शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

फ्रान्स र नेपालमा  धेरै कुरा मिल्दाजुल्दा छन्

चर्चित फ्रान्सेली रक्सीदेखि राजनीतिक क्रान्तिसम्म

अनलाइनखबर

३० असार, काठमाडौं । नेपालका लागि फ्रान्सेली राजदूत इभ कारमोना फ्रान्सको ‘वाइन राजधानी’ का बासिन्दा हुन् । हालै अनलाइनखबरसँगको अन्तरवार्तामा उनले शुक्रबार मनाइने फ्रान्सको राष्ट्रिय दिवस, फ्रान्सेलीहरूको नेपालप्रतिको हेराइ र उनलाई मनपर्ने नेपाली ‘ड्रिङ्क’ का विषयमा कुरा गरेका थिएः

नेपालमा प्रजातन्त्र दिवसको दिन टुँडीखेलमा परेड हुन्छ, अनि दिनभर विभिन्न कार्यक्रमहरूको आयोजना गरिन्छ । फ्रान्समा चाहिँ राष्ट्रिय दिवस कसरी मनाइन्छ ?

फ्रान्सको राष्ट्रिय दिवस हरेक वर्षको १४ जुलाइमा मनाइन्छ । यो दिनमा नै राष्ट्रिय दिवस मनाउनुका दुई कारणहरू छन् । पहिलो: सन् १७८९ मा पेरिसका जनताले तानाशाही राजतन्त्रको द्योतकका रूपमा रहेको ब्यास्टी जेल कब्जा गरेको स्मरण गर्न र दोश्रो: सन् १७९० मा फ्रान्सेली जनता १४ जुलाईमा ब्यास्टीमै जम्मा भएर अब हाम्रो देश संघीयतामा जानुपर्छ भनेर गरेको निर्णय सम्झिन ।

इतिहासमा हेर्ने हो भने फ्रान्समा राजतन्त्र विभिन्न समयमा फिर्ता आयो, त्यस कारण केही वर्ष राष्ट्रिय दिवस मनाइएन । त्यसैले हामी के भन्ने गर्छौँ भने १४ जुलाई २०० वर्ष देखि फ्रान्सको राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ, केही वर्षहरूमा बाहेक ।

राष्ट्रिय दिवसका दिन पेरिसमा सेनाले परेडको आयोजना गर्छ । कार्यक्रम लगभग २-३ घण्टासम्मको हुन्छ । हरेक वर्ष राष्ट्रपतिज्यूले सेनाको कुन टुकडीले परेडमा भाग लिने भनेर निर्णय गर्नुहुन्छ । त्यसै गरी हरेक वर्ष फ्रान्सले एकजना विशिष्ठ पाहुनालाई पनि कार्यक्रममा सरिक हुन निम्तो दिने गरेको छ । यसपालि चाहिँ राष्ट्रपति ट्रम्प आउनुहुने भएको छ । पूरै कार्यक्रम फ्रान्सको राष्ट्रिय टीभी ‘टिभी स्याङ्क’ (टिभी फाइभ) मा हेर्न सकिने छ ।

यस बाहेको १३ जुलाईमा हरेक वर्ष फ्रान्सका विभिन्न भागहरूमा ‘बल’ (विशेष प्रकारको नाच) को आयोजना गरिन्छ । फ्रान्सेली संस्कृतिका अनुसार धेरै जसो ठाउँहरुमा दमकलका कर्मचारीले यस्तो कार्यक्रमको आयोजना गर्ने गर्दछन् । कार्यक्रमहरु राति अबेरसम्म चल्ने गर्दछन् ।

नेपाल लगायत अरु देशहरूमा चाहिँ फ्रान्सको राष्ट्रिय दिवस कसरी मनाइन्छ ?

मैले यसपालि टीभी स्याङ्कमा देखाइने लाइभ कार्यक्रमलाई रेकर्ड गर्ने र फ्रान्सेली दूतावासले १४ जुलाईमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रोजेक्टर मार्फत देखाउने व्यवस्था मिलाइसकेको छु । फ्रान्सको सरकारी नीतिअनुसार संसारभरका फ्रान्सेली मिसनहरूको दायित्व हो राष्ट्रिय दिवसमा एउटा औपचारिक कार्यक्रमको आयोजना गर्नु र त्यहाँका गन्यमान्य व्यक्तिहरूलाई निम्तो दिनु । यसपालि नेपालका उपराष्ट्रपति हाम्रो कार्यक्रममा पाल्नुहुने भएको छ ।

म पहिले राजदूत भएर गएको ठाउँहरूमा धेरै फ्रान्सेली रेष्टुराहरू थिए, त्यसैले त्यहाँ फ्रान्सको प्रतिनिधि खानाहरूको राम्रो प्रदर्शनी भएको थियो । यहाँ त्यति धेरै फ्रान्सेली रेष्टुराहरू छैनन् त्यसैले धेरै कुरा सम्भव छैन । त्यही पनि हामीले राम्रो कार्यक्रमको आयोना गर्दै छौँ ।

फ्रान्सेली राष्ट्रिय दिवस फ्रान्सको ठूलो चाडजस्तै रहेछ । भनिन्छ, कुनै पनि फ्रान्सेली सेलिब्रेसनमा वाइनको ठूलो महत्व हुन्छ । राजदुतज्यू त झन् फ्रान्सको वाइन राजधानी बोर्डूका वासिन्दा हुनुहुन्छ ।

यी कुराहरुले मेरा पुराना दिन याद आए । मेरो घर ठ्याक्कै बोर्डूमा होइन बोर्डू शहर नजिकै हो । तर, बोर्डु वाइन बोर्डुमा बन्ने होइन, त्यस वरिपरिका शहरमा बन्ने हो । मेरो घर बोर्डुबाट केही किलोमिटर टाढा पर्छ ।

 

राजदूतज्यूले पुराना दिनहरू‘ को कुरा गर्नुभयोपक्कै पनि बोर्डुको वाइन  कल्चरतिर इङ्गित गर्नुभएको होला । कस्तो छ त बोर्डूको वाइन कल्चर बोर्डूको वासिन्दा हुँदा तपाईँको अनुभव कस्तो रह्यो 

बोर्डू ऐतिहासिक रुपमै एउटा व्यापारीहरूको शहर हो । म १०-११ कक्षामा पढ्दा र पछि विश्व विद्यालय जाने भइसक्दा पनि अङ्गुर टिप्ने सिजनमा म ‘भाइन यार्ड’ मा ‘पकेट मनी’का लागि काम गर्थेँ । के हुन्थ्यो भने अङ्गुर टिप्ने सिजन अगष्ट‍-सेप्टेम्बरमा पर्छ, त्योबेला प्राय: स्कूल, कलेजहरू बन्द नै हुने गर्दछन् । वाइनका लागि अङ्गुर टिप्नु सजिलो काम भने होइन । नेपालमा धान रोपिन्छ नि, ठ्याक्कै त्यस्तै हो । त्यहाँको वातावरण नै बेग्लै हुन्छ । शुरू शुरुमा म अङ्गुर टिप्ने काम गर्थेँ, तर पछिका वर्षहरूमा बोक्ने काम पनि मैले गरेँ । यहाँको डोको जस्तो भाँडोमा अङ्गुर बोक्ने अनि ट्याक्टरमा खनाउने काम । मलाई लाग्छ यो सन् १९६० तिर को कुरा हो । भाइन यार्डमा काम गर्ने बेला मैले थुप्रै मानिसहरूलाई भेट्थेँ, साह्रै रमाइलो हुन्थ्यो ।

अमेरिकीहरु, जिप्सीहरू र स्पेनीहरू फ्रान्समा अङ्गुर टिप्न आउँथे । वाइन बनाउनु कुनै सरल प्रक्रिया होइन । यसका लागि धेरै वर्षको अनुभव र टेक्निकल आइडिया चाहिन्छ । भाइन यार्डका मुख्य कर्मचारी बिहान उठ्छन् अनि मौसम हेरेर आज के गर्ने हो भनेर विचार गर्छन् ।

संसारभर नै फ्रान्सेली संस्कृतिलाई निकै सोफिस्टिकेटेड‘ मानिन्छ । के फ्रान्सको वाइन कल्चर पनि यसैको प्रतिविम्ब हो त ?

म तपाईँको भनाई प्रति सहमत छु । तर, वाइन भनेकै खालि फ्रान्सेली मात्रै हुँदैन । वाइन बनाउनु एउटा कला हो । यसमा टक्नोलोजी र संसकृतिको कुराहरुको साथै मौसम र हावा पानीको पनि ठूलो महत्व हुन्छ । फ्रान्सेली भाषामा हामी यसलाई ‘टेर्वा’ भन्छौँ । राम्रो टेर्वामा उत्पादित वाइन राम्रो हुन्छ । जस्तै कि क्यालिफोर्नियाको वाइन अथवा स्पेनको वाइन । यसो भनिरहँदा हामीले यो पनि बिर्सनुहुँदैन कि वाइन बनाउनु कार बनाउनु जस्तो होइन, जो जहाँ चाहियो, जति चाहियो उति बनाउन सकियोस् ।

मैले वाइन व्यापारमा लाग्ने सोच कहिल्यै बनाइनँ । म त खालि बिटल्सको रेकर्ड किन्न पैसाको जोहो गर्न मात्रै त्यहाँ काम गर्न गएको । तर, मैले धेरै कुरो सिकेँ वाइन उत्पादनमा संलग्न भएर ।

महामहिमले वाइन व्यापारमा धेरै कुरो सिक्नुभयो भन्नुभयो । के त्यहाँ सिकेका कुराहरू तपाईँको कुटनीतिक करियरमा पनि काम लागे ?

हाहा, राम्रो प्रश्न । ठ्याक्कै वाइनमै काम गरेकै कारण मलाई कुटनीतिज्ञ बन्ने रहर लाग्यो भनेर म भन्दिनँ । तर, २ वटा कुरामा मेरो भाइन यार्ड अनुभवले मलाई कूटनीतिज्ञ हुन मद्दत गर्यो । म त्यहाँ काम गर्दा मैले आफ्नो रहनसहन र जीवनशैली भन्दा फरक जीवनशैली अपनाएका मानिसहरूलाई भेट्ने मौका पाएँ ।युरोपको फिरन्ते जाति जिप्सीहरूसँग समय बिताउन पाएँ । उनीहरूको क्याम्पमा बसेर गितार पनि सुनियो,गीत गाइयो र नाचियो पनि ।

अर्को कुरो चाहिँ मैले पछि इतिहास विषय लिएर पढेँ । अध्ययनको क्रममा मैले बोर्डू र युरोपबीचको व्यापारका बारेमा थुप्रै किताबहरू पढेँ । यसले पनि मलाई अप्रत्यक्ष रूपमा कुटनीतिज्ञ बन्न प्रोत्साहन मिल्यो । तर, म डिप्लोम्याट नै बन्छु भन्ने सोच चाहीँ पछि मात्रै आएको थियो । थुप्रै मानिसहरू वाइनरी काम गर्छन् तर उनीहरू कहिल्यै डिप्लोम्याट बन्दैनन् ! (हाँस्दै)

फ्रान्सको प्रख्यात शहर बोर्डूले वाइनमा पाएको सफलताबाट नेपालमा केही सिक्न सकिन्छ ? खास गरेर नेपाली रक्सीको कस्तो सम्भावना देख्नुहुन्छ ?

रक्सी अलि कडा ड्रिङ्क हो । मैले केही अवसरहरूमा चाख्ने मौका पाएको छु । तर, यसको क्वालिटी भने एकनासको हुन्न । मेरो अनुभवमा रक्सी कडा भएकाले केही गुलियो खानाजस्तै पेष्ट्रीसँग खाँदा राम्रो हुन्छ ।

के यसलाई अन्तरराष्ट्रिय रूपमा बेच्न सकिने सम्भावना देख्नुहुन्छ ?

सकिन्छ । तर, दुर्इ ३ वटा कुरामा ध्यान दिनुपर्यो । अस्ति म एउटा रेष्टुरामा बसेर एउटा ब्राण्डेड नेपाली रक्सी चाख्दै थिएँ, बोटलमा हेरेको ४८ प्रतिशत अल्कोहल रहेछ । फ्रान्स र इयूमा यस्तो कडा रक्सी बेच्न पाईँदैन । यदि निर्यात गर्ने हो भने यसलाई अलि माइल्ड बनाउनुपर्ने हुन्छ ।

दोश्रो कुरा हो, मार्केटिङ । हामीले देखेका छौँ कि राम्रो मार्केटिङ गरिएमा औसत गुणस्तरका वस्तुको पनि राम्रो व्यापार हुन्छ ।

तेश्रो र सबैभन्दा महत्वपूर्ण विषय हो- टेस्टिङ ल्याबको । मैले बुझे अनुसार नेपालमा अहिलेसम्म पनि अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला छैन, जसले नेपालमा बनेका खाद्य पदार्थ स्वस्थकर छन् भनेर प्रमाणित गरिदेओस् । यस कारण नेपालमा उत्पादन हुने तरकारी, फलफूलले राम्रो गुणस्तर हुँदाहुँदै पनि अन्तराष्ट्रिय बजार पाउन सकेका छैनन् ।

 

अब लागौँ नेपालको प्राकृतिक सम्पदातर्फ। फ्रान्सेलीहरूका लागि विशेष गरी अन्नपूर्ण हिमालले बेग्लै महत्व राख्ने गरेको छ । यसका बारेमा हाम्रा पाठकहरूलाई बताइदिनुहुन्छ हामीलाई थाहा भएअनुसार तपाईँ पनि कुनै दिन अन्नपूर्णसम्म जान चाहनुहुन्छ ।

प्रश्नका लागि धन्यवाद । फ्रान्सेलीहरूको जीवनमा हिमालको ठूलो महत्व छ । युरोपका चार प्रमुख हिमालहरू फ्रान्समा पर्छन् । युरोपको प्रसिद्द हिमश्रिङ्खला ‘एल्प्स’ को केही भाग फ्रान्समा पर्छ, त्यसै गरी पिर्ने, मासिफ सेन्ट्रा र भोए जस्ता हिमालहरू पनि फ्रान्समै छन् । भेडा र गार्इ पालन गर्नु त फ्रान्सेली संस्कृतिको अभिन्न अङ्ग नै हो । फ्रान्सको हिमाली क्षेत्र पहिलेदेखि नै एक प्रकारको विशेष आर्थिक क्षेत्र थियो, तर पर्यटनका कारण यसको महत्व अझ बढेको छ ।

फ्रान्सेलीहरु जब आफ्नो देशका हिमालहरू चढिसक्छन् उनीहरुलाई अझै ठूला हिमाल चढ्न मन लाग्छ । एल्प्स पछिका ठूला हिमाल अन्नपूर्ण र सगरमाथा हुन् र यी हिमालयको देश नेपालमा पर्छन् । संसारमा रहेका ८,००० मिटर भन्दा अग्ला हिमालहरूमा सबैभन्दा पहिले फ्रान्सेलीले कदम राखेका थिए र त्यो हिमाल हो अन्नपूर्ण । हिलारी र नोर्गेले सगरमाथा चढ्नु तीन वर्षअघि नै फ्रान्सका मौरिस हेजहगले अन्नपूर्णको सफल आरोहण गरेका थिए । उनले यसका बारेमा एउटा लोकप्रिय किताब लेखेका थिए;  फ्रान्सका धेरै बालबालिकाले त्यो किताब पढ्छन् । मैले पनि पढेको छु । फ्रान्सेलीहरूको हिमालायप्रति विशेष लगाव छ ।

हिमालय कुनै देश विशेषको नभएर पुरै मानव जातिको धरोहर हो । यसै कारण भर्खरै मात्र एउटा फ्रान्सेली टोलीले सगरमाथामा सरसफाइ कार्यक्रम गरेर फर्किएको छ ।

मेरोचाहिँ अन्नपूर्णको टुप्पोमै पोग्ने कुनै योजना छैन । यो शरदमा म शायद अन्नपूर्ण जान्छु होला, तर मैले जाने भनेको बेस क्याम्पसम्म मात्र हो ।

यसो भनिरहँदा के पनि भनौँ भने, फ्रान्सेलीहरू हिमाल हेर्न मात्रै नेपाल आउने होइन । उनीहरू नेपालको प्राचीन इतिहास र सभ्यता हेर्न पनि यहाँ आउँछन् र शाक्यमुनि बुद्धको जन्मस्थानसम्म जाने  रहर पनि उनीहरूमा हुन्छ । धेरै कारणले गर्दा नेपाल फ्रान्सेली मष्तिस्कमा ‘आइकन’ बनिसकेको छ । जब नेपालमा भूकम्प आएको थियो, फ्रान्सेली जनताले आफ्नै सांस्कृतिक धरोहर भत्किएको सम्झे । मानिसहरूको दु:खले उनीहरुलाई निकै छोयो । नेपालका सम्पदा मानव जातिकै सम्पदा हुन् भन्ने सोचले फ्रान्सका जनताले  पुन: निर्माणमा नेपालमा सघाउन थुप्रै प्रयास गर्दैछन् ।

अन्त्यमा, फ्रान्सेली सरकार र जनताको तर्फबाट नेपालीहरूलाई केही भन्न चाहनुहुन्छ ?

फ्रान्स र नेपालमा  धेरै कुरा मिल्दोजु्ल्दो छ । फ्रान्सले पनि लामो गृहयुद्द भोग्नु परेको थियो, नेपालमा पनि भर्खरै शान्ति आएको छ । फ्रान्स नेपालमा भइरहेको निर्वाचन प्रक्रियाको स्वागत गर्दछ। फ्रान्समा अहिले युवा राष्ट्रपति आउनुभएको छ र उहाँकै जस्तो सोच्ने विधायिका पनि छ । फ्रान्स सबैका लागि खुला छ र विश्वका मानिसहरूलाई पिरोल्ने समस्याहरूको समाधान गर्न नेतृत्वदायी भूमिका लिन चाहन्छ । फ्रान्सेली क्रान्तिको सन्देश: स्वतन्त्रता, समानता र भाइचारामा फ्रान्स अझै पनि अडिग छ ।

२०७४ असार ३० गते १०:४८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • gautam लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १२:०८

    Thanks for love toward Nepal and positive attitude you deserve.

    8
    0
    Share

  • jeeewan लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते ८:५१

    sahi ho testing lab euta chai aati avashyak vai sakeko cha

    0
    0
    Share

  • haha लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १७:२१

    dangaa pardiyo.. dangaa paryo!!

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this