Comments Add Comment

मुग्लिन छल्दा कोटेश्वरमा जाम ! सांसदले सोधे-भत्ता नपाएर हो ?


२६ असार, काठमाडौं । पछिल्लो दिनहरुमा काठमाडौंको काटेश्वरमा जाम बढेको छ । पिक आवरमा दुई/तीन घन्टासम्म पनि जाममा बस्नु परेको गुनासो आउन थालेको छ । अरु बेला पनि आधा घण्टा बढी जाममा नबसी सुख्खै छैन ।

विशेष गरी रिंगरोड क्रस गर्ने र भक्तपुरतर्फबाट आउने सवारीलाई लामो समय जाम खेप्नुपर्ने अवस्था छ ।

कोटेश्वर चोकमा विहान ८ बजेबाट सुरु हुने जाम बेलुका ८ नबजी हट्दैन । जामले यात्रुलाई सास्ती त भएको छ नै, ट्राफिक प्रहरी पनि सवारी ब्यवस्थापन गर्न नसकेर हैरान छन् ।

ट्राफिक प्रहरी पनि पछिल्ला दिनमा कोटेश्वरमा जामको समस्या झनै बढेको स्वीकार्छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरका इञ्चार्ज तथा सहायक निरीक्षक राजकुमार भट्टराई सवारी ब्यवस्थापन चुनौतिपूर्ण बनेको बताउँछन् ।

मुग्लिन छल्दा कोटेश्वरमा जाम !

ट्राफिक प्रहरीका अनुसार सडक निर्माणका कारण पनि पछिल्लो दिनमा कोटेश्वर क्षेत्रमा सवारीको चाप बढेको छ तर, मुख्य कारण भने मुग्लिन हो ।

कसरी ? भन्ने प्रश्नमा ट्राफिकका कोटेश्वर इञ्चार्ज भट्टराई भन्छन्, मुग्लिनमा घन्टौ जाममा बस्नु पर्छ । यात्रा असुरक्षित र झन्झटिलो पनि भएको छ । यसले थर्दा वीपी राजमार्ग प्रयोग गर्ने सवारीको संख्या दोब्बर भन्दा बढी भएको छ ।’

वीपी राजमार्गको प्रयोग गर्ने राजधानी आउने सवारी बढेपछि कोटेश्वरमा जाम बढ्नै नै भयो । ‘वीपी राजमार्गमा गुड्ने सवारी काटेश्वरबाटै भित्रिने र बाहिरिने हो । विभिन्न सडक हुँदै यही चोकमा आउने सवारीलाई सबै रोकेर एकतर्फ मात्रै छोडेर पास गराउनुपर्छ’ सहायक निरीक्षक भट्टराई भन्छन्, ‘जाममा बस्ने सवारीको संख्या बढ्दा स्वतः जाममा बस्नुपर्ने समय अवधि बढ्छ । यसले यात्रुलाई सास्ती भएपनि हामीले सक्नेजति प्रयास गरिरहेका छौं ।’

मुग्लिनको बाटो सहज नभएसम्म काटेश्वरको जाम कम नहुने देखिएको ट्रापिक प्रहरीको निश्कर्ष छ ।

कलंकीको जाम ‘कनेक्सन’

भट्टराईका अनुसार आजभोलि कलंकीमा हुने जामले पनि कोटेश्वरसम्म असर गरेको छ । कलंकीमा अहिले अण्डरपास निर्माणको काम भइहेकाले जामको समस्या ब्याप्त छ ।

कलंकीबाट अहिले आधा-आधा घण्टामा जामबाट छुट्ने सवारी एकैपटक कोटेश्वर आइपुग्छन् । कलंकीबाट आएका सवारीले पनि सहज रुपमा कोटेश्वरबाट पास हुन पाउँदैनन् ।

यसबाट रिंगरोडमा नै सवारीका चाप बढ्दा काटेश्वरको जाम थपिएको छ । ‘कलंकीबाट जाम छुटेका सवारी एकैपटक कोटेश्वर आउँछन्, यहाँ जाम बढेका बेला कलंकीको जामको समस्या योसँगै जोडिन आएको छ’ सहायक निरीक्षक भट्टराई भन्छन् ।

जनशक्ति अभाव उस्तै

ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरमा इञ्चार्ज भगिराज रेग्मी अहिले विदामा छन् । उनको ठाउँमा बग्गीखनाबाट सहायक निरीक्षक भट्टराई कोटेश्वरमा खटिएका छन् ।

भट्टराईले सवारी ब्यवस्थापनको योजना बनाउन नसक्दा समस्या भएको गुनासो गर्नेहरु पनि छन् ।

तर, भट्टराई भने बिपी राजमार्गको चाप, कलंकीको जाम र पर्याप्त जनशक्तिको अभावका कारण नै कोटेश्वरमा समस्या बढेको दाबी गर्छन् । ‘हामीसँग काटेश्वरको चोकमा ४/५ जना ट्राफिक मात्रै छौं । प्रभाग अन्तरगतका ३५ जना ट्राफिकले बबरमहल, बानेश्वर, एरपोर्ट कार्गो, जडिबुटी, पेप्सीकोला र बालकुमारीको क्षेत्र समेटेर सवारी ब्यवस्थापन गर्नुपर्छ’ भट्टराई भन्छन् ।

जनशक्ति कम भएकाले निगरानी गर्न नसक्दा सार्वजनिक सवारीले जथाभावी रोकेर यात्रु चढाउने गरेको बताए । ‘एउटा सवारी गलत ठाउँमा रोकिनासाथ जाम सुरु भइहाल्छ, ट्राफिक देखे मात्रै नियम मान्ने संस्कृतिले बढी समस्या भएको छ’ भट्टराईले भने ।

सांसदले सोधे- भत्ता नपाएर हो ?

काटेश्वरमा खटिएका ट्राफिक प्रहरीले सवारी ब्यवस्थापनमा सबै जिम्मा ट्राफिकको नै हो भन्ने सोचले बढी समस्या भएको बताए । उनले नयाँ ईञ्चार्ज आएर जाम बढेको भन्ने हल्ला फिँजाइएको प्रति पनि असन्तुष्टि राखे ।

‘जाममा फसेका एक जना सांसदले त मलाई बोलाएरै सोध्नुभयो, जरिवानाबाट उठ्ने पैसाको भत्ता नपाएपछि जाम गर्दिनु भा’को हो ? भनेर’ एक ट्राफिकले भने, ‘धुलो धुँवामा ड्युटी गर्दा-गर्दै पानी पिउन नपाएर हाम्रो किड्नी गइसक्यो, जनताको मात्रै होइन, माननीयहरुको सोचाइ पनि त्यस्तै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment