Comments Add Comment

भानुभक्तलाई किन सम्झिने ?

भानुभक्तको योगदान पृथ्वीनारायण शाहको भन्दा ठूलो छ

साहित्य दुई किसिमले लेखिन्छ । एउटा युटोपिया हेराइ अर्थात् भोलिको कल्पना गरेर, अर्को हिजोको सम्झना गरेर । साहित्यमा कल्पनाशीलता हुन्छ । तर, मैले कविता लेख्दा स्वैरकल्पनामा पुगे पनि त्यसको आधार यथार्थ नै हुन्छ ।

भानुभक्त आजका दिनमा भए कस्तो हुन्थ्यो होला भनेर मैले कहिल्यै कल्पना गरिनँ । दृष्टिदोष भयो । भानु थिए भने के गर्थे, के सोच्थे, के लेख्थे होलान् भन्ने कुरा बडा रोचक हो । त्यसमा म पछि रमाइलो चर्चार् गर्नेछु । पहिले राजनीतिक परिवर्तनपछि भानुभक्तप्रति देखिएको असन्तुष्टि र आक्रोशको कुरा गरौं ।

नेपालको राजनीतिक इतिहास आजको दिनसम्म आउँदा धेरै उतारचढाव भइसक्यो । यस क्रममा ०४६ साल र अझ भन्दा ०६२/६३ पछि हाम्रो सोचाइ र दर्शनमै ठूलो परिवर्तन आयो । पहिले पञ्चायतले निर्माण गरेको एक भाषा, एक जाति, एउटा संस्कृति भयो भने मात्र नेपाल बलियो हुन्छ भन्ने दृष्टिकोणबाट ३० वर्ष शासन चल्यो ।
परिवर्तनपछिको समयमा अहिले डिस्कोर्स बदलियो । त्यो के हो भने, विविधतामा एकता खोज ।

नेपाल भन्ने देशको शक्ति भन्नु नै विविधता हो । विविध संस्कृति हुनु, विविध जाति हुनु, विविध भूगोल हुनु नेपालीहरुको सम्पत्ति र संसारमै विरलै पाइने सौन्दर्य हो भनिन्छ ।

अहिले मूल रुपमा हामीकहाँ दुई वटा डिस्कोर्स देखिन्छ । एकातिर, देश भत्किन आँट्यो, टुक्रिएर जान आँट्यो भनेर क्वाँक्वा रुनेहरु छन् । मधेसीको माग सुनेर संविधान संशोधन गर्‍यो भने यिनीहरुले अलग देश बनाउँछन् भन्ने उनीहरुको चिन्ता छ ।

अर्कातिर, तिमी जति अधिकार दिँदै जान्छौं, त्यति नेपाल बलियो र समृद्ध हुन्छ, नेपालको राष्ट्रियता त्यहीँनेर सार्थक हुन्छ भन्ने चिन्तन पनि छ ।

०६२/६३ को राजनीतिक परिवर्तनपछि राजतन्त्र फालिनासाथ जसरी पृथ्वीनारायण शाह ठूलो विमर्श र आलोचनामा तानिए, त्यसैगरी भानुभक्त पनि तारो बने । राजनीतिक रुपमा पृथ्वीनारायण विवादको पात्र बने, सांस्कृतिक रुपमा भानुभक्त आए । कति ठाउँमा राजा-महाराजाको सालिकसँगै भानुको सालिक पनि फालियो ।

इतिहासदेखिको दमित र उत्पीडित भएका जाति, सामुदायहरुको आवेगको प्रष्फुटन थियो त्यो । असन्तुष्ट समुदायले आदिकविलाई निश्चित जाति र समुदायको कवि भनेर मात्र प्रहार गरेनन्, त्यसको अन्तर्यमा हिजोको व्यवस्थाले एक भाषा, एक जाति भन्ने जुन अभियान चलायो, त्यसको सिकार हामी भयौं, हाम्रो भाषा र संस्कृति नासियो, हाम्रो जातिमाथि अन्याय भयो भनेर उनीहरुको आक्रोश पोखियो । दबाउने, मौलिक भाषा-संस्कृतिको विनाश गर्ने, उपेक्षा गर्ने इतिहासदेखिको सिलसिला अहिलेसम्म जारी छ भनेर प्रतीकात्मक रुपमा प्रतिकार गरियो ।

भानुभक्तलाई समाजले जुन शत्रुतापूर्ण व्यवहार गर्दै गयो, जसरी सालिकमाथि प्रहार गर्‍यो, मेरो ठम्याइ चाहिँ त्यो ठीक होइन भन्ने हो । नेपाली भाषा-साहित्यमा भानुभक्तको योगदान म असाध्यै उँचो देख्छु । नेपाली भाषा आजको स्थितिमा विकास हुनुमा उनको साह्रै ठूलो योगदान छ ।

उनले लेखेको रामायण जनमनमा भिजेको छ । मेरी आमा र हजुरआमा रैनी हुन्, दुवै जना खरर रामायण भन्न सक्नुहुन्थ्यो । नेपाली बरु राम्रोसँग बोल्न नसक्ने, तर रामायणको श्लोक मुखाग्र हुने । धार्मिकभन्दा पनि आत्मसन्तुष्टि र सुस्ताउने मेलोको रुपमा आ-आफ्नो लयमा रामायण पढेर मान्छेहरु सुत्थे । यसको अर्थ नेपाली समाजमा निकै भित्रसम्म गएर रामायणले छाप छोड्यो, राज्यले लादेकै सही ।

भानुभक्तले एक भाषा, एक जाति भनेर राजनीति गरेका थिएनन् । अरुहरुले भाषाको राजनीति गरे होलान् । तर, हामी यस्तो अवस्थामा आइसकेका छौं, अब हामीसँग नेपाली भाषाको विकल्प छैन । नेपालीहरुलाई एकसूत्रमा बाँध्ने भाषा नै यही हो । होला, भोलि हाम्रा नाति-पनाति पुस्तादेखि अंग्रेजी मात्र बोल्लान्, त्यो अलग कुरा हो । तर, कुनै पनि देशको सम्पर्कको साझा माध्यमका रुपमा आफ्नो भाषा हुन्छ, हुन्छ ।

भानुभक्तलाई सम्झिनु भनेको नेपाली भाषालाई मात्र सम्भिmनु हो भन्ने पनि होइन । उनी एउटा राष्ट्रिय चेतना हुन् ।

अहिले राष्ट्र पुनर्निर्माणको प्रक्रियामा छ । भत्किएका कुरा बन्ने क्रममा छन् । यो स्वाभाविक प्रक्रिया हो ।

यस क्रममा अहिले हामी इतिहासका घटना, पात्रहरुको संश्लेषण गर्ने प्रक्रियामा छौं । हाम्रो हिजोका कुरामध्ये कुन ठीक हुन्, कुन हैनन्, कुन-कुन कुरा आज र भोलिका लागि राख्नुपर्छ भनेर पर्गेल्ने समयमा छौं । तर, यो विषयमा दुईथरी अतिवादी विचार छन् । एकथरी जम्मै जोगाउनुपर्छ भन्नेहरु छन्, अर्काथरी केही पनि राख्नुहुन्न, नष्ट गर्नुपर्छ भन्दै छन् । दुईथरी अतिवादहरुको बीचबाट एउटा संश्लेषण पक्कै आउँछ ।

चीनमा माओले सांस्कृतिक क्रान्ति गरेपछि कति कुरा तहसनहस भए । तर, कम्युनिष्टहरुले पछि ऐतिहासिक सम्पदा र संस्कृतिको मूल्य बोध गरे । पुराना शासक र वंशका कुरालाई उनीहरुले संरक्षण गरेर राखेका छन् । ती कुरा हेर्न अहिले टिकट काटेर पस्नुपर्छ ।

हामी पनि असल र मूल्यवान् चिजहरु जोगाउने र खराब कुरा फाल्ने चरणमा छौं । यो प्रक्रियामा भानुभक्त चाहिँ हामीले जोगाउनुपर्ने ठूलो सम्पदा हुन् । मैले यो भनिरहँदा कतिपय मित्रहरुले मन नपराउन पनि सक्छन्, तर भानुभक्त नेपालीहरुको ठूलो सम्पदा हुन् । यो कुरा सरकारले कहिले बुझ्ला कुन्नि !

भोलि देश पुँजीवादमा गयो भने हाम्रो सम्पदा अनि हाम्रो भाषाको प्रारम्भिक सेवक भनेर पर्यटकमाझ बिक्री गर्न पनि सक्छौं । कसैले भानुभक्त ठीक छैनन्, नसम्झिँदा पनि हुन्छ भन्लान् । त्यो बेग्लै कुरा हो । तर, मेरो हेराइमा त भानुभक्त पृथ्वीनारायणभन्दा धेरै माथि छन् । पृथ्वीनारायणले त राज्य-राज्य गरेर भूगोल मात्र जोडेका हुन् । तर, आत्मिक र चेतनाको तहबाट नेपाललाई जोडेको हुनाले भानुको योगदान उपल्लो स्थानमा छ । हामीलाई उनले दैनिक कार्यव्यापार गर्ने भाषा दिए । हामीलाई नुन र तेल पैंचो माग्न, मेला र पर्ममा बोलाउन सिकाउने भाषा हो यो । उनको त्यो संवेदना जोडिन्छ ।

मैले यो चर्चा गर्दा एउटा कविले कविको गुणगान गायो भनेर मेरो यो भनाइलाई पनि कतिपयले अतिवादी भन्न सक्लान् । पृथ्वीनारायण जत्तिको भानु कहाँ हुन् र भन्न सक्छन् । तर, कुरा के हो भने, पृथ्वीनारायण यदि थिएनन् भने अर्को कुनै न कुनै राजा वा शासकले नेपाल एकीकरण गरेको हुन सक्थ्यो । उनको विकल्प हुन्थ्यो । जसले राजय जोडे पनि हामीसँग देश हुन्थ्यो ।

तर, कवि र प्रतिभाहरुको विकल्प खोज्न समय कुर्नुपर्छ । ठूला कवि, कलाकार, महान् दार्शनिक, वैज्ञानिकहरु पाउनको लागि एउटा देशले युग नै कुर्नुपर्ने हुन्छ । किनकि एउटा कवि पाउनु भनेको प्रधानमन्त्री पाउनु जस्तो सजिलो कुरा होइन । हामीले त्यसरी महत्व बुझ्नुपर्छ ।

भानुभक्त सम्बन्धी मेरो कविता

मैले ०६५ सालतिर ‘भानुभक्त’ भन्ने कविता नै लेखेँ । मैले खासगरी पछिल्लो समय युवाहरु वैदेशिक रोजगारीमा जाने क्रमलाई कवितामा ल्याएको हो । मैले कवितामा एक किसिमले विनिर्माण र स्वैरकल्पना गरेर आजको भानुभक्त बनाएको हुँ ।

कवितामा अन्य अग्रज कविलाई नल्याई भानुभक्तको चरित्र ल्याउनुको कारण पनि राष्ट्रिय मुद्दासँग जोडेको हो कवितालाई । निश्चित सीमा कोरेर यो भानुभक्त व्यक्तिविशेषमाथि लेखिएको कविता होइन । राष्ट्रिय एकताको चेतनाको प्रतीकको रुपमा उनलाई ल्याएको हो ।

यति लामो समयसम्म भानुभक्तलाई हेर्दा एकताको प्रतीकका रुपमा ल्याउँदा सार्थक हुन्छ होला भन्ने मेरो ठम्याइ अनुसार त्यो कविता लेखेको हुँ । मैले लेखेको छु, कतै चिम्सा आँखा, कतै लामो नाक । त्यो संरचना प्रयोग गरेर मैले भानुभक्त हरेक कालखण्डमा जन्मिँदै छ र जन्मिन्छ भनेर नेपालीहरुको साझा प्रतीकको रुपमा ल्याएको छु ।
भानुभक्तलाई हामीले बिर्सिनका लागि कि त हामीले नेपाली भाषा नै बिर्सिनुपर्‍यो । त्यो कविता लेख्नुको उद्देश्य पनि नेपाली साहित्य र नेपाली भाषा सम्झन्छौं भने त भानुभक्तलाई बिर्सन मिलेन भन्ने कुरालाई पनि बल पुर्‍यायोस् भन्ने थियो । त्यसो त एउटा कविताको हजार वटा अर्थ हुन सक्छ ।

अर्को कुरा, अहिले नेपाली कवि-लेखकहरु थुप्रै छन् । प्रवासमा पनि जहाँ-जहाँ नेपालीहरु गएका छन्, त्यहाँ लेखकहरु पनि छन् । त्यो कुरालाई पनि ‘भानुभक्त’ कविताले इंगित गरेको छ । त्यहाँ नेपाली लेखकहरुको अवस्थालाई पनि देखाएको छ । नेपालमा एउटा लेखक लेखक भएर बाँच्नका लागि अझै पनि अनुकूल अवस्था छैन, यो पेशा बन्न सकेको छैन । लेखक भएर बाँच्दा ठूलो मूल्य चुकाउनुपर्छ जीवनभर ।

आज भानुभक्त भए…

आजको समयमा भानुभक्त आचार्य भएका भए उनको सोच, लेखनका मुद्दा र जीवनशैली कस्तो हुन्थ्यो होला त ?

चुँदी रम्घाका भानुभक्तलाई हेर्दा अहिले त्यो ठाउँ वरिपरि रहेका मानिसहरुको जीवनलाई पनि हेर्नुपर्छ, अनि मात्र अड्कल काट्न सकिन्छ । म चुँदी रम्घा पुगेको छु । त्यहाँ यथास्थितिवादी र प्रगतिशील दृष्टिकोण बोक्ने मानिसहरु अहिले पनि छन् । त्यही आचार्य खलकमा पनि होलान् । गणतन्त्र र विविधताको वकालत गर्ने पनि त्यहीँभित्र होलान् अनि संघीयता मन नपराउने यथास्थितिवादीहरु पनि त्यहीँ होलान् ।

भानुभक्त चाहिँ के हुन्थे होला भन्ने प्रश्न आउँदा उनलाई पनि दुवै तरिकाले हेर्न सकिन्छ । एउटा चाहिँ ‘बधूशिक्षा’ लेख्ने भानुभक्त छन् । जहाँ उनले हाँस्ने नारी ठीक हैन भनेर लेखे । ‘हाँस्नु छैन कदापि नारीहरुले वेश्या हुना हास्तछन्’ भनेर लेख्ने उनी नारीवादका दृष्टिले आलोचित पनि छन् । महिलाको स्वतन्त्रताको विपरीत छ त्यो कृति ।
अर्कातिर, कवितामा नै चाकडी, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीको विरोध गर्ने भानुभक्त पनि हामी देख्न सक्छौं । यसरी चेतनाको दृष्टिकोणले दुई वटा भानुभक्त प्रष्टै देखिन्छ ।

आज भानुभक्त हुन्थे भने कुन कोटिमा हुन्थे भने एउटा कविले समयको प्रवाहलाई त पक्रिँदै अगाडि बढ्छ । त्यस हिसाबले हेर्दा अहिले भानुभक्त गणतन्त्रको वकालत गरिरहेको एउटा योद्धा कविको रुपमा हुन्थे होला भन्ने लाग्छ । उनको रचनाधर्मिताले त्यो सम्भावनाको पल्ला भारी देखाउँछ ।

उनी नेपाली साहित्यको प्राथमिक काल अन्तर्गत भक्तिधाराका कवि हुन् । तर, समयको वहाबको कुरा आउँछ । उनको समय र आजको समय फरक छ र उतिबेला र अहिलेको साहित्यको टे्रण्ड पनि फरक छ । उनले उतिबेला पो रामायणको अनुवाद गरे, आज थिए भने समकालीन लेखनमा सक्रिय रहेको कुनै विदेशी कविको अनुवाद गर्ने थिए होलान् ।

जीवनशैलीको कुरा गर्दा आजको सूचना-प्रविधिसँग गाँसिएको दिनचर्याको पनि कुरा छुटाउन मिल्दैन । भानुभक्त आज भएका भए उनको जीवनशैली र चालढाल कस्तो हुन्थ्यो त ? त्यसको लख काट्न उनी अहिले कुन उमेरमा बाँचिरहेको मान्ने भन्ने पनि कुरा आउँछ । कम्तीमा मेरो उमेरको (५०) हो भने आधुनिक प्रविधिमा त्यति साह्रो भिजिनसकेको, हातैले कविता लेख्नुपर्ने, कम्प्युटरमा कविता लेखे पनि कृत्रिम जस्तो महसुस गर्ने अनुभूति गर्थे होलान् ।

तर, आजको दिन प्रविधिमा राम्रो दखल नभएका मान्छेले पनि यो नसिकी भएको छैन । त्यस हिसाबले हेर्दा उनी फेसबुक चलाउन सिक्दै गरेको र चार लाइन स्टाटस लेख्न पनि १० मिनेट लगाउने टाइपको कवि हुने थिए होलान् । हाम्रो पुस्ता भनेको यो हो, परम्परालाई समात्दै आधुनिकतातिर हात बढाइरहेकाले एक किसिमले संक्रमणमा छौं । प्रविधि एक्कासि झ्याप्पै आयो । भर्खरका मान्छेहरुले त चाँडै सिकिहाल्छन्, हामीले चाहिँ तुरुन्तै समात्न सक्दैनौं ।

भानु आजका दिनमा भए पोजिसन पनि खतरै हुन्थ्यो होला । उनले लेख्ने फेसबुक स्टाटस पनि गजबकै हुनेथ्यो । उनी त काठमाडौं आएर यहाँका नेवार्नीहरु देखेर भुतुक्कै भएका मान्छे हुन्, शृंगारिक टाइपका कवि । उनका सिर्जना पढ्दा अलि डुलडाल गर्ने मान्छे पनि लाग्छ । यायावर नै भएर संसार घुमिरहेका पनि हुन सक्थे । नेपालमै रहेको स्थितिमा देशको राजनीति, समाज र समकालीन घटनाक्रममाथि स्टाटस पनि बेलाबेलामा आइरहन्थ्यो । चुनावका बारेमा लेख्थे होलान् । उनी पनि कुनै न कुनै पार्टीमा आबद्ध हुन्थे होलान् ।

भानुभक्तले त्यो जमानामा ‘रामायण’ लेखे । उनी आजको समयमा भए अहिले संसारभरिकै लेखनमा चलिरहेको कुरा नै लेख्ने थिए । अहिले विश्वमै सीमान्तकृतहरुको आवाज, महिला मुक्तिको आवाज, दलित, जनजाति आदि किनारमा पारिएका र उपेक्षितहरुलाई कसरी अगाडि ल्याउने, बोल्न नसक्नेहरुको कुरालाई कसरी सम्बोधन गर्ने भन्ने विषय लेखनमा आइरहेको छ । मेरो विचारमा भानुभक्तले पनि सायद तिनै कुरा लेख्थे । कुनै त्यस्तै आवाजलाई पक्रेर कृतिको अनुवाद गर्थे होला वा आफैं लेख्थे होलान् ।

उनले समग्रमा जनताको साहित्य लेख्थे । किनकि रामायण पनि जनताले लिएपछि जनताकै साहित्यका रुपमा दर्ज भएको छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment