Comments Add Comment

इजरायलमा कामदार पठाउन ‘कोरियन’ मोडल प्रस्ताव, नयाँ सम्झौताको तयारी


२७ असार, काठमाडौं । नेपालले इजरायलसामू कोरियासँग ‘रोजगार अनुमति प्रणाली’ (ईपीएस) जस्तै पद्धति लागू गर्न र कामको क्षेत्र बढाउन प्रस्ताव गरेको छ ।

वैदेशिक रोजगार विभागले इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीबा) सामू नयाँ सम्झौता गर्दा कोटा तोकेर केयरगिभर लैजाने पद्धति परिमार्जन गर्न प्रस्ताव गरेको छ । कोरियामा जस्तै कामदारको प्रारम्भिक छनौटका लागि नै भाषा परीक्षामा आधारित पद्धति लागू गर्नु पर्ने नेपाली पक्षको प्रस्ताव छ ।

नेपाली अधिकारीहरुले केयर गिभर बाहेकका सम्भाब्य क्षेत्रमा पनि कामदार लैजाने गरी सम्झौता गर्न नेपाली अधिकारीले जोड गरेका छन् । दक्ष नेपाली कामदारले इजरायलमा अन्य क्षेत्रमा पनि काम पाउने सम्भावना रहेकाले कामका क्षेत्र थप्नेबारे पनि छलफल भइरहेको विभागका अधिकारीहरुले बताए ।

किन कोरिया मोडल ?

अहिले इजरायल जान आवेदन दिएका हरुमध्येबाट चिठ्ठामार्फत छनोट गरेर परीक्षा लिइन्छ ।

तर, अब आवदेन बुझाएका सबैको भाषा परीक्षा लिन प्रस्ताव गरिएको विभागका निर्देशक मोहन अधिकारीले बताए । ‘हामी ईपीएस जस्तै गरी परीक्षा लिन सक्छौं, यसबाट आवेदकको गुनासा पनि सम्बोधन हुन्छ’ अधिकारीले भने, ‘योग्य ब्यक्तिले पनि अवसर पाउने भएकाले यस्तो प्रस्ताव गरेका हौं ।’

चिठ्ठाका आधारमा छनोट गर्दा विभागमाथि पनि प्रश्न उठेकाले इपीएस पद्धतिबाट परीक्षा गरेर उत्कृष्टलाई छनोट गरेर लैजान प्रस्ताव गरिएको निर्देशक अधिकारीले बताए ।

नेपालले एक लटमा जाने कामदार संख्या बढाउन पनि प्रस्ताव गरेको छ, जसमा इजरायलले सकारात्मक जवाफ दिएको छ । इजरायलले अहिले परीक्षण रुपमा वर्षमा ६० जना नेपाली कामदार मात्रै केयर गिभरका रुपमा लगिरहेको छ ।

इजरायल जान पाउने आशामा केयर गिभर र हिब्रु भाषाको तालिम लिनेको संख्या धेरै छ । तर, सीमित कोटा दिएको र प्रारम्भिक छनोटमा पनि चिठ्ठा पद्धति अपनाएको कारण रोजगारीका लागि इजरायदल जाने सपना देख्ने धेरै निरास छन् । चिठ्ठा प्रक्रियामा धाँधली हुने आशंका पनि उनीहरुले गर्दै आएका छन् ।

अहिले दोस्रो चरणमा इजरायल जाने नेपाली कामदारको अन्तिम नामावली सार्वजनिक भएको छ । यो चरणमा इजरायलले १८ जना पुरुष र ४२ जना महिलालाई केयर गिभरका रुपमा लैजाँदैछ । पहिलो चरणमा ५९ जनालाई लगिएको थियो ।

यो पटक केयर गिभरका रुपमा इजरायलमा जान १४ सय ७७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १०० जनालाई चिठ्ठामार्फत छानेर भाषा परीक्षा लिइएको थियो । अब इजरायलले नयाँ सम्झौता नभएसम्मका लागि थप एक लटको कोटा पठाउने जानकारी पनि दिएको निर्देशक अधिकारीले बताए ।

राम्रो गन्तव्य–इजरायल

कोरिया जान नसक्ने तर, खाडी र मलेसिया जान नचाहने नेपालीका लागि इजरायल राम्रो गन्तव्य मानिन्छ । स्वास्थ्यसम्बन्धी विषय लिएर अध्ययन गरेका नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना पनि छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयूमा उल्लेख छ । इजरायलमा विशेषगरी वृद्धवृद्धालाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयर गिभर लैजाने गरिएको छ ।

पहिलो चरणमा ५९ जना छनौट भएर इजरायल पुगेका थिए । उनीहरुले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउँछन् । यसरी इजरायल जान नेपाली कामदारले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चलगायत गरी लगभग ९५० डलरमात्रै तिर्नपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment