शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

मानव इतिहास र भविश्यको लेखाजोखा (भाग दुई)

करिब एक लाख बर्षअघि अफ्रिकाको जंगलमा अन्य जनावरहरु जस्तै बाँच्नका लागि संघर्षरत एउटा प्रजाति अर्थात मानव क्रमिक विकासको छोटो यात्रामा (करिब १ लाख बर्ष) नै कसरी सिंगो पृथ्वीको मालिक बन्न सक्यो ? यो लेखको पहिलो भागमा यूभल नोहा हरारीको पहिलो पुस्तक, सेपियन्स्ः अ व्रिफ हिस्ट्री अफ ह्युमनकाइन्डको समीक्षा र संलेषणात्मक चर्चा गरिसकिएको छ ।

यतिविध्न प्रगति गरेर सिंगो पृथ्वीमा राज गरिरहेको मानव आखिर के चाहिरहेको छ ? के बन्न खोजिरहेको छ ? यी प्रश्नहरु पाठक समक्ष राखेर उक्त पुस्तकको विट मारेका हरारीले आफ्नो दोस्रो पुस्तकमा त्यसको जवाफ खोतल्ने प्रयत्न गरेका छन् । यो लेख (भाग दुई) उनको त्यही दोस्रो पुस्तक होमो दिअस्ः अ व्रिफ हिस्ट्री अफ टुमरोको विश्लेषणात्मक समीक्षामा केन्द्रित हुनेछ ।

आफ्नो उत्पत्तिको लामो समयसम्म पनि निरीह जीवन बाँचेको मानव जातिले आफूभन्दा बाहिरको सांसारिक प्रकृया बुझ्न र आफूमा भएको अज्ञानताको महसुस गर्न थालेदेखि संज्ञात्मक ज्ञानको विकासले अकल्पनीय प्रगति हासिल गर्न थाल्यो । मानव जातिले ढुंगे युगदेखि कृषि युग हुँदै औद्योगिक क्रान्तिको चरणसम्म आइपुग्दा धेरै उपलब्धीहरु हासिल त गर्‍यो, तर त्यो प्रगतिको गति बीसौं शताब्दीको मध्यसम्म पुग्दा पनि तीन प्रमुख चुनौतीहरु भोकमरी, रोग र युद्धको कारण सुस्त भइरह्यो ।

अहिले भोकमरी भन्नासाथ हामीलाई अफ्रिकाको सम्झना आउँछ तर जादुमयी शहर पेरिसका गल्लीहरुमा करिब ३०० बर्ष अघिसम्म पनि खाना नपाएर मरेका मान्छेहरुको थुप्रो लाग्थ्यो । तथ्यांक अनुसार, सन् १६९२ देखि ९४ सम्म २८ लाख मानिस फ्रान्समा खान नपाएर मरेका थिए ।

अहिले विश्वको महाशक्ति बन्ने धुनमा लागेको चीनमा भोकमरीले नसताएको कुनै शासक नै भएनन् । पछिल्लो समयमा माओका पालामा पनि त्यहाँ दशौं लाख मान्छे भोकमरीका कारणले मरे । त्यसैगरी १४ औं शताब्दीमा ब्ल्याक डेथ (blackdeath)  भनिने महामारीले यूरोप र एशियामा मात्रै ७ देखि २० करोड मानिसको ज्यान लियो ।

अबको अर्थतन्त्रले कपडा, गाडी र हतियार उत्पादन गर्दैन बरु मानव मन, मष्तिस्क र शरीरको उत्पादन गर्नेछ । र त्यो प्रकृया शुरु भइसकेको छ

एक शताब्दी अघिमात्रै स्पानिस फ्लुको महामारीका कारण विश्वभर २ देखि ५ करोड मान्छे मरे, जसमध्ये डेढ करोड मान्छे त हाम्रो छिमेकी मुलुक भारतका थिए ।

मानव जातिको तेस्रो चुनौती जंगलको नियम अर्थात युद्धले उसको प्रगतिपथको गतिलाई हमेशा रोकिराख्यो । औद्योगिक क्रान्तिको चरणसम्म आउँदासम्म पनि प्रत्येक मान्छेमा डर हुन्थ्यो, कुन बेला सत्रु सेनाले आफ्नो देशको सेनालाई हराउँछ, थुप्रै मान्छे मार्छ र आफ्नो देश कब्जामा लिन्छ । त्यो समयमा शान्ति शासक वा विद्रोहीहरुको आदेशमा कैद थियो । तर, अहिले शान्ति अपरिहार्य बनेको छ । सन् १९५० पछि संसारमा युद्ध धेरै कम हुन थालेका छन् । यतिखेर बारुदबाट भन्दा चिनीबाट पृथ्वीमा धेरै मान्छेहरु मर्ने गरेका छन् । हरारी लेख्छन्, मर्ने सम्भावना अहिले अलकायदा वा अन्य आतंकवादी समूहको आक्रमणमा परेर भन्दा बढी म्याक्डोनाल्ड र कोकाकोला खाएर छ ।

युद्धबाट हुने मृत्यु मात्रै होइन, पृथ्वीमा बलात्कार, यातना जस्ता हिंसात्मक घटनाहरुमा कमी आएको छ । हिजोको मानवप्रगतिको इञ्जिन जस्तै बनेको दास प्रथा अहिले संसारमा छैन । समग्रमा हिंसाप्रतिको विश्व दृष्टिकोणमा परिवर्तन भएको छ । कुनैबेला यस सम्बन्धी लेखिएको हार्वड विश्वविद्यालयका प्राध्यापक स्टेभन पिन्करको किताब वेटर एञ्जल अफ आवर नेचरः ह्वाइ भ्यालेन्स ह्याज डिक्लाइन्डको चर्चा गरौंला ।

भोक, रोग र युद्धबाट छुटकारा पाउन मानवले विभिन्न देवता-दानव, सुर-असुरजस्ता दैवीशक्तिहरु निर्माण गरेर तत् सामु याचना गर्‍यो । आफ्नै सगोत्रीको बलिसम्म चढाएर भाकल गर्‍यो तर ती हारगुहारहरु व्यर्थ भए । अन्त्यमा आफैंले उत्पादन गरेको ज्ञान, शीप, अनुभव र निरन्तर वैज्ञानिक अनुसन्धानको परिणामले विस्तारै मानवजातिले तिनै कुरामाथि विजय प्राप्त गर्न सफल भयो ।

पृथ्वीको इतिहास मै हामीले बाँचिरहेको समय तुलनात्मक रुपमा शान्तिपूर्ण समय हो । हरारी लेख्छन्, प्राचीन कृषि सभ्यतामा १५ प्रतिशत मृत्यु मानव हिंसाको कारण हुन्थ्यो भने २० औं शताब्दीमा आइपुग्दा त्यो संख्या ५ प्रतिशतमा झर्‍यो र २१ औं शताब्दीमा पुग्दा त्यो १ प्रतिशत भन्दा कममा सीमित भयो ।

सन् २०१२ मा पृथ्वीमा भएका ५ करोड ६० लाख मानव मृत्यु मध्ये ६ लाख २० हजार मान्छे मात्रै युद्ध, अपराध र आतंकवादी हमलाबाट मारिएका थिए । अहिले विश्वमा भोकमरीले मान्छे मरेको सितिमिति सुनिँदैन । तर, बर्षेनी ३० लाख मान्छेहरु खाना बढी खाएर (मोटोपनासँगै हुने रोगका कारण) मरिरहेका छन् ।

यदि मुसाको इन्जिनियरिङ्ग गरेर स्मरण शक्ति थप्न सकिन्छ र किराको इन्जिनियरिङ्गबाट आयु लम्बाउन प्राविधिक रुपमा सम्भव छ भने मानवमा त्यो सम्भव नहुने कुरा छैन, मात्रै थोरै ढीलो चाँडोको कुरा हो

भोकमरी यदाकदा भएता पनि त्यो विगतको जस्तो खाद्यान्नको अभावले होइन, वितरण प्रणाली र स्थानीय सरकारी संयन्त्रको निकम्मापनको कारणले हुन्छ । रसायनिक मल, उन्नत बिऊ विजनको प्रयोग र बढी जमीनमा खेती गरिएकाले अहिले विश्वभर जनसंख्या भन्दा बढीलाई पुग्ने अतिरिक्त (surplus) खाद्यान्न उत्पादन भइरहेको छ । भ्याक्सिन, औषधी विज्ञान र स्वास्थ्य क्षेत्रमा आएको अकल्पनीय परिवर्तनले गर्दा अहिले मानव धेरै समय बाँच्ने भएको छ ।

यो मनोहर परिवर्तनसँगै सबैभन्दा ठूलो परिवर्तन यतिखेर मृत्युलाई हेर्ने दृष्टिकोणमा छ । अहिले मानव मृत्यको कारणमा यमराजको आदेश वा भावीले लेखिदिएको भन्ने भ्रमलाई मानिँदैन बरु शरीरमा आएको प्राविधिक गडबढीलाई ठानिन्छ । ब्रेन हृयाम्रेज हुनु, मुटुमा रक्तसञ्चार नहुनु, क्यान्सर जस्ता हानीकारक कोषहरु बढ्नु आदि जस्ता शरीरमा आउने प्राविधिक समस्याहरुलाई मृत्युको कारक किटान गर्न थालिएको छ ।

मृत्युलाई प्राविधिक समस्याका रुपमा करार गरेर अकाल मुत्युबाट जोगिएपछि, अबको अनुसन्धान त्यो प्राविधिक समस्यालाई सदाका लागि पन्छाउने अर्थात मृत्युमाथि विजय प्राप्त गर्न केन्द्रित छ । यतिखेर स्वास्थ्य क्षेत्रका अनुसन्धानहरु कसरी मान्छेलाई अमर बनाउने (कहिल्यै नमर्ने वा कम्तिमा ५०० बर्षसम्म बाँच्ने बनाउने) तिर अग्रसर छ । उदाहरणको लागि गुगलको क्यालिको प्रोजेक्टको अनुसन्धान बृद्धपनाको रहस्यसँग जुध्न र त्यसलाई समाधान गर्न केन्द्रित छ । पुस्तकको दोस्रो भागमा हरारीले ती मानव प्रयासहरुका बारेमा वर्णन गरेका छन् ।

इतिहास साक्षी छ, मानव जाति आफूसँग भएको चीजमा सन्तोष मानेर वा थकाई मारेर विल्कुल बस्न जानेको छैन । रोगलाई दीर्घायुले, भोकलाई समृद्धिले, र युद्धलाई सदभावले प्रतिस्थापित गरेर सबै कुरा औसत अवस्थामा ल्याइसकेपछि मानव गन्तव्य असाधारण बाटोमा मोडिन खोज्दैछ । हरारी लेख्छन्, मानवजातिको प्रत्येक सफलताले नयाँ महत्वाकांक्षा जन्माएको छ । त्यसैले यतिखेर मान्छे असामान्य, अपूर्व र असाधारण हुन खोजिरहेको छ ।

अकाल मृत्युलाई पछि धकेल्दै शान्ति र समृद्धि आर्जन गरिसकेपछि यतिखेरको मानव गन्तव्य, अमरत्व, प्रसन्नता र देवत्वको मार्गमा छ । मानवले आफूलाई मानव प्रजातिबाट आफूले कल्पना गरेको देवताको प्रजातिमा अभ्युत्थान (upgrade) गर्नेबाटोमा लागेको छ । हो २१ औं शताब्दी र अबको अर्को शताब्दीको यात्राँचलाख मान्छे’ होमो सेपियन्स् (homo sapiens)  बाट होमो दिअस् (homo deus) अर्थात ‘मानव देव’ बन्ने यात्रा नै हो ।

हरारी भन्छन्, इतिहासमा ठूला ठूला राजनैतिक, आर्थिक, सामाजिक र प्राविधिक क्रान्ति र परिवर्तनहरु भए । तर २१ औं शताब्दीसम्म आइपुग्दा पनि मानवीयता (humanity)  उस्तै रहिरह्यो । ढुंगे युगको मानव र एक्काइसौं शताब्दीको मानवले प्रयोग गर्ने औजार, उपकरण, राजनैतिक अधिकार, सुविधा आदिमा आकाश जमीनको अन्तर भइसक्दा पनि दुवै मानवको मन, मष्तिस्क र शरीर उस्तै रहिरह्यो । अहिले पनि मानवले जैविक सूचना डीएनए मार्फत र अन्य सूचनाको प्रशोधन दिमाग मार्फत गरिरह्यो । २१ औं शताब्दीको ठूलो क्रान्ति त्यसलाई बदल्नका लागि हुनेछ ।

हरारी लेख्छन्, अबको अर्थतन्त्रले कपडा, गाडी र हतियार उत्पादन गर्दैन बरु मानव मन, मष्तिस्क र शरीरको उत्पादन गर्नेछ । अबको क्रान्ति मानव जगत बदल्न केन्दि्रत हुनेछ र त्यो प्रकृया शुरु भइसकेको छ । हामी अहिले कम्युटर र अन्य प्रजातिलाई ह्याक गर्ने होइन, मानव मस्तिष्कलाई कसरी ह्याक गर्ने भन्ने सिकिरहेका छौं । यतिखेर वैज्ञानिक अनुसन्धानहरु मानवको इन्जिनियरिङ्ग, मानवमा असामान्य क्षमताको विकास र विशिष्ट मानव (super human) निर्माण र उत्पादनमा केन्दि्रत छ ।

हात काटिएको मान्छेमा कृत्रिम हात जोडेर प्राकृतिक हातजस्तै काम गराउन सम्भव छ भने, हामीले कल्पना गरेको चार हात भएको भगवतीको रुपजस्तै अहिले भएका दुई हातमा दुई थपेर चार हाते मानव बनाउन किन सम्भव छैन् ?

मानवजातिले आफूभित्र आफूले कल्पना गरेको देवताको जस्तो असामान्य गुण र क्षमता तीन किसिमले हासिल गर्नेछ । जैविक इन्जिनियरिङ्ग मार्फत आफूलाई परिर्वतन गरेर, दोस्रो साइब्रोग (cybrog) इन्जिनियरिङ्ग अर्थात मानव शरीरमा अजैविक (inorganic) वस्तु मिसाएर र तेस्रो, इन्जिनियरिङ्ग मार्फत अजैविक वस्तुमा जीवन भरेर ।

यतिखेर जीवनको आधार मानिने डीएनएको सम्पादन (gene editing) गरेर आफूले चाहेको प्रतिभा, गुण, रुप, स्वाद आदि भएको जीवहरुको विकास गर्ने प्रविधिले फड्को मारेको छ । विश्वका जैविक इन्जिनियरिङ्ग (bio engineering) प्रयोगशालाहरुले विशिष्ट प्रतिभावान मुसा बनाउन, सामान्य भन्दा छ गुणा बढी बाँच्ने विशिष्ट किरा (superworm)  उत्पादन गर्न सफलता हासिल गरेका छन् । यदि मुसाको इन्जिनियरिङ्ग गरेर स्मरण शक्ति थप्न सकिन्छ र किराको इन्जिनियरिङ्गबाट आयु लम्बाउन प्राविधिक रुपमा सम्भव छ भने मानवमा त्यो सम्भव नहुने कुरा छैन, मात्रै थोरै ढीलो चाँडोको कुरा हो ।

जैविक र अजैविक चिजको समिश्रण गरेर निर्माण गरिने साइब्रोगमा उल्लेख्य सफलता प्राप्त हुँदैछ । अहिले काम नगर्ने मुटुको भल्भ, कम देख्ने आँखामा लेन्स र हातखुट्टा काट्न परेका मानिसमा कृत्रिम हात खुट्टा जडान गर्ने काम सामान्य भइसकेका छन् । अबको अनुसन्धान कृत्रिम मस्तिक फेर्ने (brain transplant), मानव मस्तिष्कसँग कम्प्युटर जोड्ने (brain computer interface) जस्ता कुराहरुमा केन्द्रित छ ।

हात काटिएको मान्छेमा कृत्रिम हात जोडेर प्राकृतिक हातजस्तै काम गराउन सम्भव छ भने, हामीले कल्पना गरेको चार हात भएको भगवतीको रुपजस्तै अहिले भएका दुई हातमा दुई थपेर चार हाते मानव बनाउन किन सम्भव छैन् ? हरारी प्रश्न गर्छन् ।

आखिर विरामीलाई स्वस्थ्य बनाइसकेपछि स्वस्थ्यलाई थप क्षमतावान बनाउने मानवीय गुण नै हो । उदाहरणका लागि सामान्य भन्दा कमजोर यौन क्षमता भएकाहरुको उपचार गर्न बनेको औषधी स्वस्थ्य मान्छेले खाएर प्रकृतिले दिएको भन्दा अधिक यौन क्षमता हासिल गर्ने खोज्छ मानव । युद्धमा अनुहार विग्रेकाहरुको मुहार सामान्य बनाउन आविष्कार भएको प्लाष्टिक सर्जरीको प्रयोगले असाधारण सुन्दर देखिने चाहना पाल्छ मानव । त्यस्तो महत्वाकांक्षी मानवले प्रकृतिले आफूलाई दिएको दुई हातमा थप दुई हात थप्ने चाहना राखेर थप शक्तिशाली र कुशल हुन खोज्दैन भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले अब कुनै दिन भगवतीको जस्तै चार हात भएको मानिस हलिउडको सिनेमामा जस्तो न्यूरोडमा हिँडेको देखिन पनि सकिनेछ ।

हरारी लेख्छन्, ती मानव साइब्रोगहरु अनन्तसम्म पनि बाँच्न सक्ने हुन्छन्, जबसम्म तिनलाई बमले टुक्राटक्रा पारिन्न वा ट्रकले किचेर कच्याक्कुचुक पारिन्न ।

मानवजातिको अभ्युत्थानको क्रममा तेस्रो प्रयास अजैवीक जीवन (inorganic life) को निर्माण हुनेछ । मेसिनले मानिसले जस्तै बुद्धिमत्ता हिसाबले सोच्ने, अनुभव गर्ने र त्यसरी नै काम गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (artifical intelligence) लाई हरारीले २१ औं शताब्दीको सवैभन्दा महत्वपूर्ण आविष्कार भनेका छन् ।

यतिखेर जैविक दिमागको सट्टामा कम्प्युटरभित्र मानव मस्तिष्क हाल्ने अनुसन्धान भइरहेका छन् । सन् २००५ मा शुरु भएको ह्युमन ब्रेन प्रोजेक्टको डाइरेक्टरले भनेजस्तै हामी दुई तीन दशकमा नै मानव मस्तिष्कले जस्तै सोच्ने, अनुभव गर्ने गुण भएको कम्प्युटर बनाउन सक्षम हुनेछौं ।

तर आज संसारको शक्तिशाली सेनाहरु सुरा र बलिया युवाहरुमा होइन, तिब्रगतिका कम्प्युटर, स्वचालित जहाज (ड्रोन), क्यामेरा र स्याटेलाइटको निगरानी जस्ता प्रविधिहरुमा भर पर्न थालेका छन् । मानव संशाधनमा भन्दा त्यस्ता प्रविधिमा धेरै खर्च गर्न थालेका छन्

मानव लगायतका सम्पूर्ण जीवहरुको शरीर भनेको एउटा जटिल एल्गोरिदम (algorithm) मात्रै हो भनेर उनले जीवनलाई जैविक एल्गोरिदमर कम्प्युटरलाई अजैविक एल्गोरिदम हो भन्ने अवधारणा सारेका छन् । हुन पनि आधुनिक विज्ञानका अनुसार, मानिसका खुशी, हाँसो, वेदना जस्ता अनुभूतिहरु मस्तिष्कमा हुने विभिन्न रसायनहरुको उत्पादनको परिणाम मात्रै हो । र, ती जैविक एल्गोरिदमहरु अरबौं वर्षको प्रकृति छनौटको परिणाम हुन् । एल्गोरिदम भनेको एउटा क्रमिक कार्यप्रणाली (step-by-step methodology) हो, जसले विभिन्न सूचनाहरुलाई प्रशोधन गरेर समस्याको समाधान गर्ने (problem solving) र निर्णय लिने (decision making) काम गर्दछ ।

हरारी भन्छन्, एल्गोरिदम चाहे जैविक होस् या अजैविक दुवैले उस्तै काम गर्ने हुन् । त्यसकारण मानवरुपी अग्लोरिदमलाई अजैविक एल्गोरिदम अर्थात आर्टिफिसियल इन्टेलिजेन्सले प्रगतिको दौडमा पछि छोडिदिन सक्छ ।

यसरी मानव देवनामक नयाँ प्रजाति (biological cast) निर्माण भएपछि अहिलेको पृथ्वीको राजा भएको निवर्तमान मानवप्रजातिको भविश्य कस्तो होला ? पुस्तकको अन्तिम अंश यसैमा केन्दि्रत छ ।

नयाँ आउने मानवदेवहरुले मानवजातिको रोजगारी मात्रै होइन, निर्णय क्षमताको प्राधिकार खोसिदिनेछन् । जसरी अहिले नक्सा र ट्याक्सीलाई कम्प्युटर र रोबोटहरुले नियन्त्रण गरेर चलाइरहेका छन्, हाम्रो भावना र भाग्यमा उनीहरुले नियन्त्रण गर्नेछन् । त्यस्ता नयाँ मानव देवहरुले पनि अहिलेका मानवले जस्तै कविता लेख्नेछन्, चित्रकला बनाउने छन् । हामीले जस्तै हेर्ने, अनुभव गर्ने, मायाप्रेम गर्ने जस्ता मानवजन्य व्यवहारहरु गर्नेछन् । तर, हामीले भन्दा उन्नत हिसाबले गर्नेछन्, जसले गर्दा अहिलेको संसारको मालिक बनेको मानवजाति भविश्यमा निकम्मा र अप्रासंगिक हुनेछन् । त्यस प्रकृयाको शुरुवात पनि भइसकेको छ ।

मानव देवको उत्पत्तिसँगै यस पृथ्वीको उत्पत्तिको नियम बदलिने छ । यस पृथ्वीमा जीवनको उत्पत्ति भएदेखि नै मानव लगायत सम्पूर्ण जीवजगत एउटै प्रणालीमा आधारित भएर बाँचेका छन् । चाहे त्यो एक कोषीय जीव अमिवा होस् या भीमकाय डाइनासोर । या आफूलाई सर्वश्रेष्ठ दावी गर्ने मानव नै किन नहोस्, सबैले प्रकृति छनौटको कठिन परीक्षा पार गरेर यहाँसम्म आइपुगेका हुन् । अब त्यो प्रकृति छनौटलाई मानव निर्मित बुद्धिमत्तापूर्ण छनौट (intelligent design) ले विस्थापित गरिदिनेछ । र, यदि त्यो सफल भएमा पृथ्वीको इतिहासमै सबैभन्दा ठूलो क्रान्ति हुनेछ ।

मानवले पृथ्वीको ४ अरब वर्ष पहिलेदेखि चली आएको नियम फेर्ने प्रयास मात्रै होइन, आफ्नो प्रगतिका लागि पृथ्वीको जैविक प्रणालीमा धावा बोलिसकेका छन् । पृथ्वीको जलवायू र वातावरणमा मानव कृयाकलापको प्रभाव उल्लेख्य भएकाले वैज्ञानिकहरुले अहिलेको युगलाई मानव युग (anthropocene) भनेका छन् ।

पुस्तकको दोस्रो भागमा यसका बारेमा वर्णन छ । मानव प्रजातिका कारण यतिखेर पृथ्वी पर्यावरणिय हिसावले विनाशको संघारमा उभिएको छ । हरारी लेख्छन्, यो विनाश उसले चाहेर भन्दा पनि प्रकृतिको जटिलतालाई बुझ्न नसक्नुको परिणाम हो । मानवले प्रकृतिमाथि नियन्त्रण त गरे तर यसको अवयवहरुलाई बुझ्न नसक्दा पृथ्वीको सन्तुलन बिगारे । यतिखेर मानवले २१ औं शताब्दीमा आफ्नो मन, मस्तिष्क र शरिर (जुन एकदमै जटिल प्रणाली हो) लाई बदल्न खोज्दैछ । जसरी मानव जातिले विगतमा पृथ्वीको जटिल पर्यावरणीय सन्तुलन विगार्यो त्यसरी नै आफुभित्रको जटिल मानविय प्रणालीको सन्तुलनलाई विगारेर भविश्यमा थप महाविपत्ति निम्त्याउन पनि सक्छ । त्यसकारण हरारी लेख्छन्, अबको प्राविधिक विकासले खोल्ने प्यान्डोरा बक्सको भविश्य यसै भन्न सकिँदैन् ।

पेनिसिलिनको सुईदेखि जीपीएस र माइक्रोवेभसम्म, नाइलनको डोरीदेखि ड्रोनसम्मका प्रविधिहरु सेनाहरुले पहिले प्रयोग गरेपछि मात्रै नागरिक प्रयोगका लागि खुला भएका हुन्

नयाँ विशिष्ट मानवजातिको सिर्जनासँगै हाल विद्यमान आर्थिक र सामाजिक असमानता जैविक असमानतामा रुपान्तरण हुनेछ । अहिले संसारमा धनी र गरिबवीच एवं शासक र शासितवीच आर्थिक, सामाजिक र राजनैतिक असमानता मात्रै छ । दुई वर्गवीच धन, शक्ति, उनीहरुले पालना गर्नुपर्ने नियम कानुन आदिमा मात्रै असमानता छ । यद्यपि राजा होस् या रंक, उनीहरुको प्राकृतिक क्षमता उस्तै छ । तर, इतिहासमा पहिलो पटक जैविक असमानताको भीमकाय खाडल खन्ने शुरुवात भइसकेको छ । भलै त्यो सुक्ष्म रुपमा अहिले पनि देखिन्छ, जस्तो- धनी मुलुकका र गरिब मुलुकका एकै उमेरका केटाकेटीको उचाइमा भिन्नता पाइन्छ । तर, अबको असमानता त्यस्तो सुक्ष्म होइन, पैसा भएका र नयाँ प्रविधी मार्फत आफूलाई फेर्न सक्ने विशिष्ट मानव र त्यो नभएका सामान्य मानववीच जैविक बनोट, बुद्धि, कौशलमा नै ठूलो भिन्नता हुने सम्भावना छ । हरारी भन्छन्, त्यस्तो भिन्नताको खाडल एकपल्ट खनेपछि त्यसलाई मेटाउन प्रायः असम्भव हुनेछ ।

रोबोट, आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटरहरुले आफूलाई विकास गर्दै जाँदा उनीहरुले मानिसले भन्दा उच्च कौशलका साथ काम गर्नेछन् र ठूलो संख्याका मानिसहरु निकम्मा हुनेछन् । मानवजाति कम्प्युटरसँगको प्रतिस्पर्धाबाट बाहिरिनेछ । र, त्यो प्रकृयाको पनि शुरुवात भइसकेको छ ।

हरारी लेख्छन्, गएका दुई शताब्दी जनसमुदायको शताब्दी थियो । १९ औं शताब्दीपछि राज्यले ठूलो लगानी आम जनताको शिक्षा र स्वास्थ्यमा खर्च गर्दथ्यो । किनभने वृहद संख्याका मानिसहरुले खेतीपाति, कलकारखानार सेनामा काम गरेमा राष्ट्र धनी र शक्तिशाली हुन्थ्यो । त्यसले जतिसुकै निरंकुश र क्रुर शासक भए पनि उसले आम जनतामा गरेको लगानीको प्रतिफल प्राप्त गर्न सक्दथ्यो ।

इतिहासमै पहिलोपटक ठूलो संख्याका मानिसहरु निकम्मा मात्रै होइन, रोजगारीका लागि अयोग्य ठहरिने छन्

त्यतिवेला राज्यले आफूलाई शक्तिशाली बनाउन उत्कृष्ट युवाहरुलाई सेनामा भर्ति गर्दथ्यो । संसारभर कुनै बेला कब्जा जमाएको बेलायतले आफ्नो सेना बलियो बनाउन नेपालसम्म सुरा र वलिया युवाहरु खोज्न अहिलेसम्म आउँछ । तर आज संसारको शक्तिशाली सेनाहरु सुरा र बलिया युवाहरुमा होइन, तिब्रगतिका कम्प्युटर, स्वचालित जहाज -ड्रोन), क्यामेरा र स्याटेलाइटको निगरानी जस्ता प्रविधिहरुमा भर पर्न थालेका छन् । मानव संशाधनमा भन्दा त्यस्ता प्रविधिमा धेरै खर्च गर्न थालेका छन् ।

वैज्ञानिक अनुसन्धानको इतिहास हेर्ने हो भने, सैनिक अनुसन्धानहरु जहिले पनि आमनागरिकको अनुसन्धान भन्दा करिब १०, १५ बर्ष अघि हुन्छ । पेनिसिलिनको सुईदेखि जीपीएस र माइक्रोवेभसम्म, नाइलनको डोरीदेखि ड्रोनसम्मका प्रविधिहरु सेनाहरुले पहिले प्रयोग गरेपछि मात्रै नागरिक प्रयोगका लागि खुला भएका हुन् ।

त्यसकारण लाखौं मान्छेहरुको आकर्षक रोजगारीको थलो बनेको सैनिक संरचनाहरु म्ाानवमा कम, मेसिनमा ज्यादा भर पर्न थाल्नुले आम जनसमुदाय सैन्य क्षेत्रका लागि विस्तारै निकम्मा हुँदै गएको संकेत गर्दछ । अब त्यहाँ ठूलो सैन्यवल होइन, केही संख्याका कम्प्युटर चलाउने जान्ने नियन्त्रकहरु मात्रै आवश्यक पर्नेछ ।

जसरी औद्योगिक क्रान्तिले मजदुर वर्गको निर्माण गर्‍यो, अबको ठूलो प्राविधिक क्रान्तिले निकम्मा वर्ग निमार्ण गर्दैछ

अहिले मानव सैन्य र रियलस्टेटको क्षेत्रमा कम्प्युटरले मानिसलाई विस्थापित गरेजस्तै केही बर्षभित्रै मानव ड्राईभर, डाक्टर र एकाउन्टेन्ट आदिलाई कप्युटरले विस्थापित गरिदिनेछ । र,इतिहासमै पहिलोपटक ठूलो संख्याका मानिसहरु निकम्मा मात्रै होइन, रोजगारीका लागि अयोग्य ठहरिने छन् ।

हुन त मेसिनले मानिसलाई प्रतिस्थापन गर्ने प्रकृया इतिहासमा नयाँ होइन । जब २० औं शताब्दीमा कृषिमा स्वचालित प्रविधिको विकास भयो त्यस क्षेत्रबाट विस्थापित भएका कृषकहरु कारखानामा काम गर्ने मजदुरमा फेरिए । जब कलकारखानाहरु स्वचालित हुन थाले, ठूलो संख्याका मजदुरहरु सेवादायक क्षेत्रहरुमा काम गर्ने भए । तर, इतिहासमा जसरी कृषकबाट मजदुर र मजदुरबाट जनसेवकमा फेरिन मानिसलाई सजिलो भयो, भविश्यमा त्यस्तो रुपान्तरण कठिन हुनेछ । स्वचालित कार वा ट्रकबाट विस्थापित हुने ड्राइभरहरुले केही बर्षमा नै कम्प्युटर प्रोग्राम सिकेर नयाँ काम पाउने क्षमताको विकास गर्न कृषकबाट मजदुर बनेभन्दा कयौं गुणा गाह्रो हुनेछ ।

पछिल्लो समयमा मानव निर्णयहरुलाई उसका अनुभूतिले मार्गदर्शन गर्दछन्, न कि अमूक भगवानको दुतको आदेशले

रोजगारको अभावमा आर्थिक र सैन्य उत्पादनको हिस्सा बन्न नसकेपछि मानिसले राजनैतिक अधिकार (जस्तै ट्रेड युनियन खोल्ने) पनि गुमाउने छ । जसरी औद्योगिक क्रान्तिले मजदुर वर्गको निर्माण गर्‍यो, अबको ठूलो प्राविधिक क्रान्तिले निकम्मा वर्ग निमार्ण गर्दैछ । त्यसकारण एकातिर आफ्नो आयु, क्षमता, प्रतिभा, कौशल बढाएका केही विशिष्ट मानव र अर्कोतिर करोडौंको संख्यामा रोजगारविहीन, आर्थिक, सामरिक र राजनैतिक महत्व नभएका सामान्य मानव विचको अन्तर कार्लमाक्र्सले भनेको बुर्जवा र मजदुरवीचको अन्तर भन्दा निकै भयावह हुनेछ ।

हरारीले देखेको मानव भविश्यको अर्को सम्भावना भनेको मानव जातिसँग भएको निर्णय क्षमताको प्राधिकार मानवभन्दा बढी बुद्धिमान एल्गोरिदमको नियन्त्रमा पुग्ने हो । उनी भन्छन्, केही शताब्दी पहिले मानव निर्णयहरु भगवानलाई सोधेर गरिन्थ्यो । भगवानसम्म पुग्न असम्भव भएकाले भगवानको दुतका रुपमा पादरी, पुजारी, पण्डितलाई सोधिन्थो । कहिले बिहे गर्ने, कोसँग गर्ने, कुन खाना खाने, कुन लुगा लगाउनेजस्ता निर्णयहरु भगवानका दुतहरु या उनीहरुले बनाएका नियमहरु मार्फत गरिन्थ्यो । केटाकेटीको जात नमिलेका कारण दुवैले चाहे पनि बिहे गर्न पाइँदैन किनभने त्यो सम्बन्ध अमूक धर्मअनुसार बर्जित छ । अमूक जनावरको मासु खान हुँदैन, त्यो खाएमा नर्क गइन्छ । पति नभएकाहरुले रातो वस्त्र धारण गरे सामाजिक संरचनामा खलल पुग्छ आदि इत्यादि । तर, पछिल्लो समयमा मानव निर्णयहरुलाई उसका अनुभूतिले मार्गदर्शन गर्दछन्, न कि अमूक भगवानको दुतको आदेशले । मानव अनुभूति भनेको लाखौं बर्षदेखि प्रकृतिको संघर्षको क्रममा उत्पन्न जैविक एल्गोरिदम हो । त्यसैको आदेश मानेर अहिले मानव आफ्नो मनको राजा आफै भएको छ ।

तर, यतिखेर मानवको त्यो निर्णयको प्राधिकार क्रमशः कम्प्युटरतिर सर्दै जान थालेको छ । आफैंलाई सजिलो लाग्ने संधै हिँडिरहने बाटोको साटो गुगल वा त्यस्तै एल्गोरिदमले देखाउने बाटोमाथि हाम्रो भरोसा बढ्न थालेकोछ । हामीलाई थाहा नहुने सूचना (जस्तो बाटोमा ट्राफिक जाम भइरहेको कुरा) कम्प्युटरको म्यापले अर्को कम्प्युटरबाट थाहा पाएर आफूलाई अपडेट गरिसकेको हुन्छ । त्यसले गर्दा सधैं हिँडिरहने परिचित बाटोको यात्रा गर्दा पनि कुनबाटो हिँड्ने भन्ने मानव निर्णय कम्प्युटरको नियन्त्रणबाट चल्दछ ।

के पढ्दा कस्तो अनुभव भएको मात्रै होइन, कतिवेला कोसँग डेट गएको र डेट जाँदा दिमागमा के कुरा खेलेको वा कुन कफी पसलको कफीलाई मन पराएको (लाइक गरेको) जस्ता प्रत्येक सूचनाहरु कम्प्युटरमा संग्रह भएपछि र त्यसलाई खोजेका बेला हेर्न सकिने भएपछि मानिसले आफूलाई बुझेको भन्दा बढी कम्प्युटरले मानिसलाई बुझ्नेछ

एम्याजोनको इलेक्टोनिक किताब रिडर किन्डलको उदाहरण दिँदै हरारी भन्छन्, यतिखेर मानिसले किताब पढ्दैनन् बरु किताबले मानिसलाई पढ्छ । अर्थात तपाईले किताब पढ्दा कुनपेजलाई अन्डरलाइन गर्नुभयो, कुनपेज कति ढीलो छिटो पढ्नुभयो सबै सूचना किन्डलले लिएर तपाईलाई पढिरहेको हुन्छ । जतिबेला किन्डलमा शरीरको सुगर, ब्लडप्रेसर आदि नाप्ने वायोमेटि्रक सेन्सर र अनुहार चिन्ने प्रविधि (face recognition technology) जोडिनेछ, त्यतिबेला पुस्तकको कुन पाना पढ्दा तपाईको मुटुको धडकन बढ्यो वा दिमागमा खुशी या विस्मातको तरंग पैदा भयो भन्नेसम्मका सबै व्यक्तिगत अनुभव किन्डलले थाहा पाउनेछ ।

किताव पढेर सकाउँदासम्म ती व्यक्तिगत अनुभवहरु क्षणभंगुर भएर जानेछन् । तर, किन्डलले ती सबै कुरा सुरक्षित राख्नेछ र चाहेको बखत तुरुन्तै खोजेर दिनेछ ।

मानिसले आफूले पढेका किताबका पानाहरु, खाना खाएको रेष्टुरेन्ट, चढेको ट्याक्सी बिर्सन सक्छ, तर सबैको तथ्यांक राख्ने कम्प्युटरले सम्झिरहेको हुन्छ । के पढ्दा कस्तो अनुभव भएको मात्रै होइन, कतिवेला कोसँग डेट गएको र डेट जाँदा दिमागमा के कुरा खेलेको वा कुन कफी पसलको कफीलाई मन पराएको (लाइक गरेको) जस्ता प्रत्येक सूचनाहरु कम्प्युटरमा संग्रह भएपछि र त्यसलाई खोजेका बेला हेर्न सकिने भएपछि मानिसले आफूलाई बुझेको भन्दा बढी कम्प्युटरले मानिसलाई बुझ्नेछ ।

पहिला सूचनामा नियन्त्रण गरेर सेन्सरसिप लागु गरिन्थ्यो, यतिखेर गलत सूचनाको बाढी ल्याएर सेन्सरसिप लागु गरिन्छ । तथ्यांक हुनेहरुले यसरी नयाँ सेन्सरसिप लागु गर्न सक्नेछन्

त्यस्तो परिस्थितिमा व्यक्तिगत अनुभूतिका आधारमा गरिने निर्णयहरु कम्प्युटर एल्गोरिदममा सर्नु अनौठो हुनेछैन । आखिर निर्णय प्रकृया जुनै एल्गोरिदमको पनि उही नै हो । खासमा मानिसको निर्णय क्षमता कम्प्युटरको नियन्त्रणमा पुग्ने भने पनि त्यो कुरा एम्याजोन, गुगल र फेसबुक जस्ता तथ्यांकका वादशाहहरुका हातमा पुग्नेछ, जसको मन्त्र तथ्यांकवाद हो ।
प्रत्येक मानिसको इतिवृतान्त थाहा पाएपछि उनीहरुले भन्न थाल्नेछन्, यो किताब तिम्रो रुची सुहाउँदो छ, पढ । फलाना केटी वा केटासँग तिम्रो स्वभाव मिल्छ, उसँग डेट जाउ । ढिस्काना राजनैतिक पार्टीसँग तिम्रो एजेन्डा मिल्छ र तिम्रा थुप्रै साथीहरुले त्यो पार्टीलाई यसपालि भोट दिने भनेका छन्, तिमी पनि उसलाई भोट गर ।

गएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा फेसबुक मार्फत चुनावी भोट प्रभावित गर्न खोजेको कुरा आइसकेको छ । भर्खरै सम्पन्न यूरोपको चुनावमा फेसबुक निगरानीमा थियो । हरारी लेख्छन्, नयाँ तथ्यांकवाद मौलाउँदा मानववादले भन्छ, आफ्नो अनुभूतिको आवाज सुन, तथ्यांकवादले भन्छ, एल्गोरिदमलाई सुन ।

यदि हामीले आफूभन्दा निम्सरो ठानेका प्राणीहरुको दुःखकष्टको कुनै मूल्य छैन भन्ठान्ने हो भने निकट भविश्यमा नै त्यो नियमको डन्डा खान आफूलाई अहिले नै तयार राख्नुपर्दछ

यस्ता भीमकाय तथ्यांकहरु केही मान्छेसँग हुँदा उसले त्यसलाई सकारात्मक रुपमा प्रयोग गर्न पनि सक्छ, नकारात्मक रुपमा पनि । पहिला सूचनामा नियन्त्रण गरेर सेन्सरसिप लागु गरिन्थ्यो, यतिखेर गलत सूचनाको बाढी ल्याएर सेन्सरसिप लागु गरिन्छ । तथ्यांक हुनेहरुले यसरी नयाँ सेन्सरसिप लागु गर्न सक्नेछन् ।

पुस्तकमा मानव भविश्यका यति धेरै सम्भावनाहरु प्रस्तुत गरिसकेपछि हरारी भन्छन्, यी सबै सम्भावनाहरु हुन् भविश्यवाणीहरु होइनन् । १२ औं शताब्दीमा १३ औं शताब्दीमा के हुन्छ भन्ने कुराको भविश्यवाणी गर्न सहज थियो, तर अहिले प्रविधिको द्रुत विकासका कारण २२ औं शताब्दीमा के हुन्छ भन्ने अहिलेको कल्पना बाहिरको कुरा भएको छ । अहिले नै २२ औं शताब्दीको भविश्यवाणी गर्नु समयको वर्वादी मात्रै हो । अब आउने विशिष्ट मानवले हामीलाई कस्तो व्यवहार गर्ला भन्ने कुरा हामीले अन्य जनावरलाई अहिले कस्तो व्यवहार गरिरहेका छौं भन्ने कुराले संकेत गर्छ । त्यसकारण अहिले आफू शक्तिशाली हुँदा आफूले अन्य प्रजातिमाथि थोपरेको कष्ट, पीडा र पृथ्वीमाथिको दोहनप्रति जिम्मेबार हुन उपयुक्त हुने उनको सुझाव छ ।यदि हामीले आफूभन्दा निम्सरो ठानेका प्राणीहरुको दुःखकष्टको कुनै मूल्य छैन भन्ठान्ने हो भने निकट भविश्यमा नै त्यो नियमको डन्डा खान आफूलाई अहिले नै तयार राख्नुपर्दछ ।

अन्त्यमा, कम्प्युटरले मानवले भन्दा बढी बुद्धि (intelligence) हासिल गर्ला, तर बुद्धिमान हुनु र चेतनशील (consciousness) हुनु भनेको फरक कुराहरु हुन् । हरारी थप्छन्, प्रविधि भनेको निर्धारणात्मक (deterministic) हुँदैन । अर्थात यसले त्यो वा यो गर नगर आफैं भन्दैन । त्यसको प्रविधि प्रयोगको नैतिक मापदन्डको निर्धारण फेरि पनि मानवले नै गर्ने हो । अहिले विशिष्ट मानवहरुको निमार्णमा लागेका व्यक्ति, कम्पनी र सरकारहरुले त्यसको सम्भावित नकारात्मक पक्षहरुका बारेमा सचेत हुनैपर्दछ । २१ औं शताब्दीको आधारभूत नैतिक प्रश्न के मानवसँग प्रकृतिको चलिआएको नियम र यसको परिणामलाई फेरवदल गर्ने एकल अधिकार छ ?

पुस्तकको विट मार्दै हरारी लेख्छन्, विज्ञानले भनेजस्तै के साँच्चै जीवहरु भनेको एल्गोरिदम र जीवन भनेको तथ्यांक प्रशोधन मात्रै हो ? बुद्धि र चेतना छुटि्टँदै जाँदा कुन बढी महत्वपूर्ण हुन्छ ? चेतना नभएको तर तीक्ष्ण बुद्धि भएको एल्गोरिदमले हामीलाई आफैंले भन्दा बढी बुझ्न थालेपछि मानव समाज, राजनैतिक अवस्था र दैनिक जनजीवन कस्तो होला ?

यो पनि पढ्नुस्

मानव इतिहास र भविष्यको लेखाजोखा (भाग एक)

२०७४ साउन २ गते १८:५१ मा प्रकाशित (२०७४ साउन ४ गते १८:२२मा अद्यावधिक गरिएको)

लेखक परिचय

डा. उत्तमबाबु श्रेष्ठ

वातावरण विज्ञानमा अमेरिकाबाट विद्यावारिधि गरेका श्रेष्ठ समसामयिक विषयका साथै विषेश गरी विज्ञान-प्रविधि, नीति, वातावरण र मानवसम्बन्धको अध्ययन अनुसन्धानमा रुची राख्छन् । फोटोग्राफीका शौखिन श्रेष्ठमा फोटोहरुले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।
लेखकबाट थप
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७ प्रतिकृयाहरू प्राप्त
  • Drj लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १२:४८

    मानिसले आफ्ना सुख सुविधाको लागी प्रविधि र प्राकृतिक श्रोतसाधनको प्रयोग गर्नु केही हदसम्म ठीकहोला तर त्यस्को एक सीमा हुन्छ मान्छेले यो बिर्सनुहुन्न कि स्वयं मानिस पनि प्रकृतिको एक अंग हो र प्रकृति भन्दा भिन्न यस्को अस्तित्व रहन सक्दैन तसर्थ दिगो विकास अहिलेको अहम मुद्दाहो, सम्पूर्ण जीव वनस्पति र पर्यावरणको सुरक्षा गर्दै मान्छेले अघि बढ्नु बुद्धिमानीहो र यो चेतना बिस्तारै बढ्दै पनि छ | पृथ्वीमा मानव जनसंख्या बढीमा कति हुनु पर्छ भन्ने कुरामा पनि गहन अध्ययन हुनु आवश्यक देखिन्छ| लगातार जनसंख्या वृद्धि भैरहने हो भने यस्को भार पर्यावरणमा नपरि रहन सक्दैन, जनसंख्या बढाउने अनि त्यसलाइ खुवाउन कृषिमा जिएमओ बीउ बिजन, घातक रासायनिक प्रगोग गरी निम्नस्तरीय खाना उत्पादन पनि बढाउनुको तुक छैन, उत्कृष्ट जीवनको गुणस्तरको लागी मानव संख्या वृद्धिमा अंकुश लगाउनु पर्छ |
    लेखकले पृथ्वीमा जीवन कति संवेदनशील (fragile) छ भन्ने पाटो लेख्न छुटाएछन जस्तो लाग्यो एउटा उल्कापिण्ड खस्दा पृथ्वी बाट डाइनोसोर लगायत जमीनमा बस्ने कैयो प्रजाति सखाप भएको थियो तेस्तै मानव पनि कुन समयमा सखाप हुने हो भन्न सक्ने अवस्था छैन, यस्तो क्षणबाट जीवन लाइ जोगाउन वैज्ञानिकहरु मंगल वा अन्यग्रहमा बस्ति बसाल्ने बारे पनि प्रयास गरी रहेका छन |

    6
    0
    Share

  • Rajendra Raj Timilsina लेख्नुहुन्छ    |   २०७४ असार ३० गते २२:०५

    मीठो । धन्यवाद डा. उत्तमबाबु श्रेष्ठ । हरारीको मानवदेव भनेको सत्य युगको पौराणिक मानवसंग जोड्न सकिने देख्छु जहाँ सत्य युगमा ऋषि वशिष्ठ र राजा निमीबीचको मतभेद, मृत्यु र पुनर्जीवन हुन्छ । त्यसपछिको सम्झौता अनुसार मात्रै मानवले आाखा झिम्क्याउन थालेको हो । रजस्वलाबिना नै जन्मिने मानसप्रजा हुने जस्ता कथन भविष्यको यो मानवदेवसंग मिल्ने पनि देख्छु ।

    यस्तो रिभ्यु लेखिरहनुहोला है ।

    1
    0
    Share

  • Krishna Prasad Ghimire लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते ११:०१

    धन्यवाद डा. उत्तमबाबु श्रेष्ठ jankariko jali

    1
    0
    Share

  • upendrag लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १७:०६

    teshro bhag pani chh ki?

    0
    0
    Share

  • निश्चल लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १७:२३

    Thanks a lot … Uttam shrestha ji

    0
    0
    Share

  • Dhruba लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते १७:२५

    thanks uttam shrestha ji

    0
    0
    Share

  • Dambar Bohora लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते ७:५५

    एकदमै रोचक एवम ज्ञानबर्दक । कुनैदिन मान्छे बाहेक अर्को कुनै प्राणिले आफूलाई बिकास गरेर मान्छे सहित सबै प्राणीलाई शासन गर्ला कि नगर्ला ???

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this