Comments Add Comment

‘केही साथीहरु नयाँ शक्तिलाई छिरल्न खोज्दै हुनुहुन्छ’

जलेर बस्नुभन्दा मन लागेको पार्टीका गए हुन्छः दाहाल

२९ असार, काठमाडौं । नयाँशक्ति पार्टी नेपालका संसदीय मामिला प्रमुख रहेका केशव दाहाल नेतामात्र होइनन्, राजनीतिक विश्लेषक एवं लेखकसमेत हुन् । नेकपा एमालेका पूर्वनेता दाहालले इटहरीका अर्का सहकर्मी डम्बर खतिवडासँग मिलेर केही वर्ष अगाडि ‘वैकल्पिक विचार मञ्च’ गठन गरेका थिए । पछि एमाले नेताद्वय खतिवडा र दाहाल डा. बाबुराम भट्टराईको नयाँशक्ति पार्टीमा समाहित भए ।

स्थानीय निर्वाचनपछि नयाँशक्ति पार्टीमा एक प्रकारको निराशा देखिएको छ । केही पूर्वमाओवादी नेताहरु प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा र्फकन थालेका छन् भने केही र्फकने लाइनमा रहेको चर्चा छ । स्वयं डा. बाबुराम भट्टराईले समेत संयोजक पद नयाँ पुस्तालाई हस्तान्तरण गर्न लागेको चर्चा बजारमा आएको छ ।

यही परिवेशमा हामीले राजनीतिक विश्लेषक एवं नयाँशक्ति पार्टीका नेता दाहालसँग अब नेपालमा नयाँ वैकल्पिक राजनीतिक पार्टीको भविश्य कस्तो छ भन्ने विषयमा लेखाजोखा गर्ने प्रयास गरेका छौंः

तपाईहरुले नयाँ शक्ति पार्टी बनाउनुभन्दा पहिले नै इटहरीमा ‘वैकल्पिक विचार मञ्च’ गठन गर्नुभएको थियो । अहिलेको चुनावमा इटहरीमा तपाईहरुको खासै प्रभावकारी भूमिका देखिएन । कहाँनेर असफल हुनुभयो ?

वैकल्पिक विचार मञ्च असफल भएको होइन । जतिखेर माओवादी जनयुद्ध र जनआन्दोलन सम्पन्न भयो र हामी संविधान निर्माणको प्रक्रियामा गयौं, राष्ट्रिय राजनीतिका विभिन्न एजेण्डाहरुमा बहस पनि सुरु भयो, त्यसबेला हामीलाई के लाग्यो भने यसबारेमा एउटा बिहंगम बहसको खाँचो छ ।

खासगरी नेपाली राजनीतिमा चलिरहेका विचार पद्दतिहरु के हुन्, ती विचार पद्दतिहरु कहाँनेर ठीक छन् र कहाँनेर तिनीहरुले नेपालको इतिहासलाई योगदान गरे ? कहाँनेर तिनीहरुको सीमा सकियो र अझ अगाडि जानका लागि हामीले कस्तो नयाँ विचार पद्दति समात्नुपर्छ ? यसमा हामीले छलफल गर्‍यौं ।

दोस्रो कुरा, हाम्रा राजनीतिक पार्टीहरु बन्ने प्रक्रिया एवं उनीहरुको आन्तरिक लोकतन्त्र र संरचनागत आयामहरु जे छन्, त्यही संरचनाबाट राजनीतिक पार्टीहरु बन्ने र ती पार्टी पार्टीहरुले नेपाली समाजको, नेपाली अर्थराजनीतिको नेतृत्व गर्न सक्छन् ? यी प्रश्नहरुमाथि अलि धेरै समीक्षा आवश्यक छ भन्ने हाम्रो दोस्रो एजेण्डा थियो ।

र, तेस्रो हाम्रो एजेण्डा चाहिँ राजनीतिक कार्यक्रममा थियो । यसमा हाम्रो प्रश्न के थियो भने नेपाल किन बनेन ? नेपालको आधुनिक इतिहासको कुरा गर्ने हो भने ००७ सालदेखि यता आउँदा हामीले ५०/६५ वर्ष त बिताइसक्यौं । उस्तै-उस्तै कालखण्डमा एउटा क्रान्ति सम्पन्न गरेका मुलुकहरु हाम्रै आँखा अगाडि छन् । भारत छ, चीन छ, सिंगापुर छ, मलेसिया छ । अरु पनि धेरै देशहरु छन्, जसले २० /३० वर्षमा आर्थिक विकास गरे, मानवीय सूचकांकहरु धेरै माथि पुर्‍याए । हामीले किन विकास गर्न सकेनौं ?

यसको एउटा कारण चाहिँ राजनीतिक कार्यक्रमहरु नेपालको परिवर्तन, विकास र सम्वृद्धिका जुन एजेण्डलाई पक्रनुपर्ने हो र जस्तोखालका राजनीतिक कार्यक्रमहरु आवश्यक छन्, त्यो चाहिँ हुन सकेन । त्यसैले विचार पद्दतिमा, पार्टी निर्माण र यसको संरचनाभित्र परिवर्तनका कार्यक्रमहरु बनाउने कुरामा विहंगम समीक्षा आवश्यक छ र त्यसको समीक्षा गर्दै वैकल्पिक विचारको निर्माण गर्नुपर्छ भनेर इटहरीबाट सुरु गरिएको त्यो एउटा वृहत बहस थियो ।

वीचैमा डा. बाबुराम भट्टराईसँग तपाईहरु मिल्न जानुको कारण चाहिँ के थियो ?

यसरी छलफल गर्दैगर्दा हामी काहीँ न काहीँ एउटा परम्परागत राजनीतिक शक्तिसँग सन्तुष्ट थिएनौं । र, अब विकल्प खोज्नुपर्छ भन्दै थियौं । विकल्प खोज्नका लागि दुईवटा बाटा थिएः

एउटा त लेख्ने पढ्ने र वौद्धिक चिन्तन गर्ने । र, अर्को राजनीतिक पार्टी बनाउने र त्यो पार्टीबाट व्यापक प्रयोग गर्ने । वौद्धिक चिन्तन मात्रै नगर्ने कि त्यसलाई एउटा प्रयोगबाट, राजनीतिक पार्टीबाट प्रयोग गर्ने ।

बहसमात्रै गर्नुभन्दा प्रयोग गर्दा वैकल्पिक राजनीति निर्माणका लागि अझ राम्रो हुन्छ भनेपछि हामी प्रयोग कसरी गर्ने भन्नेमा गयौं । राजनीति पार्टी बनाउने भन्ने कुरामा गइयो । यसरी जाँदाखेरि डा. बाबुराम भट्टराईसँग पनि हाम्रो कुराकानी भयो र नेपालमा एउटा वैकल्पिक राजनीति निर्माणका लागि इमान्दार प्रयत्न गरौं भन्ने निश्कर्षमा पुगियो । यो कुनै पुराना पार्टीहरुको विरोधको वा उनीहरुबाट निराश भएर निस्केको जमातको प्रयत्न होइन कि वास्तवमै मुलुकमा एउटा नयाँ युगलाई नेतृत्व गर्नका लागि अलि उदात्त, अझ धेरै लोकतन्त्रमा विश्वास गर्ने र अझ धेरै समुन्नत समाजवादमा विश्वास गर्ने पोलिटिकल पार्टी बनाउने हामीले अठोट गर्‍यौं, जसले सुशासनको कुरा गरोस् । सदाचारको कुरा गरोस् । पार्टीभित्रको उन्नत लोकतन्त्रको कुरा गरोस् र मान्छेले हेर्दाखेरि पनि आनन्द आओस् । त्यस्तो एउटा राजनीतिक पार्टीको परिकल्पना गरेर अगाडि बढौं न त भन्ने भावनाबाट हामीले यो पार्टी बनाउन प्रयत्न गरेका हौं । हामी बाबुरामजीसँग आएको पनि हैन, हामी सबै मिलेर एउटा पोलिटिकल पार्टी बनाउन खोजेको हो ।

कतिपय साथीहरुलाई के लाग्छ भने यिनीहरु बाबुराम भट्टराईसँग आए । तर, हामी कोही कसैसँग आएका होइनौं । हामीले मिलेर एउटा वैकल्पिक राजनीतिक पार्टी बनाऔं भनेर आएका हौं । र, यो एक वर्षको यात्रा विशुद्ध यही अभिष्टबाट अगाडि बढिरहेको छ ।

तर, तपाईहरुको अभियान आफ्नै कर्मभूमि इटहरीमै किन प्रभावकारी हुन सकेन ? अहिलेको चुनावले पनि त्यस्तै संकेत गरेको देखिन्छ…

यसका दुई/तीनवटा कारण छन् जस्तो लाग्छ मलाई । एउटा, इटहरीमा मात्रै प्रभावकारी हुन सकिएन भन्दा पनि राष्ट्रिय परिदृश्य के हो, त्यसले पनि फरक पारिहाल्छ । किनभने एउटा व्यक्ति प्रभावकारी भयो भएन भन्ने कुरा रहेन अब । हामी नयाँ शक्ति पार्टीमा रहिसकेपछि पार्टी आफैं कति प्रभावकारी भयो, स्वाभाविक हिसाबले त्यसको प्रभाव इटहरीमा पनि देखिने हो ।

हाम्रो पार्टीले नै कुनै स्टेपहरु आशातीत ढंगबाट अगाडि बढाउन सकेन । यसले गर्दा देशभरि नै आशातीत प्रभाव देखिएन । हुन त एकवर्ष मात्रै भयो हामीले पार्टी बनाउन सुरु गरेको । वीचमा चुनाव चिन्हको समस्या भयो । अरु धेरै पोलिटिकल लफडाहरुमा हामी फस्यौं । यसैकै ‘रिफ्लेक्सन’ हो, इटहरीमा पनि हामी प्रभावकारी हुन सकेनौं ।
जहाँसम्म व्यक्तिगत रुपमा पनि पहल गर्न सकिन्थ्यो होला, तर विगत एक वर्षदेखि हामी काठमाडौंमै रह्यौं । पार्टी निर्माणमा राष्ट्रिय तहबाट योगदान गरौं भनेर हामी आयौं, यसले चाहिँ इटहरीमै केन्दि्रत भएर हामीले काम गर्ने अवसर मिलेन ।

तेस्रो कुराचाँहि कहिलेकाँहि नेपाली राजनीतिको यो हेजीमोनी कांग्रेस, एमालेजस्ता पार्टीहरुमा यसरी मुखरित भयो कि त्यो वर्चश्व तोड्न सानो तागत र प्रभावले सम्भव हुने देखिएन । त्यसैको प्रभाव इटहरीमा पनि हो र देशैभरि पर्‍यो ।

स्थानीय चुनावमा जनताको मुख्य रोजाइ एमाले र कांग्रेस नै देखियो । तेस्रो विकल्पका रुपमा प्रचण्ड नेतृत्वको माओवादीलाई नै रोजेको देखियो । अब कांग्रेस र एमालेको विकल्प प्रचण्ड नै हुनेजस्तो देखियो । यो अवस्थामा तपाईहरुले बनाउन खोजेको नयाँशक्तिको औचित्य कहाँनेर बाँकी छ अब ?

मलाई त्यस्तो लाग्दैन । हामीले वृहत्तर राष्ट्रिय राजनीतिका मुद्दाहरुलाई पक्डिएर हेर्‍यौं भने कांग्रेस, एमाले र माओवादी एउटै पार्टी हुन् । यी पार्टीहरुमा धेरै तात्विक फरक छैन । नेताहरुका भाषण सुन्दा, दस्तावेजहरु हेर्दा काहीँ न काहीँ फरक छ कि जस्तो त लाग्छ, तर उनीहरुको राजनीतिक संस्कार संस्कृतिको कुरा गर्ने हो भने यी तीनवटै एउटैखाले पार्टीहरु हुन् । यी पार्टीहरु एउटा अर्कोको विकल्प हुन सक्दैनन् । नयाँ विकल्प बनाउनैपर्छ ।

त्यसैले यो प्रश्न जिवित छ । नयाँ पार्टीको औचित्य सकिएको छैन । नयाँ वैकल्पिक पार्टी बन्नुपर्छ । तर, प्रश्न चाहिँ के आउँछ भने वैकल्पिक पार्टी भनेरमात्रै बनाउने हो कि साँच्चै व्यवहारमै जनताले खोजेजस्तो पार्टी बनाउने ? यस प्रश्नमा बहस आवश्यक छ । तर, यी तीनवटै दलहरु वैकल्पिक पार्टीहरु हैनन् । नेपालमा वैकल्पिक पार्टीको आवश्यकता छ । संसारभरि नै छ ।

नेपाली कांग्रेसले भनेको जस्तो मोडेलको प्रजातज्त्रको युग सकियो । प्रत्यक्ष प्रजातन्त्र, समावेशी प्रजातन्त्रको युग आयो । हामीले संसारभरि नै यो बहस सुनिराखेका छौं । सुशासन र सदाचारको बहस अहिले संसारभरि नै चलिराखेको छ । नेपालका नयाँ हिसाबले राष्ट्रियताको परिभाषा गर्नुपर्ने, नयाँ हिसाबले विकास र सम्वृद्धिको कुरा गर्नुपर्ने युगमा हामी प्रवेश गर्दैछौं । यी पार्टीहरुले कहाँ यी कुरा गरिरहेका छन् र ? यी पार्टीहरु त परम्परागत पार्टीहरु नै हुन् । यिनीहरु एउटा अर्काको विकल्प हुनै सक्दैनन् ।

तर, प्रमुख दलहरुले नै चुनाव जितिरहँदा कसरी वैकल्पिक राजनीतिको ‘मार्केट’ फस्टाउला ?

राजनीतिक हिसाबले हामीले बहस गर्‍यौं भने अहिलेको युग, यो युगका पछिल्ला अन्तरविरोधहरु र ती अन्तरविरोध समाधान गर्नका लागि पुराना आइडियोलोजीहरुको सीमा सकियो । यसले पनि देखाउँछ कि एउटा नयाँ वैकल्पिक राजनीतिको, वैकल्पिक आइडियोलोजीको आवश्यकता छ ।

राजनीतिक संस्कार र संस्कृतिको कुरा गर्ने हो भने के यही हो त एउटा वडाध्यक्षले चुनाव जित्नका लागि ५० लाख खर्च गर्नुपर्ने ? हामीले खोजेको राजनीतिक संस्कार यही हो त ? हामीले देखिराखेका छौं, एउटा नेता सबैभन्दा धेरै भ्रष्ट छ । हामीले खोजेको यही हो त ?

हाम्रा युवाहरु अरबमा पसीना बगाइराखेका छन् । हाम्रा दलहरु एउटा वडाको चुनावमा ५० लाख खर्च गर्दैछन् । के यही हो त हामीले खोजेको नेपाली राजनीति ? के यही छल कपटबाट हामीले हाम्रो देशको लोकतन्त्रलाई बलियो बनाउन सक्छौं ? त्यसैले यो चिजले त नेपालमा शालीन वैकल्पिक राजनीतिको आवश्यकता छ भन्ने झन पुष्टि भएको छ ।

तर, म के भन्छु भने पुष्टि त भयो, तर बैकल्पिक भन्नेहरुले जनताले खोजेको जस्तो पार्टी दिन सक्छन् कि सक्दैनन् ? प्रश्नचाहिँ छ । तर, पुष्टि त भइसक्यो ।

नयाँशक्ति पार्टीले स्थानीय चुनावका विषयमा समीक्षा गरिरहेको होला । तर, सुरुमा पार्टी स्थापना गर्दा तपाईहरुको पक्षमा जुन माहौल देखिएको थियो, त्यसलाई बचाउन नसक्नुभएको हो ? कि होइन ? सुरुमा तपाईहरुले तरंग ल्याउनुभएको थियो, पछि लफडामा पर्दै जानुभयो । रामेश्वर खनाल, मुमाराम खनालहरुले पार्टी छाड्नुभयो । अहिले देवेन्द्र पौडेलहरु पनि पुरानै घरमा फर्किने भन्ने हल्ला सुनिँदैछ । यो के भएको हो ? तपाईहरु कहाँनेर असफल हुनुभयो ?

मलाई कस्तो लाग्छ भने हामी के गर्दैछौं, नेपालमा वैकल्पिक राजनीति निर्माणको महत्व र गरिमा के हो, यसलाई वोध गर्ने र आत्मसाथ गर्ने कुरामा मलाई लाग्छ, सबैमा उही लेबलको बुझाइ छैन ।

कतिपय साथीहरुलाई लाग्छ, नेपालमा मार्क्सवाद त आवश्यक छ नि, कहाँ मार्क्सवाद छाड्न सकिन्छ ? कम्युनिष्ट भएर यत्रो ३० वर्ष लागियो, अब कम्युनिष्टलाई छाड्नु ? बाहिर बैकल्पिक भने पनि उहाँहरुको मनमा चाहिँ वैकल्पिक त वैकल्पिक, तर कम्युनिष्ट वैकल्पिक भन्ने छ ।

हामीसँग अर्को पनि एउटा जमात हुन सक्छ, ०६२/०६३ पछि यत्रो उथलपुथल भो । यत्रो जातको कुरो गरियो । यत्रो जातीय मुक्तिको कुरा गरियो, पहिचानको कुरा गरियो । यो पनि कसरी छाड्ने ?

हामीले समृद्ध समाजवाद भन्यौं, समृद्ध समाजवाद भनेको एउटाले यो कम्युनिष्ट नै भनेको हो भन्छ । हामीले वाम लोकतन्त्र भन्यौं, एउटाले चाहिँ यो वाम भनेको त कम्युनिष्ट नै हो नि भन्दिन्छ । हामीले समावेशी भन्यौं, क्लष्टर भन्यौं, अर्कोले के बुझिदियो भने यो त जातीय पहिचानको कुरा हो नि । विकास समृद्धि ५ ‘स’ को मूल पक्ष हो, त्यसलाई अरु बाँकी चारवटा ‘स’हरुले योगदान गर्छन् भन्यौं हामीले । तर, मान्छेले कहाँ हुन्छ भनेर अर्को कुरा गरे ।

त्यसैले हामी एउटा उदात्त वैकल्पिक पार्टी निर्माणको जुन मिसनमा छौं, त्यो मिसनलाई वैचारिक राजनीतिक हिसाबले प्रष्टसँग बुझ्ने र त्यही हिसाबको आफ्नो सम्पूर्ण व्यवहार पद्दतिलाई ढाल्ने कुरामा हाम्रो थोरै कमी भयो । यो कमीले गर्दा जब हामी ‘कन्फ्युज्ड’ भयौं । यस्तो भएपछि स्वाभाविकरुपमा हाम्रो व्यवहार त्यो दिशामा जाँदैन । त्यसैको प्रभाव हामीमा देखियो ।

दोस्रो, हामीले उदात्त पार्टीको परिकल्पना गरेका हौं । हामीले लोकतान्त्रिक पार्टीको परिकल्पना गरेका हौं । हामीले असाध्यै अनुशासित, बोल्दा पनि दायाँवायाँ हेरेरमात्रै बोल्नुपर्ने पार्टीको परिकल्पना गरेका होइनौं । हामीले परिकल्पना गरेको त संयोजकलाई पनि कार्यकर्ताले प्रश्न उठाउन सक्ने पार्टी बनाउन खोजेको हो । हामीले भन्दै के भनेका हौं भने हाम्रो पार्टी अरुभन्दा यसकारणले फरक छ कि यहाँ कार्यकर्ताहरु सार्वभौम हुन्छन् । हामीले कार्यकर्ताको मातहतमा पार्टी बनाउने भनेका हौं । यो त धेरै ठूलो फरक कुरा हो नि त । यो सिद्धान्तको पार्टीले यसो यताउता हुनेवित्तिकै कारवाही गरिहालौं भन्दैन क्या Û तर, हामी अलि संकीर्ण हुने र कारवाहीतिर जाने दोस्रो यो कमजोरी भयो ।

बैचारिक राजनीतिक बुझाइमा पनि हामी तीनवटा/चारवटा धारमा बाँडियौं । अर्को, पार्टीभित्रको लोकतन्त्रको बुझाइमा पनि हामी अलि संकीर्णजस्तो भयौं ।
तेस्रो चाहिँ संगठन प्रणालीलाई जुन लेबलबाट व्यवस्थापन गर्नुपर्ने थियो, मान्छेलाई जुन लेबलबाट काम दिनुपर्ने थियो, पार्टीमा जुन लेबलको गतिशीलता आवश्यक थियो, त्यो हुन सकेन ।

यदि तपाईले उत्प्रेरित गर्नुभयो भने मान्छे भोकै हिँड्न तयार हुन्छ । उत्प्रेरित गर्नुभएन भने मान्छे अघाए पनि हिँड्दैन । यो उत्प्रेरित गर्ने कुरामा पनि आशातीत रुपमा काम गर्न सकिएन । केही व्यवहारिक समस्याहरु पनि भए ।

यी सबै समस्याहरुको परिणति के भयो भने हामीले पार्टी निर्माण गर्ने बेलासम्म जुनखालको आकर्षण दिन सक्यौं, विस्तारै हामीले केही स्टेपहरु ‘लुज’ गर्‍यौं । र, सुरुको आकर्षण हामीले कायम राख्न सकेनौं ।

अब नयाँशक्ति पार्टी चरम निराशातिर जान्छ कि फेरि अगाडि बढ्छ ? केही मान्छेहरु माओवादीमा र्फकन थालिसके…

चरम निराशामा जानुहुँदैन । म के भन्दैछु भने अब समग्र समीक्षा गरौं । समीक्षामात्रै होइन, सम्पूर्ण समीक्षा गरौं । चुनाव हारियो भनेर समीक्षा गरौं भनेको होइन । चुनाव त जित्ने हार्ने आफ्नो ठाउँमा छ, एउटा नयाँ पार्टी, विभिन्न सीमाहरुबाट हामी चुनावमा सहभागी भयौं । तर, पार्टी स्थापनाको एक वर्ष भयो । हामीले एक वर्ष बितायौं, अब समीक्षा त गर्नुपर्‍यो नि ।

त्यसैले म के भन्छु भने सम्पूर्ण समीक्षा गरौं र सम्पूर्ण पुनर्गठन गरौं । विचार, हाम्रो दैनिक व्यवहार र नेतृत्व विकास र जिम्मेवारी लगायत सबै कुरामा समीक्षा आवश्यक छ ।

अब अगाडि बढ्ने हो भने अब हाम्रा आन्तरिक कमजोरीहरु हटाउनुपर्छ । तपाईको अनुहारमा फोहोर छ भने ऐनामात्रै सफा गरे केही पनि पाउनुहुन्न । त्यसैले पहिले हामीले अनुहारको धुलो सफा गर्नुपर्छ । त्यसपछि चित्र स्पष्ट बनाउनलाई ऐना पनि सफा गरौं । त्यसपछि बाह्य फ्याक्टरहरुलाई कसरी आफ्नो अनुकूल लाने, त्यसमा छलफल गरौं ।

अहिले हामी समीक्षामा छौं । यसपछि हामी अगाडि बढ्छौं । पछाडि र्फकने त कुरै छैन । बिग्रेको के छ र पछाडि फर्किने ? पार्टी बनाएको एक वर्ष भयो । हामी चुनावमा सहभागी भयौं । हाम्रा एजेण्डाहरु जनताका वीचमा लग्यौं । हामीले गर्वसाथ सगरमाथा चढ्न खोजेको हो । सगरमाथा चढ्दा कहिलेकाँहि भनेकै मितिमा चढ्न सकिँदैन । बेसक्याम्प फर्कौं, फेरि छलफल गरौं अनि फेरि चढौं । सगरमाथा चढ्ने मान्छे म असफल भएँ भनेर निराश हुनुपर्ने के कारण छ ?

चुनाव सकिएलगत्तै डा. बाबुराम भट्टराईले पार्टीको नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको हो ?

हैन । हामी दोस्रो चरणको चुनावपछि एक सातासम्म बाबुरामजीसँगै छौं । हामी छलफल गरिराखेका छौं । यो सबै छलफलमा उहाँले भनेको एउटै कुरा हो, नेपालमा वैकल्पिक राजनीतिको खाँचो छ र यो खाँचोलाई पूरा गर्नका लागि यो कार्यभार हामीबाहेक अरुले बोक्न सक्दैन । यसका लागि म अहिले ६२ वर्षको भएँ, ७० वर्षसम्म म नेतृत्व गर्छु, मलाई तपाईहरुले साथ दिनुपर्छ ।

तर, बाबुरामजीले नेतृत्व छाड्न लागेको चर्चा बजारमा कसरी आयो त ?

मलाई लाग्छ, जो साथीहरुले यस्तो कुरा ल्याउनुभयो, या त उहाँहरु नियतवस यही पार्टीभित्र नेतृत्व प्राप्त गर्न चाहनुहुन्छ र एकचोटि टेस्ट गरौं न त भनेर ल्याउनु भो । कि त साथीहरु यो पार्टी फेरि एकखालको भ्रम सिर्जना गरेर छिरल्न खोज्दै हुनुहुन्छ । नत्र डाक्टर साहेबले त्यो भनेको मलाई थाहा छैन ।

हाम्रो टीमभित्र भएको कुरा के हो भने उहाँ अझै ५/७ वर्ष यो पार्टीभित्र नेतृत्व गर्ने र अगाडि जाने भन्नेमा स्पष्ट हुनुहुन्छ । अझ बाबुरामजीले साथीहरुलाई उत्साह थप्दै भनेको कुरा के हो भने जिसस क्राइस्ट मर्दाखेरि उनीसँग एक जनामात्रै चेला थिए । अहिले क्राइस्टलाई मान्नेहरु संसारमा कति छन् ? कार्ल मार्क्सको समाधिमा ११ जना मान्छेहरु सहभागी थिए । तर, पछि लाखौं मान्छेहरु मार्क्सवादको रक्षाका लागि लडे र मरे । त्यसैले विचार भन्ने कुरा कहाँ त्यसरी सजिलै स्थापित हुने कुरा हो र ? विचारलाई स्थापित गर्नका लागि कहाँ एक वर्षमा आत्तिने कुरा हो र ?

उसोभए स्थानीय चुनावपछि नयाँशक्ति पार्टीभित्र केही मानिसहरु आत्तिन थालेका हुन् ?

म के भन्छु भने माओवादी पृष्ठभूमिका साथीहरु जो आउनुभयो, अथवा हामी सबै आ-आफ्नो पृष्ठभूमिबाट जो आयौं, हामीले बुझ्नुपर्ने कुरा त के हो भने एउटा राजनीतिक धार अर्थात जनयुद्धमा सहभागी भएका साथीहरुको बुद्धतिरको यात्रा हो । मण्डेला बन्ने यात्रा हो डा. बाबुराम भट्टराईको । यो महत्वलाई बुझेर हामी अगाडि बढ्नुपर्छ ।

अहिले नै एक वर्ष नपुग्दै गज्याङ र गुजुङ गर्ने बेला भएको छैन । नयाँशक्ति बन्दैन पो क्यार, अब अर्को पार्टीतिर पो जाने हो कि, माओवादीतिरै फर्किन्छु, अथवा एमालेतिर फर्किन्छु भन्ने बेला कहाँ भएको छ र ?

नयाँ वैकल्पिक राजनीतिको महत्वलाई वोध नगर्ने हो भने चुनाव हारियो, बर्बादै भो, सत्ता प्राप्त भएन, कुर्सी नै गुम्यो लाखौं मान्छेले मलाई चिन्थे, हजारौं मान्छेमा भाषण गर्थें, अहिले त कार्यकर्ता पनि छैनन् भनेर निराश हुने हो भने त त्यो अर्को कुरा हो । तर, राजनीतिमा धैर्यता पनि चाहिन्छ ।

चुनाव हारेकाले निराशा आएको हो कि ?

हामीले के हारेका छौं र ? एउटा शुन्यबाट बैकल्पिक पार्टी बनाउने भनेर लागेका मान्छेहरुका लागि यो हार होइन । हामी जे भन्दैछौं, त्यो आफैं जित हो । नेपाली राजनीतिमा नयाँ विकल्प निर्माण गरौं, एउटा सुन्दर राजनीति दिऔं भन्दैछौं । यो आफैंमा जित हो । हामी अरुभन्दा एक स्टेप अगाडि छौं । र, अझै अगाडि जानुपर्छ ।

तपाई राजनीतिज्ञमात्रै नभएर राजनीतिक विश्लेषक र लेख पनि हुनुहुन्छ । यो चुनावमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले आफ्नो तेस्रो स्थान सुरक्षित गरेको देखिन्छ । निकै कमजोर अवस्थामा पुगेको पार्टीले आफूलाई बचाएको देखिन्छ । तपाई अब माओवादी केन्द्रको भविश्य कस्तो देख्नुहुन्छ ?

चुनावी अंकगणितका आधारमा त साथीहरु तेस्रो पार्टी हुनु भो । कतिपय मान्छेले यस्तो आशा गरेका थिएनन् । मलाई लाग्छ, माओवादीभित्रै पनि यो आशा थिएन होला । तर, उहाँहरुले जुन तरिकाबाट शक्ति आर्जन गर्नुभयो, त्यो बेठीक छ । खर्चिलो तरिका उहाँहरुले अपनाउनुभयो । यस्तो तरिका दीगो हुँदैन ।

दोस्रो, वहाँहरुको एजेण्डा के हो ? यसले उहाँहरुलाई स्थापित गर्दैन । सैद्धान्तिक हिसाबले अब माओवाद भन्ने चिजको त के युग छ र ?

त्यसैले यो चुनावमा एउटा झल्को, एउटा चटकजस्तो त भयो । तर, यो चटक सधैं काम लाग्दैन । उहाँहरुले आफूलाई ठूलो रिर्फम गर्नुपर्छ । उहाँहरु ठूलो पार्टी बन्नुहोला, जित्नु पनि होला, तर देशलाई फाइदा छैन ।

म हाम्रा साथीहरुलाई पनि भन्छु, हिजो हामी ठूलो पार्टीमै थियौं नि । बाबुराम भट्टराई माओवादीमा, ठूलो पार्टीमै हुनुहुन्थ्यो । माओवादीबाट आउनुभएका साथीहरु ठूलो पार्टीमै हुनुहुन्थ्यो । हामी केही साथीहरु एमालेमा थियौं । हाम्रो आफ्नै पार्टी ठूलो थियो । त्यसैले यो ठूलोको लडाइँ होइन । हामीले त एउटा गर्वशाली पार्टीको विकास गरौं भनेका हौं नि त । त्यो आशा गरेजस्तो भएन होला, त्यो भोलि हुन्छ । आजै हामी निराश हुनुपर्ने केही छैन ।

तर, चुनावलगत्तै नयाँ शक्ति पार्टीमा आएका पूर्वमाओवादीहरु आफ्नै घरतिर फर्कने सम्भावना पनि त देखिन थाल्यो नि ?

साथीहरु शक्तिकै पछि लाग्न खोज्नुभएको हो भने केही भन्नु छैन । बाबुराम भट्टराईको नेतृत्वमा एउटा पार्टी बन्छ र यसो गज्याङ गुजुङ गरेर खान पाइएला, हिजो उता खान पाइएको थिएन भन्नेखालको हाम्रो अभिष्ट हो भने चाहिँ त्यो त पाइँदैन यहाँ । ८/१० वर्ष अझै नपाइएला । त्यस्ता साथीहरु जाँदा पनि हुन्छ ।

साथीहरुलाई निद्रा लाग्दैन, खत्तम भइयो भन्ने लाग्छ र मन सम्झाउँदा काहीँ सम्झाउने ठाउँ छैन, श्रीमतीले पनि कचकच गरेका छन्, छोराछोरीले पनि कचकच गरेका छन् भने यस्तो बेलामा यो पार्टीमा साथीहरु कसरी बस्ने ? पाप गर्नुहुँदैन, उहाँहरु जाँदा हुन्छ ।

माओवादी केन्द्रतिर र्फकन खोज्नेहरुलाई विदा गर्न तयार भएर बस्नुभएको छ कि क्या हो ?

नयाँ शक्ति उन्नत लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । हामीले सुरुमा नै के भनेका थियौं भने वैकल्पिक पार्टी बनाऔं, हामीले डकुमेन्टमा त लेखेनौं, तर हाम्रो वीचमा छलफल भएको थियो, यो पार्टी छाडेर जाने मान्छेलाई पनि फूलमाला लगाएर विदा गर्न सकियोस् । र, भनियोस् के भने साथी, तिमीसँग एक वर्ष सँगै बसियो, एक वर्षसम्म यो पार्टी बनाउनमा तिम्रो पनि योगदान छ । बाँकी तिम्रो भविश्य उज्जवल रहोस् ।

यसो भन्दै माला लगाएर, अवीर लगाएर विदा गर्नुपर्छ भन्ने थियो । यद्यपि हामी यो ‘प्राक्टिस’मा गएनौं । तर, यति उदात्त पार्टी बनाऔं भनेर छलफल गरेका थियौं हामीले ।
त्यसैले कोही साथीहरु पार्टी छाडेर जान चाहनुहुन्छ भने उहाँहरुलाई रोक्ने त कुरै छैन । उहाँहरुलाई हामीले गाली गर्नै हुँदैन । हामीले गाली गर्ने पार्टी बनाउन खोजेकै होइन । मान्छेलाई एकदमै हीनतावोध हुने पार्टी बनाउन खोजेकै होइन । म त बर्बाद भएँ भनेर जलेर बस्नुपर्ने पार्टी बनाउन खोजेको होइन । कसैलाई यस्तो लाग्छ भने तपाई उड्नोस् । हामी एउटा आकाशमा उडौंला, तपाई अर्को आकाशमा उड्नोस् ।

जो साथीलाई कम्युनिष्टप्रतिको मोह छ, कम्युनिष्ट पार्टीहरु धेरै छन् । जो साथीहरुलाई पहिचानको मोह छ, पहिचानको कुरा गर्ने पार्टीहरु धेरै छन् । जसलाई वैकल्पिक राजनीतिक पार्टीको मोह छ, बसौं । डा. बाबुराम भट्टराईको नेतृत्वमा कम्तिमा हामी केही समय यो बहसमा जानुपर्छ । उहाँलाई पनि म सर्वेसर्वा भन्दिनँ, उहाँ पनि हाम्रो टीमभित्रको एक नेता हो । तर, अहिले बाबुरामजीको नेतृत्व आवश्यक छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय फोरमसँग पार्टी एकताको तयारी कहाँ पुग्यो ?

उपेन्द्र यादवजीहरुसँगको पार्टी एकता हाम्रो एउटा आवश्यकता पनि बन्यो । वैकल्पिक राजनीतिक पार्टी बनाउने कुरामा विचार मिल्ने, मन मिल्नेहरु एक बनौं भन्ने त स्वाभाविकै कुरा हो । सम्भव हुन्छ, एकीकरणै होस्, सम्भव भएन भने तालमेल गरौं, मोर्चा बनाऔं भन्ने हो ।

तर, वैकल्पिक पार्टी बनाउने कष्टमा उहाँहरुसँग आजकै मितिमा जस्ताको त्यस्तै स्थितिमा एकता हुँदैन । वैकल्पिक पार्टी बनाउने हाम्रो जुन मिसन छ, त्यसले यही अवस्थामा लोकतान्त्रिक फोरमसँग पनि मिल्ने, राजपासँग मिल्ने, माओवादीसँग पनि मिल्ने, यस्तो हुँदैन । मिल्ने भनेको कसरी मिल्ने ? त्यस्तो हो भने त हामी पुराना पार्टीजस्तै भइहाल्यौं नि ।

अहिले हेर्नोस् त, एमाले राप्रपासँग मिलेको छ, कांग्रेस माओवादीसँग मिलेको छ । मिल्ने पनि त धर्म हुन्छ नि । त्यो धर्मको केन्द्रीय विषय के हो भने वैकल्पिक पार्टी, वैकल्पिक राजनीति । उदात्त लोकतन्त्र, समृद्ध समाजवाद । सुशासन, सदाचार । यी आधारभूत विषयलाई कमजोर बनाउने गरी कसैसँग पनि हाम्रो न एकता हुन्छ, न कार्यगत एकता हुन्छ ।

बरु त्यहाँभित्र पनि छलफल गरौं न त । जस्तो- एमालेभित्र पनि घनश्याम भुसालजीहरुले लामो समयदेखि बहस गरिरहनुभएको छ । छलफल गरौं न त के हो उहाँहरुको कुरा ? नेपाली राजनीतिलाई कसरी उहाँहरु अगाडि लान चाहनुहुन्छ ? कांग्रेसभित्र पनि असल साथीहरु हुनुहुन्छ, उहाँहरुसँग पनि छलफल गरौं । असल मान्छेहरुका वीचमा छलफल चलाऔं ।

त्यसैले, वैकल्पिक पार्टी बनाउने हाम्रो पहिलो शर्त हो, यसलाई डोमिनेट हुने गरी न हामी तालमेल गर्छौं, न पार्टी एकता गर्छौं । बरु छलफलचाहिँ त्यहाँभित्रका असल मान्छेहरुसँग निरन्तर जारी राख्छौं ।

तपाईहरुजस्तै नयाँ भनिएका रविन्द्र मिश्रको साझा पार्टी र उज्जल थापाको विवेकशील नेपालीसँग तपाईहरु मिल्न नसक्नु र पानी बाराबार गर्नुको कारण के हो ? उनीहरु पनि त वैकल्पिक राजनीति नै भनिराखेका छन्…

हामीवीच ‘इगो’ राख्नुपर्ने कुनै कारण छैन । वैकल्पिक पार्टी भनेकै वैकल्पिक राजनीतिक संस्कारको कुरा हो । यो भनेको गालीगलौच र इगोको कल्चर होइन । यो त उदात्त, एउटाले अर्कोलाई सम्मान गर्ने संस्कार हो ।

जहाँसम्म वैकल्पिक पार्टीहरुभित्रको ध्रुवीकरणको कुरा हो, मलाई कस्तो लाग्छ भने यसभित्र तीनवटा चिज छन्ः

एउटा- हामी सबैले म मात्रै वैकल्पिक हो भन्नुहुँदैन । यो भ्रमबाट विवेकशील र साझा पार्टी पनि मुक्त हुनुपर्छ कि ममात्रै वैकल्पिक हो । हामी सबै वैकल्पिक हुनुपर्छ ।

दोस्रो- नेपालमा कम्युनिष्टहरुले जस्तो आ-आफ्नो गुट र पार्टी बनाएर बस्ने जुन कल्चर छ, हामी त्यस्तो हुनुहुँदैन ।

तेस्रो- हामीभित्र के छलफल चल्नुपर्छ भने वैकल्पिक भन्ने पार्टीहरुभित्र एकीकरणको कुरा पछि होला, तर कम्तिमा एउटा साझा फोरम बनाऔं । वैकल्पिक पार्टी फोरम अथवा वैकल्पिक राजनीतिक फोरम बनाऔं । यो फोरममा नयाँशक्ति पनि होस् । विवेकशील र साझा पार्टी पनि होस् । यो फोरममा नागरिक समाजका अगुवाहरु पनि हुन् । लेखक, चिन्तकहरु पनि हुन् । यसमा हामी उदार हुनुपर्छ । अन्यथा ‘मेरो मात्रै’ भन्ने हो भने यो त पुरानै पारा हुन्छ ।

हामीले त गर्ववोध हुने पार्टी बनाउन खोजेका हौं । गर्व भयो भने १० वटा चुनाव हारे पनि केही फरक पर्दैन । गर्ववोध गर्ने पार्टी बनाउन सकियो भने चुनाव जितिन्छ । तर, धैर्य गर्नुपर्छ, राजनीतिमा एक वर्ष भनेको त केही पनि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment