Comments Add Comment

सिन्धुपाल्चोकमा जितेर पनि हार्‍यो एमाले

बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये नेकपा एमालेले ७ स्थानमा जितेर पहिलो पार्टी भयो । नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ स्थान जितेर क्रमशः दोस्रो र तेस्रो पार्टी भए ।

स्थानीय चुनावमा ७ स्थान जितेर नेकपा एमाले जिल्लामा पहिलो पार्टीको रुपमा त स्थापित भयो, तर एमालेका नेता कार्यकर्ताहरुमा यो जितप्रति गर्वभन्दा बढी हारको मानसिकता देखिएको छ ।

माओवादीले स्थानीय तह निर्वाचनमा के कति संख्यामा स्थानीय तह जित्न सकिन्छ भनेर आन्तरिक रुपमा हिसाब किताब गरेकै थियो होला । तर, जिल्लामा सामरिक महत्व राख्ने सदरमुकाम समेत रहेको चौतारा नगरपालिका र नेपाल चीन सीमा जोडिएको भोटेकोशी गाउँपालिका मात्रै जिते पनि माओवादी नेता कार्यकर्ताहरुमा एक किसिमको ‘विजयी भाव’ देखिएको छ ।

स्थानीय चुनावको परिणाम सार्वजनिक भएको केही समयपछि नै माओवादीले जिल्ला तहदेखि स्थानीय तहसम्म पुगेर चुनावको समीक्षा गरेको छ र उत्साहका साथ माओवादी नेताहरुले गाउँ-गाउँ पुगेर चुनावमा अन्र्तघात गर्नेहरुलाई अनुशासनको कारवाही समेत सुरुवात गरिसकेका छन् ।

माओवादीको तुलनामा एमालेले ५ वटा बढी स्थानमा चुनाव जिते पनि एमालेका नेताहरुमा त्यो विजयीभाव देखिएको छैन । न त चुनावपछि एमालेले देखिने गरी कुनै समीक्षा गरेको छ । एमाले सिन्धुपाल्चोकले औपचारिक रुपमा कमिटीको बैठक बसेर आफ्ना मतदाताहरुलाई औपचारिक रुपमा धन्यवाद समेत दिन सकेको छैन ।

सात तहमध्ये बाह्रवीसे नगरपालिकामा एमालेले मात्रै होइन कि अरु दलले पनि कल्पनासमेत गरेका थिएनन् कि एमालेले चुनाव जित्छ ।

उमेद्वार र पार्टीको संयोजनकारी भूमिका मात्रै होइन, धेरै संयोगका कारणले बाह्रबीसेमा एमालेले चुनाव जित्यो । सबैको मेहनतका कारण चुनाव जिते पनि आरोप प्रत्यारोपको श्रृङखला बाह्रविसेमा रोकिएको छैन ।

साविकको राम्चे गाविसबाट त अब पार्टीको कुनै पनि गतिविधिमा सहभागी नहुनेजस्ता आवाजहरु एमाले नेताहरुले उठाउन सुरु गरिसकेका छन् ।

दिनेश थापा

सात स्थानमा चुनाव जितेर पनि एमालेका नेताहरु चौडा छाती भन्दा पनि भँगेराको जत्रो छाती बनाएर हिँडिरहेका छन् । चुनावपछि न एमालेले समीक्षा गरेको छ, न त सात स्थानमा चुनाव जितेका जनप्रतिनिधिहरुलाई अबको स्थानीय तहमा एमालेको भूमिका कस्तो हुन्छ र कसरी अघि बढ्नुपर्छ भन्ने विषयमै प्रशिक्षण दिन सकेको छ ।

एमालेभित्र अहिले पनि चुनावमा घात-अन्र्तघातको आरोप प्रत्यारोप छरपष्ट रुपमा सुनिने क्रम रोकिएको छैन । जिल्ला कमिटीकै सदस्यहरु समेत अरु पार्टीको चुनावी प्रचार प्रसारमा हिँडेकादेखि बागी उमेदवार हुने पनि यो चुनावमा देखियो । देखिने नै गरी अन्र्तघात पनि चुनावमा भएको सुनिएको छ । भित्रभित्रै कैची मार्ने गरी घात अन्र्तघातका आरोपहरु पनि धेरै सुनिएको छ । यस्तो अवस्थामा पनि एमालेको नेतृत्वले यस्ता विषयलाई सम्बोधन गर्न ध्यान दिएको देखिएको छैन र बेलामै यसको छिनोफानो गर्न पनि जरुरत ठानेन वा अरु नै केही कारण पर्‍यो यो विषय बुझ्न सकिएको छैन । समीक्षा बेलैमा भएको भए आगामी चुनावका लागि एमालेले धेरै पाठहरु सिक्न सक्थ्यो । तर, यति लामो समयसम्म पनि एमाले नेतृत्व मौन बस्दा चुनावी समीक्षा सही निस्कन सक्दैन र चुनावमा गुम्सिएका नेता कार्यकर्ताहरुको भावना बाहिर निस्कन सक्दैन ।

एमालेमा किन यस्तो भयो ?

एमाले जित्दा जित्दै पनि हारको मानसिकता बढी देखिएको छ यसमा केही कारणहरु छन् । स्थानीय तह निर्वाचनमा एमालेले यो पटक प्रायः सबै तहमा एमालेभित्रका ‘हेभी वेट’ का उमेदवारहरु चुनावी मैदानमा थिए । एमाले पूर्व जिल्ला अध्यक्ष हस्त पण्डित, वर्तमान जिल्ला अध्यक्ष झम्क नेपाल, पूर्व अञ्चल सदस्य सोम सापकोटा, शिक्षक संगठनमा लामो समय काम गरेका एमालेका पुराना नेता शिव न्यौपाने चुनावी मैदानमा भए पनि यो चुनावमा सबै हस्तीहरु बाहिरिए ।

एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, नेता सरेश नेपाल, पूर्व सांसद सुभास कर्मचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल र पूर्व अध्यक्ष हस्त पण्डितको चुनावी क्षेत्रमा एमालेले यो पटक हार व्यहोर्नु पर्‍यो ।

नेकपा एमालेले चुनावी नतिजा विश्लेषण गर्दा पनि इन्द्रावती गाउँपालिका र सुनकोशी गाउँपालिका जस्तोसुकै अवस्थामा पनि जितिने विश्लेषण गरेको थियो । हेभी वेटका नेता चुनावी मैदानमा र ठूला नेताहरुको आफ्नो गाउँ/नगर भएकाले पनि यी लगायतका गाउँ र नगरपालिकालाई एमालेले प्रतिष्ठा बनाएको थियो ।

भन्नका लागि जे भने पनि भोटेकोशी र चौतारा नगरपालिकालाई एमालेले जितिने तहमा राखेको थिएन तर चौतारा नगरपालिका-५ साविकको चौतारा गाविसमा भने एमालेले चुनाव जितिन्छ भन्ने विश्लेषण थियो । अझ सुनकोशी र इन्द्रावतीमा त अरु पार्टी एक भए पनि चुनाव जितिनेमा एमाले नेताहरु ढुक्क थिए । अवस्था हेर्दा पनि त्यस्तै थियो । तर, मत परिणाममा एकदमै फरक आयो ।

चुनाव जितने आकलन गरेको सबै ठाउँमा विशेष गरी ठूला नेताहरु मतदाता रहेको स्थानीय तह मै चुनाव हारेपछि पनि एमाले नेताहरुमा ‘फ्रस्टेशन’ आएको हुन सक्ने धेरैको अनुमान छ ।

चुनावी परिणामपछि एमाले जिल्ला अध्यक्षसहित नेताहरु सदरमुकाममा नदेखिनु र समीक्षा लगायत अन्य गतिविधिहरु नगर्नुले पनि एमाले नेताहरुलाई जनताका अगाडि ‘फेस सेभ’ गर्न समस्या भइरहेको बुझ्न सकिन्छ ।

जिल्ला समन्वय समिति गठनमै अन्योल

१२ स्थानीय तहमध्ये सात तहमा जितेर एमाले पहिलो पार्टी भएको छ र अब गठन हुने जिल्ला समन्वय समिति एमालेको एकल बन्ने निश्चित छ । तर, जिल्ला समन्वय समिति एकल बन्ने निश्चित भए पनि अहिलेसम्म निर्वाचित पदाधिकारीवीच एमालेले कसरी समन्वय समिति बनाउने यो विषयमा छलफल नै गरेको छैन ।

निर्वाचित जनप्रतिनिधिहरु नै कसरी, को, कहिले र कसको सिफारिसमा जिल्ला समन्वय समितिको प्रमुख बन्दैछ, यो विषयमा थाहै छैन । एउटा लोकातान्त्रिक पार्टीभित्र यो विषयमा छलफल हुनुपर्छ कि पर्दैन ? यो एमालेजनले बुझ्ने विषय हो । तर, सीमित नेताहरुको बगलीका नेतालाई जिल्ला समन्वय समितिको प्रमुख बनाइयो भने यो एमाले सिन्धुपाल्चोकका लागि दुर्भाग्य साबित हुनेछ ।

चुनावका लागि गठन गरिएको निर्वाचन परिचालन समितिको अस्तित्व कहिलेसम्म कायम रहने यो पनि अन्यौल नै छ । यसरी स्थानीय तहको यो निर्वाचनमा नेकपा एमाले सिन्धुपाल्चोकले जित्दा जित्दै पनि हारेको छ । र, हार्नेहरुले हार्दा पनि जितिरहेका छन् ।

जहिलेसम्म सीमित कोटरीभित्रका कार्यकर्ताहरुको बिचमा मात्रै एमालेका नेताहरु रमाउँछन्, त्योबेला सम्म यसरी जति चुनाव हारे पनि न नेताहरुले चुनाव जितेको अनुभूति गर्न सक्नेछन्, न त कार्यकर्ताहरुले नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment