छ रातो झण्डा । ८ लाख एक हजार ६ सय २४ डलर अर्थात् करिब ८ करोड रुपैयाँ मूल्यको यो चीनमा निर्मित सबैभन्दा महंगो कार हो । आठ सेकेन्डको अन्तरालमा यो कार जिरोबाट १०० किलोमिटरको गतिमा हुईकिन सक्छ । यो कार १८ फिट लामो, ६.५ फिट चौडा, पाँच फिट अग्लो र ३ हजार १ सय ५२ किलो वजनको छ ।

४. बेलायतकी प्रधानमन्त्री थेरेसा मेले औपचारिक सवारीका रुपमा Jaguar XJ Sentinel प्रयोग गर्छिन् जसको मूल्य चार लाख ५५ हजार २५ डलर रहेको छ । बुलेट प्रुफ शीशा, नाइटभिजन, टिटानीयम बडी यो कारका प्रमुख विशेषता हुन् ।

५. रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चढ्ने कार Mercedes S-Class Limousine को मूल्य २ लाख ५१ हजार ४ सय १७ डलर अर्थात् करिब अढाई करोड रुपैयाँ रहेको छ । यो एउटा बख्तरबन्द कार हो । यो कारको टायर पंचर हुँदा पनि ८० किलोमिटर प्रतिघन्टाको गतिमा ३० किलोमिटरसम्म कुद्न सक्छ ।

६. भारतीय राष्ट्रपति प्रणव मुखर्जीले Mercedes-Benz S600 (W221) Pullman Guard कार चढ्दै आएका छन् । यसको मूल्य १ लाख ८० हजार डलर अर्थात् करिब १ करोड ८० लाख रुपैयाँ रहेको छ । ग्रीनेड आक्रमणबाट पनि बच्न सक्ने सुरक्षा प्रणालीले यो कार सुसज्जित रहेको छ । कारको पछाडि जासुसी क्यामरा पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment