Comments Add Comment

बाँदरको सेल्फी पुग्यो माथिल्लो अदालतमा

एक इण्डोनेसियाली बाँदरको सेल्फीसम्बन्धी विवाद अमेरिकाको माथिल्लो अदालतमा पुगेको छ ।

अमेरिकाको सनफ्रान्सिस्कोस्थित नाइन्थ सर्किटको पुनरावेदन अदालतले यस विषयमा सुनुवाई गर्दैछ ।

संघीय न्यायाधीशले गत वर्ष बाँदरलाई कुनै पनि तस्वीरको प्रतिलिपि अधिकार दिन नसकिने फैसला गरेसँगै मुद्दाको वादी पक्षको रुपमा रहेको जनावर अधिकारकर्मी संस्था पेटाले पुनरावेदन अदालतमा अपिल गरेको थियो ।

उक्त सेल्फीको प्रतिलिपि अधिकार सम्बन्धित बाँदरकै हुनुपर्ने दाबी पेटाको छ ।

स्मरण रहोस् इण्डोनेसियाको सुलावेसीस्थित जंगलमा सन् २०११ मा एक बाँदरले खिचेको सेल्फीको प्रतिलिपि अधिकारका विवाद निकै चर्चित बन्दै आएको छ ।

बेलायती फोटोग्राफर डेभिड स्लेटरले जंगल घुम्ने क्रममा भुइँमा राखेको क्यामरा बाँदरले भेट्टाएपछि त्यसलाई चलाउँदै गर्दा आफ्नै सेल्फी खिच्न पुगेको थियो । बाँदरले खिचेका अनेक फोटाहरुमध्ये उसको दाँत देखाएर मुस्कुराइरहेको सेल्फी निकै सुन्दर थियो र फोटोग्राफर डेभिडले आफूले खिचेका प्राकृतिक तस्वीरहरुको संग्रह वाइल्डलाइफ पर्सनालिटी नामक पुस्तकमा उक्त बाँदरको सेल्फीलाई समावेश गरेका थिए । अमेरिकाको एक नीजि प्रकाशक संस्थाले उक्त पुस्तक प्रकाशन गरेको थियो ।

उनले आफ्नो क्यामराले खिचेको उक्त तस्वीरमा आफ्नो प्रतिलिपि अधिकार समेत सुरक्षित गरिसकेका छन् । तर यस विषयमा विरोध जनाउँदै पेटाले उक्त फोटोको प्रतिलिपि अधिकार फोटो खिच्ने बाँदरकै हुनुपर्ने माग गरी सन् २०१५ मा मुद्दा हालेको थियो, अमेरिकामा ।

यदि अमेरिकी पुनरावेदन अदालतले बाँदरका पक्षमा फैसला गरेमा प्रतिलिपि अधिकार बाँदरको नाममा दिइएको यो पहिलो घटना हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment