Comments Add Comment

गजब निबन्ध: कहाँ गए ती दिनहरु ?

यसबेला म सोच्दै छु- कहिलेसम्म नेपाल अधिराज्यमा सङ्गीतकला प्रस्थापित भइसक्ला ? अझ पचास वर्ष लाग्ला कि ! म स्वयम् आफूलाई यस प्रश्नको जवाफ दिन सकिरहेको छैन र सोच्दै छु- अहँ हामी कहाँ र कुन स्थानमा छौं ? विग एक दशकभित्रै संसारमा कत्रो हेरफेर भइसक्यो, हामीकहाँ नै कत्रो परिवर्तन आइसक्यो ।

भनौं न, आज जन्मेको बालक ५० वर्षपछाडि बुढ्यौलीतिर कोल्टो फेरिसकेको हुनेछ र लाग्छ, यो पचास वर्षको अन्योल म स्वयंले जन्माएको मेरो दु:स्वप्न मात्र हो । किनभने पचास वर्ष त म कुनै हालतमा पनि बाँच्दिनँ र कुनै चमत्कार भएर बाँचिहालेँ भने पनि सेन्टेरियन (सय वर्षको उमेर भोगिसकेको) भएर जमानासित परिवर्तित हुन नसकेको एउटा नमीठो ठट्टाको पात्र म हुन जानेछु ।

तर, जिन्दगी बाँच्ने जो एउटा सिलसिला, विडम्बना नै भनौं, छ त्यो हामी भात-चिउरा जे खाएर पनि बाँचिदिन्छौं, भोकै पनि सुतिदिन्छौं । वास्तवमा मैले भन्न खोजेको कुराको प्रसङ्ग अर्कै छ । परिप्रेक्ष्यलाई नै हेरेर भन्ने हो भने हाम्रो जस्तो मुलुकमा कला र कलाकारको दुर्दशा हुनु अभिशाप होइन, स्वाभाविकता हो ।

आर्थिक विपन्नता र अभाव मात्र हाम्रा निम्ति अवरोध साबित हुन सक्दैन । हामीसित अरु विपन्नता र अभावहरु पनि प्रशस्तै छन् । तर, हामी सहृदयता, मानसिकता तथा मनोवृत्तिमा पनि दिनहुँ भने झैं गरिब हुँदै गइरहेका छौं । के हामी हाम्रा प्राकृतिक सौन्दर्य, संस्कृति, कला र सभ्यतामा पनि दरिद्र र गरिब छौं त ? हो, यो भौतिक युगमा आफू पनि भौतिक हुन नसक्नु जस्तो पीडादायी कुरा अरु हुन सक्दैन । यसैले भोगेर चिन्तन गरेको कुरा बेग्लै हो, तर भौतिकतावादबाट नै कलाकृतिको जन्म हुन्छ भन्नु गल्ती हुँदैन र ?

मलाई कहाँसम्म लाग्छ भने यदि गाएर बत्ती बल्छ, पानी पर्छ र ढुङ्गा पग्लन्छ भने त्यो जादू-चटक अथवा तमासा देखाएको जस्तो हुन्थ्यो । मान्छे सङ्गीत सुन्न होइन, तमासा हेर्न आएको हुन्थ्यो र त्यसमा मानवीय भावनाको भन्दा बढी साधनाको वाञ्छनीयता हुन्थ्यो । थाहा छैन, मैले यो कुरा ठीकसँग भनेँ कि भनिनँ ! तर, मलाई लाग्छ, कलाकृतिको उद्‌गमस्थल मानवीय भावना नै हो । यसैले भावनाले मान्छेलाई पशुत्वदेखि मुक्त गराउँछ र मान्छेले प्रेमप्रीति गाँस्छ, दयामाया गर्न सिक्छ, मित्रता तथा भ्रातृत्व र सहृदयतालाई आफूभित्र समाविष्ट गराउँछ । मैले खास भन्न खोजेको कुराका सन्दर्भमा अहिले मलाई एउटा साह्रै घतलाग्दो कोटेसनको सम्झना भइरहेको छ, जो झन्डै यस्तो छ- Blend art with love and expect a masterpiece.

प्रेमप्रीतिलाई एकछिन थन्क्याएर मित्रता र सहृदयतालाई यस कोटेसनमा सन्दर्भित पार्दा यो प्रासङ्गिक हुँदैन र ? हो, मित्रता र सहृदयताको यति सरल कुरा भन्न मलाई यतिको भूमिका बाँधेर झन्डै-झन्डै अप्रासङ्गिक हुनुपर्‍यो, हाँसो पनि उठ्छ । हो, यही कुरा मनमा तरङ्ग जस्तो चलिरहेका बेला म ती साथीहरुको सम्झना गर्न लाग्छु, जो नेपाल तथा नेपालीका प्रसिद्ध कवि-लेखक मात्र नभएर सङ्गीतका गम्भीर चिन्तक र श्रुतिमर्मज्ञहरु थिए ।

कुरा सन् १९६४/६५ को हो । किटान गरेर भन्न सकिनँ, तर ठाउँ पोखराको मोहरियाटोल, भूपी शेरचनको निवासस्थान, समय दिउँसोको झन्डै तीन बजेको छ । भर्खर लन्च सिध्याएर दिवा-पेग सुरु भइसकेको छ । बडो रमाइलो दिन छ र वातावरण झनै रमाइलो छ ।

तुकबन्दीमा नामुद उस्ताद भूपी भन्छन्- अम्बर !

देखिन्छ दूर क्षितिजमा हाम्रो मधुमय सङ्गम
आवेगले म झुक्दा तिमी उठेकी एकदम
यस्तैमा केही सुन्न पाए मन कति हुन्थ्यो रमझम । *

त्यस आतिथ्यमा भेला भएका दस-बाह्र जनाको हाँसोको लहरसँगै तालीको गडगडाहट हुन्छ । म मुडमा तानिन्छु र तान्छु नजिकैको हारमोनियम । वातावरणमा एकदम नि:स्तब्धता फैलन्छ र भर्खै रचेको एउटा गीत म गाउन सुरु गर्छु- ‘आँधी-बतासैमा तिम्रो शुभकामना काम लागेन ।’

श्रोतालाई आफूतिर तानेर पाएको तन्मयताको प्रतिक्रियात्मक प्रबलताले मात्र गायकले प्रभावको प्रभुत्व जन्माउन सक्छ भनेर मैले भर्खर मात्र बुझ्न थालेको छु । आजभन्दा बीस वर्ष अगाडि मात्र मैले यो ज्ञान पाएको भए मेरो सङ्गीतको धारा सायद अर्कै हुन्थ्यो, तर यहाँ मभित्रको अम्बर भौतिक तर्कना गरेर भावुक अम्बरलाई चुप गराउन खोज्दै भन्छ- ‘के रे ? तैंले पाएको प्रतिक्रिया मात्र श्रोताहरुको अवदान हो ? हो, बेलाबखत सच्चा सङ्गीतप्रेमी श्रोताहरु पाइएलान्, तर कति जना यस्ता सङ्गीतप्रेमी श्रोताहरु तँ प्रत्येक प्रदर्शनीमा पाउँछस् ?’

यस प्रश्नले म आफैं तिलमिलाउँछु । अब सोच्न थाल्छु- साँच्चै, यतिका निकै लामा साङ्गीतिक प्रदर्शनीहरुमा कति थोरै चोटि मात्र आफूलाई मन परेका गीतहरु गाउन पाएको छु र मलाई ती गायक-गायिकाहरुप्रति असीम सहानुभूति जान्छ, जो श्रोतालाई खुसी पारेर आफ्नो प्रख्याति बचाइराख्न आफ्ना निम्ति नगाएर, नरचेर श्रोताहरुका निम्ति रच्छन् र गाउँछन् । यो कलाको होइन, कलाकारकै सनातन कमजोरी हो । अँ त, गीतले अन्तराको पहिलो चरण छोएको छ । म घरी अरुलाई हेर्दो रहेछु, घरी भूपीलाई हेर्दो रहेछु । गीतले पहिलो अन्तरा पार गर्न लाग्दा भूपीका आँखामा आँसु रसाइसकेको देख्छु । गीत अन्तिम चरणमा पुगेको हुन्छ र देख्छु टेबुलमा राखिएको गगल्स उठाएर उनले आफ्ना आँखा छोप्छन्, तर गगल्सको सेडमेनीबाट उनको आँसु चुहुन थालिसकेको छ । म स्वयं पनि कतिसम्म बिदीर्ण हृदय हुन्छु भने मेरो कण्ठ रुद्ध हुन्छ र फेरि गाउन आफूलाई समर्थ पार्न सक्दिनँ । कविहरु (सायद सबै कविहरु होइनन्) सङ्गीतलाई यसरी आत्मसात् गरेर कविता सङ्गीत र सङ्गीत कविता हो भन्ने उक्तिलाई चरितार्थ पार्छन् ।

एक साँझ गिरी दाइ (अगमसिंह गिरी) को स्कूल-कोठामा गएर भन्छु- ‘दाइ, आज तपाईंलाई एउटा गीत सुनाउन मन लागेको छ ।’

सहज पाराले गिरी दाइ भन्नुहुन्छ- ‘यो त खुसीको कुरा गर्‍यौ नि !’

म भन्छु- ‘खुसीको कुरा होइन दाइ ! मलाई मनमा लागेको एउटा कुरा यो गीतमा भन्न खोजेको छु । त्यसको ठीक अभिव्यक्ति भयो कि भएन तपाईंबाट जान्न मन लागेको छ ।’

पछि गिरी दाइ आउनुहुन्छ र म गीत सुनाउँछु-

म फुल्न जानिनँ
म झुल्न जानिनँ ।

गिरी दाइ मलाई अँगालोमा बाँधेर अत्यन्त स्नेहसँग भन्नुहुन्छ- ‘अम्बर, तिमीलाई देख्दा मलाई गर्व लाग्छ । साँच्चै, हामी फुल्न नजान्ने नै हौं । नेपाली कवि-कलाकारको हाःत यस्तै छ । हामीले पनि फुल्न जानेका भए हामी कहाँ-कहाँ के-के भइसकेका हुन्थ्यौं । म जाबो यो शिक्षक हुन्नथेँ र तिमी पनि पश्चिम बङ्गाल युनिटमा बङ्गाली गीत गाएर बस्ने थिएनौ । हाम्रो कुनै अस्तित्व नै छैन, हामीले फुल्नै जानेनौं ।’

अप्रत्याशित ढङ्गबाट यो गीतको मार्मिक व्याख्या गिरी दाइले गर्नुभयो । एकछिन त म के भनूँ के नभूँमै स्तम्भित भएँ । यति सराहनीय अभिव्यक्तिको मैले अपेक्षा नै गरेको थिइनँ ।

त्यस क्षण मलाई लागेको थियो- स्नेह र सहृदयताको उद्‌गारले हिउँ जस्तो कठ्याङ्ग्रिएर जमेको हृदय पनि पग्लेर पानी हुँदो रहेछ र त्यही पानी आँखामा बलजफ्ती रोकेर मैले भनेँ- ‘दाइ, त्यति ठूलो कुरा त के भन्न र लेख्न सक्थेँ ! तपाईंले ढुङ्गाको यो सानो टुक्रालाई हीरा भन्दिनुभो ! तपाईंको यो स्नेहोद्‌गारलाई म कहिल्यै पनि बिर्सन सक्नेछैन ।’

अहिले लाग्छ- गिरी दाइ बाँचेकै हुनुपर्थ्यो, कमसेकम तिनीहरुका निम्ति जो सहृदयताको खोजीमा गीत गाउँछन्, कथा भन्छन् र कविता कोर्छन् ।

शङ्कर दाइले कालिम्पोङबाट मलाई पनि सँगै दार्जीलिङ लिएर आउनुभएको छ र सेन्ट्रल होटलमा बसेका छौं ।

भोलिपल्ट बिहानै आफ्ना नातेदारलाई भेट्न शङ्कर दाइ निस्किसक्नुभएको छ र अपराह्न बितिसक्दा पनि फर्किसक्नुभएको छैन । म चाहिँ एकान्तमा रम्न बाजा बजाएर होटलभित्रै बसेको छु । साँझतिर उहाँ फर्कनुहुन्छ र देख्छु, उहाँसित दुई युवतीहरु छन् । परिचय गराउँदै उहाँ भन्नुहुन्छ- ‘अम्बर, उहाँहरु तिम्रा ठूला फ्यान । भित्र कोठामा तिमीले गाएको सुनेर की-होलबाट तिमीलाई नियाल्न खोजिरहेका बेलामै म पनि आइपुगेँ र तिम्रो अनुमति बिना नै भित्र ल्याएँ ।’

अङ्ग्रेजीमा उहाँ भन्नुहुन्छ- ‘I hope i have not done anything wrong.’

यसो हेर्छु- शङ्कर दाइको मुस्कानमा एउटा कुटिलता झल्केको देख्छु, तर कुनै छल तथा षड्यन्त्रको आभास त्यहाँ छैन । अझ भन्नुहुन्छ- ‘आजको साँझलाई अविष्मरणीय बनाउनुपर्छ । तिमी गायक, म उद्‌घोषक र उहाँहरु फर्माइसकर्ता ।’

साँच्ची नै सङ्गीतको यो अति रमाइलो साँझ झन्डै आधा रातसम्म चल्छ र पछि थाहा हुन्छ- ती युवतीहरु इन्डियन एअरलाइन्सका विमानपरिचारिका रहेछन् र त्यसै होटलको माथिल्लो तलामा बसेका रहेछन् । बिदा हुँदा शङ्कर दाइ भन्नुहुन्छ- ‘नेपालको यति ठूलो कलाकारसित बिताएको यस साँझको बहिनीहरुलाई सम्झना रहला त ?’

एउटी अङ्ग्रेजीमा भन्छे- ‘We will never forget this night. तर तपाईंले उहाँलाई नेपालको भन्नुभयो नि ! उहाँ त दार्जीलिङको हो ।’

व्यङ्ग्यको यस प्रहारले पहिले त शङ्कर दाइ एकदम खितखिताएर हाँस्नुहुन्छ र केहीबेरपछि अति गम्भीर मुद्रामा भन्नुहुन्छ- ‘मानिदिएँ अम्बर गुरुङ दार्जीलिङकै हो रे ।’

‘फेरि मानिलिऊँ भन्नुभो !’ अर्की विरोध गर्छे ।

अब आफूलाई निकै सन्तुलित पारेर शङ्कर दाइ भन्नुहुन्छ- ‘हो, अम्बर गुरुङ दार्जीलिङकै हो, तर अम्बरले रचेको सङ्गीत र उसले गाएको गीत नेपालका लागि पनि त हुन्छ, हुँदैन र ? अझ बढेर भन्ने हो भने कुनै पनि कलाकृतिलाई भौगोलिक सिमानाले छेक्न सक्दैन । जस्तो भनौं, हामीले नेपालमा लेखेका कथा, कविता, नाटक, निबन्ध दार्जीलिङका लागि हुन सक्दैनन् र ? नेपालीहरु जहाँ बसे पनि नेपालबाटै गएका हुन् । नेपाली संस्कृतिलाई नै आफ्नो संस्कृति मान्छन्, आफ्नै नेपाली भाषा बोल्छन् । नेपाली भाषा, संस्कृति, सभ्यताको उद्‌गमस्थल नेपाल हो, तर पनि त्यसको संरक्षण र संवर्द्धनको श्रेय हामीलाई मात्र छैन । किनभने हामीमा भन्दा बढ्ता नेपालीत्वको भावना तपाईंहरुमा छ । दशैं-तिहार, भानुजयन्ती जस्ता चाडपर्वहरु हामीभन्दा धुमधामसँग तपाईंहरु नै मनाउनुहुन्छ । यसैले तपाईंहरु नै सच्चा अर्थमा बधाई र धन्यवादका पात्र हुनुहुन्छ ।’

ती दुई युवतीहरुको मुखमण्डलमा सुख तथा सन्तुष्टिको मुस्कुराहट पोतिएको छ, मानौं उनीहरुले ठूलो समर जितेका छन् र बल्ल उनीहरु सोध्छन्- ‘तपाईं पनि कवि-लेखक हुनुहुन्छ ?’

अब शङ्कर दाइको परिचय दिँदै म भन्छु- ‘उहाँ नेपालको (सम्हालिँदै भन्छु) नेपाली साहित्य संसारका अग्रपङ्क्तिका लेखक हुनुहुन्छ । शङ्कर लामिछानेका कृतिहरु तपाईंहरुले पढ्नुभएको छैन ?’

केही अप्ठ्यारो मानेर विस्मयसूचक ढङ्गबाट उनीहरु टाउको हल्लाउँछन्- ‘अहँ !’

‘अम्बरले मलाई त्यसै ठूलो बनाएको’, शङ्कर दाइ भन्नुहुन्छ- ‘म त्यस्तो ठूलो लेखक होइन, लेखिटोपल्छु । भनौं न साहित्यको सेवा गर्छु । यो पनि कुन अर्थमा भने अहिलेसम्म नेपाली साहित्य व्यावसियक हुन सकेको छैन ।’

उनीहरु गएपछि म भन्छु, ‘शङ्कर दाइ, तपाईं यस्ता हृदयग्राही र गम्भीर कुराहरु कसरी झट्टै बोल्न सक्नुहुन्छ ? लेख्दा त सोच्ने-सच्याउने अवसर पाइन्छ ।’

उहाँ भन्नुहुन्छ- ‘छोड यी सब कुराहरु । म अर्कै कुरा सोच्दै थिएँ । गाएर जस्तो हिसाबले तिमी अरुलाई मुग्ध पार्न सक्छौ, त्यो हिसाबको भूगोल तिम्रो भएन ।’

‘मतलब ?’ म सोध्छु ।

‘तिमी यहाँ नजन्मेर कुनै विकसित मुलुकमा जन्मनुपर्थ्यो’, उहाँ भन्नुहुन्छ ।

‘तपाईं पनि त विकसित मुलुकमै जन्मनुपर्थ्यो नि त… ! अर्को कुरा, विकसित मुलुकमा त मभन्दा धेरै प्रतिभाशाली गायकहरु छन् नि !’

‘मभन्दा प्रतिभाशाली लेखकहरु छैनन् त ?’ उहाँ मलाई उल्टो प्रश्न गर्नुहुन्छ र हामी दुवै हास्छौं । रात धेरै बितिसकेको हुन्छ ।

लेख्दालेख्दै यो लेख संस्मरण देखिन पुगेको छ, तापनि वास्तवमा यो संस्मरण होइन । यो म स्वयंले स्वयंलाई र आफू बाँचेको जमानालाई गरेको एउटा व्यङ्ग्य हो । कारण, जसरी म यस जमानाको उत्पादन हुँ, त्यसरी नै यो जमाना पनि मेरो उत्पादन हो । मैले रचेको सङ्गीतमा मेरो जुन आफ्नोपन छ, त्यस पनमा मेरो मनोवृत्तिको प्रतिक्रियात्मक प्रभावको मैले आफूलाई आविष्कार गरिसकेको छैन र यही गरिनसक्नु भन्ने जुन कुरा छ, त्यसलाई जमानाले मेरा हात कि त मैले जमानाका हातमा सुम्पिसकेको छु, अर्को विकल्प म देख्दिनँ । मैले जानी-जानी यसलाई म बाँचेको काल तथा समय भनिनँ ।

समष्टीकरण गरेर भन्ने हो भने समय र कालको अर्थ एउटै हुन्छ, तर जमाना सबको आफ्नो-आफ्नो हुन्छ, जसरी दस बजे बिहान र दस बजे राति सबैको एउटै हुँदैन । अनि व्यङ्ग्य यस कारण भन्छु- बाँचुन्जेल हामी आफ्ना साथी-सँगातीको सही मूल्याङ्कन गर्दैनौं र मरेपछि हामी आफ्ना प्रिय पात्रको सम्झना गर्छौं अथवा पात्रलाई प्रिय बनाएर उसलाई बिर्सिदिन्छौं ।

अब यहाँनेर मभित्र भएको जुन सन्ताप प्रतिविम्बित भएको छ, त्यसलाई पाठकले मैले गरेको पश्चात्तापको मौन विलाप ठानिदिए हुन्छ । आज झन्डै बाह्र बजेतिर लेख्न थालेको यो लेख साँझ हुन लाग्दा पनि समाप्तितिर पुग्न सकेको छैन । थाहा छ, आज साँझ बत्ती आउँदैन र बत्ती पर्खेर यो लेख टुङ्ग्याउने धैर्य ममा छैन । एउटा कविताको भावोद्‌गार यहाँ राखेर यसलाई यहीँ सिध्याए हुँदैन ?

जाडोको याममा आगो बालेर
केटाकेटीलाई वरिपरि राखेर
तिमी आफ्नो कथा भन्न कति मस्त भयौ भने
आधा केटाकेटी सुत्न गइसके
बाँकी अगेनाका वरिपरि निदाइसके
तर बेखर तिमी आफ्नो कथा भनि नै रहेछौ
र म चाहिँ सोच्दै छुकहाँ गए ती मेरा प्यारा दिन  ?

***

* ‘म अम्बर हुँ, तिमी धर्ती…’ अम्बर गुरुङको यस चर्चित गीतका दुई पङ्क्तिमा भूपी शेरचनले तुकबन्दी गर्न अन्तिम हरफ थप्नुभएको थियो ।

बगर फाउण्डेसनको उत्कृष्ट दस (०५०) कृतिबाट । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment