Comments Add Comment

संशोधनमा सघाउन देउवाले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार, प्रचण्डले दिए तीन विकल्प

२७ असार, काठमाडौं । संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ ।

मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताए । उनले संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि विपक्षी एमालेलाई आग्रह गरेका थिए ।

तर, एमालेले देउवाको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नु पर्ने र त्यसपछि खुला छलफल गर्न सकिने बताए ।

एमालेका शीर्ष नेताहरुले नै यसअघि स्थानीय चुनावपछि छलफल गर्न सकिने बताउँदै आएका थिए । तर, मंगलबारको बैठकमा प्रदेश र केन्द्रको चुनाव सकेपछि मात्र यसबाट छलफल गर्न सकिने भन्दै अहिले संशोधनमा सहमति जनाउन नसक्ने बताएका छन् ।

प्रचण्डले दिए तीन विकल्प

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प अघि सारेका छन् । एक नेताले बताए अनुसार प्रचण्डको पहिलो विकल्प दलहरुको सहमतिमै संशोधन प्रस्ताव बनाउने र पास गर्नेछ ।

दोस्रो विकल्प अहिलेकै प्रस्तावलाई भोटिङमा लैजाने, सबैले परीणाम स्वीकार गर्ने, चुनावसम्म तेस्रो संशोधन प्रस्ताव होल्ड गर्ने र राजपालाई चुनावमा ल्याउन आवश्यक अन्य सबै माग पुरा गर्ने उनको प्रस्ताव छ ।

तर, शीर्ष नेताहरुको बैठकमा कुनै सहमति हुन सकेन । र, राजपासँग छलफल गरेर फेरि तीन दलको बैठक बस्ने सहमति भएको माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment