Comments Add Comment

संविधान संशोधन रोकेर चुनावमा आउन राजपा सकारात्मक

एमाले र राप्रपाका कारण सरकार पछि हट्यो


२८ असार, काठमाडौं । दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए । तर, प्रमुख विपक्षी एमालेले सहमति जनाएन । र, राप्रपाको अन्तरविरोध पनि हल भएन, जसले गर्दा संविधान संशोधन प्रस्तावमा दुई तिहाई बहुमत नपुग्ने अवस्था देखियो ।

यही अवस्थामा संशोधन विधेयकलाई संसदमा निणयार्थ पेश गर्दा राप्रपाकै केही सांसदले भोट नहाल्ने र फेल हुने अवस्था रहेको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

मंगलबार साँझ राष्ट्रिय जनता पार्टीका नेताहरुलाई बोलाएर कांग्रेस र माओवादी नेताहरुले संविधान संशोधनका लागि दुई तिहाई नपुग्ने अवस्था आएको जानकारी दिएका थिए ।

राजपा चुनावमा आउन सकारात्मक

नेताहरुका अनुसार भोटिङमा लगेर फेल गर्नु भन्दा अब संशोधन विधेयकलाई फेरि होल्ड गर्ने समझदारी भएको छ ।

यसमा राजपा सकारात्मक छ । स्रोतका अनुसार मंगलबार साँझ भएको कांग्रेस र माओवादी नेताहरुसँगको बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संशोधन पारित हुँदैन भन्ने आफूहरुलाई जानकारी रहेका बताए । भोटिङमा लगेर एमालेलाई ‘एक्सपोज’ गरौं भने पनि एमाले आफैंले संशोधन हुन दिन्नौं भनेकाले यथास्थितिमा राख्न उपयुक्त हुने उनको समेत राय रहेको एक नेताले बताए ।

यद्यपि बैठकमा सहभागी राजपाका अन्य नेताहरुले भने संशोधनका लागि अझै प्रयत्न गर्नु पर्नेमा जोड दिएका छन् ।

बैठकमा राजपाका नेता ठाकुरले संविधान संशोधन विधेयक होल्ड गरे पनि चुनाव आउन अन्य वातावरण बनाइदिनु पर्नेमा जोड दिएका छन् । मुद्दा फिर्ता, सहिद घोषणा लगायतका माग सम्बोधन गर्नुपर्ने उनले बताए ।

सत्तारुढ दलका नेताहरु यसमा सकारात्मक छन् । र, गम्भीर अपराधमा घटनामा प्रत्यक्ष संलग्न बाहेकको मुद्दा फिर्ता लगायतका माग सम्बोधनका लागि गृहकार्य सुरु भइसकेको सत्तारुढ दलका एक नेताले जानकारी दिए । उनले भने, ‘राजपाका नेताहरुले संविधान संशोधन नभई चुनावमा आउँदै आउँदैनौं भनेका छैनन् । उहाँहरु चुनावमा आउने वातावरण बनाउनुपर्छ । त्यसका लागि गृहकार्य सुरु भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment