Comments Add Comment

परराष्ट्र सचिव मलेसियामा, श्रम सम्झौताबारे छलफल

२७ असार, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले द्विपक्षीय श्रम सम्झौतालाई निष्कर्षमा पुर्याउन मलेसिया सरकारसमक्ष आग्रह गरेका छन् ।

मलेसियाको औपचारिक भ्रमणमा रहेका सचिव बैरागीले मलेसियाली परराष्ट्र मन्त्रालयका समकक्षी दातो रामलान इब्राहिमसँग सोमबार भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनेदेखि मलेसियामा रहेका नेपाली कामदारहरुको हित प्रवद्र्धन र उनीहरुले भोगेका समस्याहरु समाधान गर्नेलगायत विषयमा छलफल गरेका छन् ।

सचिव वैरागीले केही समयदेखि छलफलमा रहेको द्विपक्षीय श्रम सम्झौतालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन जोड दिएका छन् । मलेसियामा कार्यरत नेपाली कामदारले भोग्नुपरेको समस्याहरु समाधान गर्ने उद्देश्यले केही समयदेखि दुई देशबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा वार्ता हुँदै आइरहेको छ । दुई देशबीचको सम्झौताले नेपाली कामदारको हित रक्षा गर्ने भएकाले नेपालकाे यसमा जाेड छ ।

वैरागीले राखेको प्रस्तावमा मलेसियाली परराष्ट्र मन्त्रालयका समकक्षीले सकारात्मक प्रतिक्रिया दिएको  नेपाली राजदूतावास, क्लालम्पुरले जानकारी दिएको छ ।

दुई देशका समकक्षीबीच नेपाल र मलेसियाबीच अफिसियल र कूटनीतिक राहदानीवाहकहरुलाई प्रवेशाज्ञा उन्मुक्ति दिने विषयमा समेत छलफल भएको छ ।

सचिव वैरागीले नेपालको पर्यटन, व्यापार तथा अन्य क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको जानकारी दिँदै मलेसियाका निजी क्षेत्रलाई नेपालकाे लगानीमा  प्रोत्साहित गर्न सके फाइदा पुग्ने जानकारी गराएका छन् ।

यसैबीच, आजै सचिव बैरागीले मलेसियाको मानव संशाधन मन्त्रालयका समकक्षी दातो श्री आदेनान बिन एबीसँग पनि यिनै विषयमा छलफल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment