Comments Add Comment

कमल थापाको चौथो स्थानमा उपेन्द्र यादवको कब्जा !

फेरियो दलको हैसियत, संसदका दुई तिहाइ पार्टी पत्तासाफ

२७ असार, काठमाडौं । पहिलो चरणका २८३ र दोस्रो चरणका ३३४ स्थानीय तहमध्ये भरतपुर महानगरपालिका बाहेक सबै ६१६ स्थानीय तहको मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

दोस्रो चरणको अन्तिम मतपरिणाममा धरान उपमहानगरपालिकामा एमालेको जितसँगै आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको हो । दुवै चरणमा एमाले पहिलो र कांग्रेस दोस्रो बनेका छन् ।

पहिलो चरणमा २१ सिटले कांग्रेसलाई जितेको एमालेले दोस्रो चरणमा त्यो अन्तर बढाएर २९ पुर्‍याएको छ । कुल ६१६ स्थानीय तहको परिणाम आउँदा कांग्रेसलाई एमालेले ५० सिटको अन्तरमा दोस्रो बनाएको छ ।

पहिलो पार्टी बनेको नेकपा एमाले पहिलो चरणमा १२५ र दोस्रो चरणमा १५१ स्थानीय गरी कुल २७६ सिट जितेर एक नम्बरमा बसेको छ ।
त्यस्तै नेपाली कांग्रेसले पहिलो चरणमा १०४ र दोस्रो चरणमा १२२ स्थानीय तह जितेर कुल २२६ सिटसहित दोस्रो स्थान सुरक्षित गरेको छ ।

माओवादी केन्द्र पहिलो चरणमा ४६ र दोस्रो चरणमा ३८ स्थानीय तह जितेर कुल ८४ सिट सहित तेस्रो स्थानमा कायम रहेको छ ।

दोस्रो संविधानसभाको चुनावमा चौथो शक्ति बनेको राप्रपालाई स्थानीय चुनावमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोेरमले जितेको छ । संघीय समाजवादी फोरम ८ सिट जितेर चौथो ठूलो दल बनेको छ ।

पहिलो चरणमा संघीय र नयाँ शक्ति गठबन्धनबाट नयाँ शक्तिले एक सिट जितेको हिसाब गर्दा यो चुनावी मोर्चाले ९ सिट जितेको छ ।

त्यसैगरी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले ६ स्थानीय तह जितेर पाँचौं ठूलो दल बनेको छ । राप्रपा भने पहिलो चरणमा एक र दोस्रो चरणमा ४ स्थानीय तह जितेर ५ सिट सहित छैटौं स्थानमा रहेको छ । कमल थापाको राप्रपाभन्दा विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम ठूलो देखिएको छ ।

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पहिलो चरणमा एक र दोस्रो चरणमा दुई स्थानीय तह जितेर ३ सीट सहित सातौं स्थानमा छ । राजपा समिर्थत स्वतन्त्र उम्मेदवारले २ स्थानीय तह जितेर आठौं स्थानमा रहेका छन् ।

नेपाल मजदूर किसान पार्टी एक सिट जितेर नवौं स्थानमा छ ।

पहिलो चरणमा ३ सिट स्वतन्त्रले जितेकामा डोल्पामा जितेका स्वतन्त्र एमाले प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा एकजना स्वतन्त्र उम्मेदवार जितेका छन्, कपिलवस्तुको कृष्णनगरमा । उनी फोरमका बागी हुन् ।

संसदमा पत्ता चलाउनेको स्थानीय तहमा पत्तासाफ

स्थानीय चुनावले संसदमा रहेका धेरै दलहरुलाई अस्थित्वविहीन बनाइदिएको छ । नेकपा माले, नेकपा संयुक्त जस्ता संसदमा राजमो र नेमकिपा भन्दा बढी सांसद रहेका बामपन्थी दलले एउटा पनि स्थानीय तह जितेनन् । उनीहरुले पाएको मत समेत नगन्य देखियो ।

त्यस्तै थरुहट तराई पार्टी, जनमुक्ति पार्टी, परिवार दल, नेपा राष्ट्रिय पार्टी, अखण्ड नेपाल पार्टी, मधेस समता पार्टी, दलित जनजाति पार्टी, बहुजनशक्ति पार्टी जस्ता एक वा दुई सिटे सांसदवाला पार्टीले कुनै पनि आफ्नो अस्थित्व जोगाउन सकेनन् ।

सदावहार मन्त्री बन्ने प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी, हरिचरण साहको जनता पार्टी, आरके खम्बुको खम्बुवान दल र लोकनाथ ढकालको पार्टीले पनि कुनै वडा सदस्य समेत जितेनन् ।

संसदमा प्रतिनिधित्व गर्ने करीव दुई तिहाई राजनीतिक दल स्थानीय तहमा पत्तासाफ भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने यी अधिकांश दलले वडा तहमा समेत चुनाव जित्न सकेनन् । धेरैजसोले उम्मेदवार समेत पाएनन् ।

संविधानस संशोधनको बेला मन्त्री पदको पत्ता चलाएर सत्तापक्षलाई गणितमा सास्ती दिइरहेका एक सिटे र दुई सिटे साना दलको पत्ता स्थानीय तहमा भने कतै चलेन ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको मात्र स्थानीय तहमा दलीय हैसियत कायम रहेको छ ।

र, राजपालाई समेत जोड्ने हो भने ९ वटा दलको अस्थित्व देखिएको छ ।

अब प्रदेश र केन्द्रको चुनावमा पनि साना पार्टीहरुको स्थिति दयनीय हुन सक्ने संकेत स्थानीय चुनावले गरेको छ । यसको विकल्पमा साना पार्टीहरु या त राजपाजस्तै मोर्चाबन्दीतिर लाग्नुपर्ने हुन्छ, या त विसर्जनको बाटोमा जानुपर्ने अवस्थामा पुग्नेछन् ।

संसदमा प्रतिनिधित्व गर्नेमात्रै होइन पछि जन्मिएका विवेकशील नेपाली र साझा पार्टीले समेत दोस्रो चरणको चुनावसम्म आइपुग्दा परिवार दलको जतिको पनि हैसियत बनाउन सकेनन् । बाबुराम भट्टराईको नयाँशक्ति पार्टीको स्थिति विवेकशील र साझा पार्टीको भन्दा केही राम्रो देखिए पनि चुनावमा उसको हालचत पनि निराशाजनक देखिएको छ ।

फेरियो दलीय हैसियत 

स्थानीय तहको निर्वाचनले राजनीतिक दलहरुको आकार र हैसियतमा फेरबदल गरिदिएको छ । ०७० सालको संविधानसभा चुनावबाट पहिलो बनेको नेपाली कांग्रेस स्थानीय तह चुनावमा दोस्रो स्थानमा पुगेको छ ।

त्यस्तै साढे ३ वर्षअघिको चुनावमा दोेस्रो भएको एमाले स्थानीय तहको चुनावबाट पहिलो दलको हैसियतमा पुगेको छ । माओवादी केन्द्रले आफ्नो तेस्रो स्थान सुरक्षित गरेको छ । यद्यपि दोस्रो र तेस्रोको अन्तर बढेको छ । र, तेस्रो र चौथोको अन्तर पनि बढेको छ ।

०७० को संविधानसभा चुनावबाट चौथो ठूलो दल बनेको राप्रपाले भने आफ्नो हैसियत स्थानीय तहमा गुमाएको छ । राप्रपा चौथोबाट छैटौं स्थानमा झरेको छ । संघीय समाजवादीसँग एकीकरण गरेपछि पाँचौं ठूलो दल बनेको संघीय समाजवादी फोरम स्थानीय तहमा चौथो स्थानमा पुगेको छ । उसले नयाँ शक्ति पार्टीसँग चुनावी सहकार्य गरेको छ ।

विजय गच्छदारले आफ्नो हैसियत छैंटौंबाट पाँचौंमा उकासेका छन् । सातौं स्थानमा राष्ट्रिय जनमोर्चा पुगेको छ । राजपाले आधिकारिक रुपमा चुनावमा भाग नलिएका कारण उसको दलीय हैसियत नरहे पनि स्वतन्त्रबाट उसका कार्यकर्ताले २ ठाउँमा जितेका छन् ।

राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी जस्ता साना बामपन्थी दलहरुले आफ्नो हैसियत यथावत राखेका छन् । राजमो बागलुङ र प्युठानमा आफ्नो अस्थित्व कायम राख्न सफल भएको छ भने नेमकिपाले भक्तपुर नगरपालिकालाई आफ्नो किल्लाका रुपमा सुरक्षित राखेको छ ।

महानगरमा कांग्रेस-एमाले बराबरः उपमहानगरमा एमालेको कब्जा

दुबै चरणमा चुनाव भएका ५ महानगरपालिका र ८ उपमहानगरपालिकामध्ये एमालेले अग्रता कायम गरेको छ । एमालेले काठमाडौं र पोखरा महानगरपालिका जितेको छ भने कांग्रेसले ललितपुर र बिराटनगर महानगरपालिकामा जितेको छ । काठमाडौंको उपमेयर भने कांग्रेसले नै जितेको छ ।

भरतपुर महानगरको परिणाम आउन बाँकी छ । त्यहाँको मेयरमा एमालेको अग्रता छ भने उपमेयरमा कांग्रेसको अग्रता छ । तर, भरतपुरको मतपत्र च्यातिएका कारण विवाद अदालतमा विचाराधीन छ ।

महानगरमा बराबरीजस्तै भए पनि एमालेले उपमहानगरहरुमा भने कांग्रेसको भन्दा बढी सफलता हात पारेको छ । पहिलो चरणको एकमात्र उपमहानगरपालिका हटौंडा जितेको एमालेले दोस्रो चरणका ७ मध्ये ५ उपहानगरमा कब्जा जमाएको छ ।

एक नम्बर प्रदेशका दुवै उपमहानगरपालिका इटहरी र धरानमा एमालेले बिजय हासिल गरेको छ । त्यस्तै ५ नम्बर प्रदेशका तीन उपमहानगरपालिका बुटवल, घोराही र तुलसीपुर जितेर एमालेले दुई तिहाई उपमहानगरमा नेतृत्व जमाएको छ ।

कांग्रेसले एउटा मात्र उपमहानगरपालिका धनगढीमा जितेको छ । राप्रपाले नेपालगञ्ज उपमहानगरपालिका जितेको छ ।

माओवादी केन्द्रले कुनै पनि उपमहानगरपालिका जित्न सकेको छैन । भरतपुर महानगरपालिकामा माओवादी र एमालेको प्रतिस्पर्धामा रहेकै बेला मतपत्र च्यातिएको छ । त्यहाँको नतिजाले माओवादीलाई महानगरविहीन बनाउने हो वा एउटा महानगरमा जिताउने हो, टुंगो छैन ।

नगरपालिकामा दोस्रो चरणमा कांग्रेसको सुधार

जनसंख्या, मतदाता र साधन स्रोतको हिसाबले महानगरपालिका र उपमहानगरपालिकाहरुको जित आशन्न प्रदेश र संघीय संसदको चुनावमा महत्वपूर्ण हुने भएकाले पनि दलहरुको ध्यान ती ठाउँ जित्नेमा थियो ।

समग्रमा महानगर र उपमहानगरमा एमालेले सफलता पायो । मतदाता र जनसंख्याको हिसाबले गाउँपालिका भन्दा दोब्बर वा तेब्बर तथा साधन स्रोत र सहरीकरणका कारण रणनीतिक महत्वका मानिने नगरपालिकाहरुमा पनि एमालेले धेरै जित निकालेको छ ।

एमालेले पहिलो चरणमा महानगर, उपमहानगर र नगरपालिका गरी ५३ नगरमा जितेको थियो । दोस्रो चरणमा ५८ नगर जितेको छ । एमालेका भागमा दुई महानगर, ६ उपमहानगरसहित ११३ नगरको नेतृत्व पुगेको छ ।

त्यस्तै कांग्रेसले पहिलो चरणमा एक महानगर सहित ३२ नगरमा जितेको थियो । यसपटक १ महानगर र एक उपमहानगरसहित ४६ नगर जितेर एमालेभन्दा १२ स्थानले पछि परेको छ ।

नगरपालिकाहरुमा पहिलो चरण भन्दा कांग्रेसले दोस्रो चरणमा सुधार गरेको छ ।

पहिलो चरणमा शहरी जनमत कांग्रेससँग प्रधान न्यायाधीशमाथिको महाअभियोग र आइजिपी प्रकरण लगायतका अलोकपि्रय कामका कारण भड्किएको थियो । दोस्रो चरणमा कांग्रेसले त्यस्ता अभियोग कम सामना गर्नुपरेको थियो ।

माओवादीले महानगर र उपमहानगरतर्फ खाता खोल्न नसके पनि दुई चरणमा गरेर १९ नगरपालिका जितेको छ । पहिलो चरणमा १० नगरपालिका जितेको माओवादी दोस्रो चरणमा ९ नगरपालिकामा कायम रहृयो ।

जिल्ला सदरमुकामहरु कसले कहाँ जिते ?

जिल्ला सदरमुकाम रहेका धेरैजसो नगरपालिका एमालेले जितेको छ । प्रदेश नम्बर १ मा ताप्लेजुङ, इलाम, झापा, संखुवासभा, तेह्रथुम, उदयपुर, धनकुटा, खोटाङ, ओखलढुंगा जिल्ला सदरमुकामका नगरपालिका एमालेले जितेको छ ।

कांग्रेसले पाँचथर, भोजपुर, सोलुखुम्बु, मोरङ र सुनसरी सदरमुकाम जितेको छ ।

त्यस्तै प्रदेश नम्बर ३ मा रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, नुवाकोट, रसुवा, मकवानपुर, काठमाडौंमा पनि सदरमुकाम एमालेले जितेको छ । यो प्रदेशमा माओवादीले सिन्धुपाल्चोक र कांग्रेसले धादिङ र ललितपुरमा सदरमुकाम जित्न सफल भएका छन् ।

४ नम्बर प्रदेशमा लम्जुङ,  स्याङजा, कास्की, मनाङ, बागलुङमा एमालेले सदरमुकाम जित्यो भने कांग्रेसले तनहुँ, म्याग्दी, पर्वत र गोरखा सदरमुकाम जित्यो ।

५ नम्बर प्रदेशमा एमालेले रुपन्देही, पाल्पा, गुल्मी, दाङ सदरमुकाम जित्यो भने कांग्रेसले कपिलबस्तु, बर्दिया, अर्घाखाँची सदरमुकाम जित्यो ।

माओवादी केन्द्रले रोल्पा र राजमोले प्युठान सदरमुकाम जिते । राप्रपाले बाँके सदरमुकाम जित्यो ।

६ नम्बर प्रदेशमा एमालेले डोल्पा, कालिकोट, दैलेख, जाजरकोट सदरमुकाम जित्यो । कांग्रेसले सुर्खेत, सल्यान, जुम्ला, मुगु सदरमुकाम जित्यो । माओवादीले रुकुम सदरमुकाम जित्यो ।

७ नम्बर प्रदेशमा एमालेले कञ्चनपुर, डडेलधुरा, बझाङ, डोटी र अछाम सदरमुकाम जित्यो भने कांग्रेसले कैलाली, बाजुरा, दार्चुला, बैतडी सदरमुकाम जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment