Comments Add Comment

के तपाईंले कम्प्युटर रिफ्रेस गरिरहनु हुन्छ ? असर यस्तो छ


के तपाईंले पनि डेस्कटप वा ल्यापटप खोल्ने बित्तिकैदेखि रिफ्रेस गर्न सुरु गर्नुहुन्छ ? धेरै मानिसको बानी हुन्छ कि माउसलाई राइट क्लिक गरेर टिकटिक रिफ्रेस गरिरहने ।

कसैकसैले त लगातार यसो गर्छन् । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यसरी रिफ्रेस गरिरहनाले कम्प्युटरमा असर पर्छ कि पर्दैन ?

एक अध्ययनअनुसार, हरेक १० जनामध्ये ९ जना विन्डोज प्रयोगकर्ताहरुले अत्यधिक रुपमा कम्प्युटर रिफ्रेस गरिरहन्छन् । भनिन्छ, सबै विन्डोज प्रयोगकर्ताको बीचमा रिफ्रेस कार्य नै कम्प्युटरको सबैभन्दा साझा विशेषता होला ।

कहिलेकाहिँ कम्प्युटर ह्यांग भएर रिफ्रेस गर्न आवश्यक परेकैले रिफ्रेस गरिन्छ । तर धेरै मानिस यस्ता हुन्छन् जसले रिफ्रेस गरेमा के हुन्छ ? भन्ने नजानिकनै रिफ्रेस गरिरहन्छन् ।

कतिपयले त नजिकै बसिरहेका अरु मानिसले रिफ्रेस गरिरहेको देखेर आफूले पनि त्यसै गर्छन् । कतिपय मानिसले सोच्दछन् कि रिफ्रेस गर्नाले कम्प्युटरको र्याम रिफ्रेस हुन्छ र कतिपयलाई लाग्छ यसबाट कम्प्युटर फास्ट चल्छ ।

कतिपयले त कम्तिमा पनि ३० सेकेण्डसम्म लगातार रिफ्रेस गरिरहन्छन् । धेरै मानिसले बटन थिचेर लामै समय रिफ्रेस गर्ने गरेको पाइन्छ ।

रिफ्रेस गर्नाले कम्प्युटरमा के असर पर्दछ ?

रिफ्रेस गर्नाले कम्प्युटरको डिस्प्लेमा देखिने आइकनहरु हल्लिनु बाहेक अरु केही पनि हुँदैन । यसबाट र्याम रिफ्रेस हुँदैन । डेस्कटप रिफ्रेस गर्नाले कम्प्युटर फास्ट हुने भन्ने होइन । यसको कुनै प्रभाव नै हुँदैन ।

आखिर रिफ्रेस टूलको काम के हो ?

रिफ्रेस टूल भनेको डेस्कटपको आइकनलाई रिडिस्प्ले गर्नका लागि हो । कहिलेकाहिँ तपाईंले डेस्कटप आइकनमा बदलाव गर्नुहुन्छ र यसो गर्दा आइकनहरु तत्काल देखिँदैनन् । यस्तोमा जब रिफ्रेस गर्नुहुन्छ तब सबै आइकन डेस्कटपमा देखिन थाल्छन् ।

यदि तपाईंको डेस्कटपमा सबै आइकन भए भने तपाईंले त्यसलाई अल्फाबेटिकल्ली सेट गर्न सक्नुहुन्छ । सेट गरिसकेपछि यदि केही नयाँ आइकन थप गर्नुभयो भने त्यो सबैभन्दा तल बस्दछ । यस्तोमा जब तपाईंले रिफ्रेस गर्नुहुन्छ तब नयाँ आइकन पनि वर्णानुक्रम अनुसार सेट हुन्छ । यसबाहेक रिफ्रेसको कुनै काम छैन ।

मानिसहरु लगातार किन रिफ्रेस गर्दछन् ?

विन्डो क्लबका अनुसार बढि रिफ्रेस गर्ने आदत भएका मानिसहरु कम्पल्सिभ डिसअर्डर नामक समस्याबाट पीडित हुन्छन् ।

यो आनीबानी आम मानिसमा मात्र होइन कम्प्युटर इन्जिनियरहरुमा पनि हुन्छ । कतिपय इन्जिनियरहरु पनि F5 बटनमा मोहित हुन्छन् । विन्डो क्लबका अनुसार रिफ्रेस गर्ने यो कुरा बुझाइको कमी बाहेक केही होइन । त्यसैले यो आदत समाप्त गर्नु आवश्यक छ ।

यदि तपाईंमा पनि कम्प्युटर रिफ्रेस गरिरहने बानी वा अन्धविश्वासबाट ग्रस्त हुनुहुन्छ भने निश्चिन्त भएर त्यसलाई बन्द गर्नुहोस् । रिफ्रेसले तपाईंको कम्प्युटर फास्ट गराउने होइन, समय मात्र बर्बाद गरिरहेको हुन्छ । यदि अरुलाई पनि रिफ्रेस गरिरहेको देख्नुभयो भने बुझाइदिनुहोस् कि यसरी रिफ्रेस गर्नुको तुक के हुन्छ ?

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment