Comments Add Comment

रिंगरोडमै ट्रक र टिप्पर सञ्चालनमा रोक, तोकियो समय सीमा

२७ असार, काठमाडौं । सरकारले भोलि (बुधबार)बाट काठमाडौंको चक्रपथ (रिंगरोड)मा पनि ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न रोक लगाउने भएको छ । सवारी जाम हुने ‘पिक’ समयमा रिंगरोडमा पनि ट्रक, टिप्पर र मिनि ट्रक रोक लगाउने निर्णय भएको हो ।

यातायात ब्यवस्था विभागको पहलमा मंगलबार बसेको सरोकारवालाको बैठकले जाम बढी हुने समयमा रिंगरोडमा ट्रक/टिप्परलाई सवारीलाई प्रवेश र सञ्चालन गर्न नदिने निर्णय गरेको हो । रिंगरोडमा पनि अब यस्ता सवारीले समयसीमा हेरेर मात्रै सवारी सञ्चालन गर्न पाउनेछन् ।

भोलि बुधबारदेखि विहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा पनि चल्न नदिइने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

२७.२ किलोमिटरको चक्रपथमा अब पिक आवरमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालन भए ट्राफिक प्रहरीले कारवाही गर्ने पाण्डेले बताए ।

‘रिंगरोडमै पनि सवारी जामको समस्या उच्च भयो, कलंकी, कोटेश्वर, गौशाला, चाबहिल लगायत क्षेत्रमा धेरै बेर जाम हुँदा यात्रुले सास्ती पाए,’ पाण्डेले भने, ‘त्यसैले हामीले जाम हुने मुख्य समयमा ट्रक, टिप्पर मिनि ट्रकलाई चल्न नदिने निर्णय गर्‍यौं ।’

ट्रक तथा टिप्पर ब्यवसायी महासंघ, राष्ट्रिय यातायात ब्यवसायी महासंघ लगायतका सरोकारवा पनि सहभागी बैठकले यो निर्णय गरेको छ । रिंगरोडभित्र ट्रक, टिप्पर र मिनि ट्रक विहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने ब्यवस्था पनि कायम राखिएको छ ।

अब ट्राफिक प्रहरीले पनि तोकिएको समयभित्र रिंगरोड आउने ट्रक/टिप्परलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ । साउन १ गतेदेखि बसहरु बसपार्कबाटै छुट्नुपर्ने र सिधै कलंकीबाट बाहिरिनुपर्ने निर्णय समेत भएको छ ।

अहिले बसपार्कबाट छुटेका बस कोटेश्वर हुँदै कलंकी जाने गर्दा पनि समस्या भएको सरकारको निष्कर्ष छ ।

अब पुराना बसपार्कबाट छुट्ने बस पनि सीधा आफ्नो रुटबाटै जानुपर्ने ब्यवस्था लागू हुँदैछ । यसबाट उपत्यकाको सवारी ब्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको प्रवक्ता पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment