शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

कथा: ढोका अगाडिको रातो चप्पल

विकास रेग्मी

कलेज जान हतारहतार कोठाबाट तल झरेँ । अन्तिम तलाको ढोका अगाडि एक जोर लेडिज चप्पल थियो, रातो रङको । ती चप्पल देखेपछि मलाई अड्कल लाउन गाह्रो भएन, लिम्बूनी आन्टी सरेर खाली भएको त्यो कोठामा कुनै स्त्री आएकी छिन् ।

भित्रबाट ठूलो आवाजमा मीठो गीत बजिरहेको थियो र गीत सँगसँगै स्त्रीको सुरिलो स्वर पनि आइरहेको थियो । त्यो स्वरले मेरा दुई केस्रा ओठलाई बिछोड गराएछन्, म हाँस्न पुगेछु । मेरो हाँसो सायद उसले सुनी होला, त्यसपछि त्यो सुरिलो स्वर आएन । एकसुरमा गीत मात्र बजिरह्यो ।

म कलेज गएँ । दिमागबाट त्यो स्वर हट्नै सकेन । त्यो स्वर मेरै वरिपरि बजिरहेको हुन्थ्यो अनि त्यसरी नै खुल्थे मेरा ओठ ।

मेरो कोठामा साथी र म बस्छौं । साथीको कलेज दिउँसोको छ, मेरो बिहानको । साथी र मेरो भेट साँझमा ऊ कलेजबाट आएपछि हुन्थ्यो ।

कलेजबाट फर्किएँ । त्यो ढोका अगाडि ती राता चप्पल थिएनन् । त्यो केटी कोठाभित्र छैन भन्ने थाहा भयो । मनमा खुल्दुली भयो । त्यति राम्री स्वरकी धनी सायद रुपमा पनि धनी होली ! उसलाई देख्न मन आतुर भयो ।

कोठामा आएर हतारहतार खाना खाएर माथि कौसीतिर गएँ । एउटी केटी थिई, लामो कालो कपाल, ठूल्ठूला आँखा, छिनेको कम्मर, पुष्ट छाती, गोरो र बाटुलो अनुहार । उसलाई कुनै राम्रो पहिरनले सजाउने हो भने कुनै चलचित्रकी नायिकाभन्दा कम थिइन । खुट्टामा त्यही रातो चप्पल थियो । मुखबाट अनायासै शब्दहरु निस्किए, ‘गीत धेरै सुन्दी रै’छौ । कति मीठो स्वर हो कोइलीको जस्तै !’

उसलाई मैले पहिलो भेटमा नै तिमी भनेर सम्बोधन गरेँ । मलाई यो तिमी सम्बोधन साह्रै प्यारो लाग्यो । उसले पनि मेरो ओठमा भर्खर जुँगाको रेखी आएको देखेर होला, तिमी नै भनी- ‘तिमी पनि मीठो हाँस्दा रहेछौ, सिनेमाको हिरो जस्तै ।’

उसको कुराले फेरि मेरा दुई ओठ अनायासै तन्किए । त्यो दिन हामीबीच धेरै समयसम्म कुरा भयो ।

समयको गतिसँगै हामी झन्-झन् नजिक हुँदै गयौं । नित्य कर्म जस्तै भयो- कलेजबाट आयो, कौसी गयो । ऊसँग दिनभर गफ गर्‍यो । यसरी नै दिन बित्न थाले ।

उसको ढोका अगाडि चप्पल नहुँदा ऊ कौसीमा छे भन्ने थाहा हुन्थ्यो अनि म पनि माथि उक्लिन्थेँ । हामी दिनभर गफ गरेको वरिपरिकाले देखेर खासखुस गर्थे, जिस्काउँथे । खोई किन हो, मलाई अरुले उसको नामले जिस्काउँदा बाहिर रिसाए झैं गरे पनि मन भने औधि रमाउँथ्यो ।

सायद यो ऊसँग पलाउन लागेको प्रेम हुन सक्थ्यो । दिनभरि खोइ के-के गफ हुन्थ्यो, त्यो सबै त सम्झना भएन । तर, हामी एक-अर्काको आँखामा हेरेर घण्टौं बिताउन सक्थ्यौं । राति पनि फेसबुक मेसेन्जरमा धेरै समयसम्म कुरा हुन्थ्यो । खाना पाकेपछि ऊ इनबक्समै खाना खान आऊ भन्थी । म पनि ‘आएँ है’ भन्थेँ म्यासेजमै ।

यसरी फेसबुक म्यासेजहरुमा खान निम्ता दिने र खाए झैं गर्ने काल्पनिक संसार थियो । तर, यथार्थमा पनि धेरै पटक दुई थाल भात उसकै भाँडोमा सिठी लाग्थ्यो अनि सँगै बसेर खान्थ्यौं पनि । यस्ता कुराले मलाई ऊ मसँगै भएको आभास हुन्थ्यो ।

नजिकै भए पनि मैले कहिल्यै उसको कोठामा जाने हिम्मत भने गरेको थिइनँ । तर, कल्पनामा धेरै समय म उसको कोठामा हुन्थेँ । राति बाहिर ठूलो पानी पर्दा ऊ म्यासेज ग़र्थी, ‘आऊ न सँगै सुत्न, डर लाग्यो ।’

म जिस्काउँथेँ, ‘आउँदै छु, ढोका खोल’ भनेर ।

ऊ ‘नट्टी ब्वाई’ भनेर हाँसेको इमोजी पठाउँथी । च्याटमा हामी धेरै पटक सँगै सुत्यौं । राता ओठका इमोजीहरु धेरै आदानप्रदान भए ।

हामीले एक-अर्कालाई माया गर्छौं भनेर भनेका थिएनौं । तर, हाम्रो सबन्ध प्रेमी-प्रेमिकाको भन्दा कम थिएन । हामी एक-अर्काका लागि बनेका हौं, यसमा हामीमा विश्वास थियो । ऊ मेरी हो भनेर म संसारलाई देखाउन आतुर थिएँ ।

कोठामा साथीसँग धेरै समय उसकै बारेमा कुरा गर्थेँ ।

साथी जिस्काउँथ्यो, ‘प्रपोज गर फेरी अरुले नै लग्ला अनि रोएर बस्लास् !’

म भन्थेँ, “कति कुरा भनिराख्नु र सोधिराख्नु पर्दैन । मनले नै सबैको उत्तर थाहा पाउँछ ।’

ऊ अझै हाँस्दै जिस्काउँथ्यो, ‘ल मोज गर केटा, घरकै केटी मिलाएको छस्, श्रीमती नै बनाएर राख । कसलाई के थाहा !’

साथी र मेरो प्रेमको बुझाइ नै फरक थियो । ऊ प्रेमलाई शरीरसँग जोड्थ्यो, म मनसँग । ऊ सेक्सपछि प्रेम हुन्छ भन्थ्यो, म प्रेमपछि सेक्स हुन्छ भन्थेँ ।

‘यो माया, मन भन्ने कुरा सबै मिथ्या हुन्, यी सबै झुटा हुन्छन् । सत्य त जन्म र मृत्यु हो, जन्म सेक्सले दिन्छ । यो सत्य हो अनि आवश्यक पनि छ ।’ ऊ यस्ता कुरा गर्थ्यो ।

म भन्थेँ, ‘उसलाई एक दिन नदेख्दा, मलाई खाना रुच्दैन । ऊ मसँग एकदिन नबोल्दा राति निदाउन सक्दिनँ । के यो प्रेम होइन ? ऊ रुँदा थाहा नभई मेरा आँखा रसाइसकेका हुन्छन् अनि हाँस्दा म पनि सँगै हाँसिरहेको हुन्छु । के यो माया होइन ? अस्ति सँगै मन्दिर जाँदा बाटोमा मेरो खुट्टा ढुङ्गामा ठोक्किएर रगत आउँदा उसले ‘हिंड्न पनि आउँदैन है’ भनेर गाली गर्दै सल च्यातेर बाँधिदिई । के यहाँ माया थिएन र ? साँझमा सधैं एउटै सोलीमा चटपटे खाँदा अन्तिममा रहेको अलिकति चटपटे सधैं मलाई खुवाइदिन्थी । के यहाँ प्रेम छैन ? प्रेम सत्य हो, यहाँ प्रेम छ ।’

अब भने साथी हाँस्थ्यो मात्र । जवाफमा केही भन्दैनथ्यो ।

एकदिन सधै झैं बिहानै कलेज गएँ । नेपाल बन्द रहेछ, कलेज लागेन । खुसी लाग्यो, आज छिटो कोठा गएर उसलाई सरप्राइज दिन मन लाग्यो । उसका लागि भनेर चकलेट किनेँ ।

घरको गेट खोलेर भित्र छिरेँ । उसको ढोका अगाडि तिनै राता चप्पल थिए । ऊ भित्र छे भन्ने थाहा भयो । ती चप्पलकै छेउमा अर्को एक जोर पुरुष चप्पल पनि थिए । मेरो साथीको जस्तै काला फित्ता भएको चप्पल । कोही आफन्त आए होलान् जस्तो लाग्यो ।

आफ्नो कोठामा गएँ । ढोका अगाडि साथीको चप्पल थिएन ।

इलाम, हाल: पोखरा ।

२०७४ असार ३० गते १४:२३ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Utsab लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते २:४१

    How can i contact the writer Bikash Regmi ji??? Please please please help!!! Very interesting story!!!

    4
    0
    Share

  • Okil dhakal लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १३:४३

    धेरै आदर्शवादी भयपछी यस्तै हुन्छ हो साथी !!!!!

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this