Comments Add Comment

धरानको संयोगः ४५ वर्षदेखि धान्दैछ वामपन्थीको बिरासत

को हुन् एमालेका मेयर तारा सुब्बा र उपमेर मञ्जु भण्डारी ?

२७ असार, धरान । ०३० सालमा नगरपञ्चायत घोषणा भएदेखि धरानको इतिहास नै यस्तो रहँदै आयो कि वामपन्थी उम्मेदवारबाहेक कसैले पनि नगरलाई नेतृत्व गरेन । एमालेले धरान उपमहानगरपालिकामा ह्याट्रिक गरेको सन्दर्भमा यो प्रसंग पनि महत्वपूर्ण छ कि पञ्चायतकालमा पनि यहाँ तत्कालीन मालेका जनपक्षीय उम्मेदवारले चुनाव जित्थे ।

पञ्चमध्येका पनि ‘सुधारिएको धार’ बाट ०३० सालमा संस्थापक प्रधानपञ्च (कार्यवाहक) भए, कृष्णकुमार राई । उनी पञ्चायतभित्रकै, तर सधैँ कम्युनिष्ट निकटस्थको आरोप खेपेका नेता थिए । संयोगले धरानका संस्थापक मेयर उनै कृष्णकुमार राई अहिले एमालेकै तर्फबाट सुनसरी १ का सांसद छन् । जुन क्षेत्र धरान उपमहानगरले ओगट्छ ।

कृष्णकुमार ०३० देखि ०४३ सालसम्म लगातार धरानको प्रधानपञ्च भए । त्यसपछि तत्कालीन नेकपा मालेले कवि बम देवानलाई जनपक्षीय उम्मेदवार बनायो र उनले जिते । पञ्चायत ढलेपछि पनि धरान एमालेको लालकिल्लाकै रुपमा जोगियो । यद्यपि अहिले वम देवान एमालेमा छैनन् ।

त्यसैगरी ०४९ मा एमालेबाट ध्यानबहादुर राई मेयर बने । राई अहिले संघीय समाजवादी फोरमका नेता छन् । ०५४ मा एमालेकै मनोजकुमार मेयाङ्बोले मेयर जिते ।

तिनै मेन्याङबो ०६४ को संविधानसभा चुनावमा भने माओवादीका किरण राईसँग पराजित भए ।

हुन पनि, धरान उपमहानगरको राजनीतिक वातावरण लामो समयदेखि वामपन्थीहरुकै बर्चस्वबीच घुमिरहेको छ । यसपटक एमालेलाई धरान जित्न फलामको च्यूरा चपाउनु सरह भनिएको थियो । तर, सोमवार साँझ मतगणना सकिँदा करीव ५ हजारको फराकिलो अन्तरमा तारा सुब्बा र ७ हजार जतिको अन्तरमा मञ्जु भण्डारी उपमेयरमा निर्वाचित भए ।

साविकका पाँचकन्या र विष्णुपादुका गाविस धरान उपमहानगरमा गाभिएपछि धरानमा एमाले झन मजबुत भएको निर्वाचन परिणामले देखाएको छ ।

को हुन् तारा सुब्बा ?

तेह्रथुमको खाम्लालुङमा १८ माघ ०२३ सालमा जन्मिएका तारा सुब्बा १३ वर्षको उमेरमै पहिला झापा, गोलधाप र पछि धरान झरेका हुन् । ०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पाँचौको सांगठनिक गतिविधिमा लागे ।

उनले कक्षा ८ मा अध्ययनरत छँदा शैक्षिक शुल्क बृद्धिविरुद्धको आन्दोलनको नेतृत्व गरेर धरानमा चर्चा कमाएका थिए, ०४० सालमा । ०४२ मा एसएलसी दिएपछि उनले अखिलको धरान नगर कमिटी सम्हाले । ०४६ को जनआन्दोलनमा उनी धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा राखिए ।

प्रजातन्त्र बहालीपछि विद्यार्थी कार्यकर्ता तारा सुब्बाले आफ्नो राजनीतिक क्रियाशीलतालाई युवा आन्दोलनसँग जोडे । तत्कालीन मालेसम्वद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ) सुनसरीको उनी संस्थापक हुन् । उनले दुई कार्यकाल युवा संघ जिल्ला अध्यक्षको जिम्मेवारी निभाएपछि एक कार्यकाल केन्द्रीय सदस्य पनि भए ।

त्यसपछि उनी जिल्ला तहको पार्टी नेता रुपमा सक्रिय भए । ०५४ को स्थानीय निर्वाचनमा धरानलाई प्रतिनिधित्व गर्ने जिविसका इलाका सदस्य थिए । स्थानीय निकाय भंग भएपछि नगरपालिकाको राजनीतिक संयन्त्रमा उनले लगातार एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

उनले धरानलाई अत्याधुनिक र समृद्ध शहर बनाउने आफ्नो मुख्य उद्देश्य रहने जितपछि बताएका छन् । बहुधार्मिक र बहुसांस्कृतिक सम्पदाको धनी शहर भएका कारण पनि धरानलाई सांस्कृतिक र भौगोलिक गरी दुबैखाले पर्यटनको हबका रुपमा निर्माण गर्न आफू क्रियाशिल हुने सुब्बाले बताए ।

‘नेपाल भित्रिएका विदेशी हुन् वा आन्तरिक पर्यटक नै किन नहुन्, कम्तिमा एकचोटि धरान नछिर्दा पछुताउनुपर्ने गरी हामी धरानलाई विकास गर्दैछौँ’, मेयर सुब्बाले भने ।

धरानका लागि सबैभन्दा टड्कारो आवश्यकताको विषय खानेपानी व्यवस्थापनलाई सहज बनाउने काममा आफू तत्कालै लाग्ने सुब्बाले बताएका छन् । त्यस्तै आवास, खानेपानी, ढल र अन्य भौतिक पूर्वाधारहरुलाई व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुने बताए ।

अखिलबाट एनजिओ, एनजिओबाट उपमेयर

धरान उपमहानगरको उपमेयर निर्वाचित भएकी मञ्जु भण्डारी विद्यार्थी राजनीतिबाट एनजीओ हुँदै उपमेयरको कुर्सीमा पुगेकी छन् ।

सुनसरीकै इटहरी– ८ मा २ साउन ०३९ सालमा जन्मिएकी मञ्जु ०६४ सालमा एमाले जिल्ला पार्टी स्कुल विभाग प्रमुख मुरारी सुवेदीसँग विवाह गरेपछि धरानवासी भएकी हुन् । अर्थात्, धरानसँग उनको सोझो सम्बन्ध १० वर्षदेखिको मात्र हो ।

रामकुमारी झाँक्री र माधव ढुंगेल अध्यक्ष रहेको अनेरास्ववियुको केन्द्रीय कमिटीमा लगातार दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरिसकेकी मञ्जु ०५३ सालदेखि अखिलमा संगठित भएकी हुन् । उनलाई सांगठनिक कामका सिलसिलामा सेनाले ०५८ सालमा पक्रउ गरी केही दिन हिरासतमा राखेको थियो । ०६१ पनि शाही शासनविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकी थिइन् ।

उनले मानवअधिकार रेडियो स्रोता क्लबको जिल्ला अभियन्ता, बारुदी सुरुङ्ग प्रतिबन्ध अभियान, महिला तथा बालबालिकाको न्यायमा पहुँच परियोजनाअन्तर्गत जिल्ला संयोजक, धरान नगरपालिकाको सामाजिक परिचालन समिति सदस्यसहित दुई वर्षको सामाजिक विकास कार्यक्रमको मूल्यांकन समिति संयोजकजस्ता जिम्मेवारी बहन गरिसकेकी छन् । उनी धरान उपहानगर महिला सञ्जालको उपसचिवका रुपमा क्रियाशील छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment