शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

अनुवाद साहित्य: क्रिसमसको उपहार (कथा)

एक डलर र सतासी सेन्ट । त्यत्ति थियो । डेलाले यो धन एक-एक सेन्ट गर्दै बचाएकी थिई । चामल-दाल किन्दा, तरकारी किन्दा, मासु किन्दा पसलेहरुसँग मोलतोल गरेर यो पैसा बचाएकी थिई । उसले यो पैसा तीन पल्ट गनी । एक डलर र सतासी सेन्ट । भोलिपल्ट क्रिसमस थियो ।

सानो मैलो सोफामा थचक्क बसेर रुनु बाहेक अर्को उपाय थिएन । अनि डेलाले त्यसै गरी । उसले विचार गरी जीवन रुवाइ, सुस्केरा र हाँसोले बनेको छ, तर त्यसमा सुस्केराकै मात्रा अधिक छ ।

घरकी श्रीमती पहिलो अवस्थादेखि दोस्रोमा बिस्तारै जाँदै गर्दा, हामी उसको घरलाई हेरौं । मेच, टेबलहरु भएको घरभाडा हप्ताको आठ डलर । घरको अवस्था त्यति राम्रो होइन । प्रवेशद्वारमा चिठी खसाल्ने एउटा बाकस छ । तर, त्यहाँ कसैले चिठी खसाल्दैन । बाहिर बिजुलीको घण्टी बजाउने एउटा स्विच छ । तर, त्यो स्विच थिच्न कोही आउँदैन ।

त्यसैको छेउमा ‘मिस्टर जेम्स डिलिङ्घाम यंग’ लेखिएको एउटा नामपाटी छ ।

हप्तामा तीन डलर कमाउँदा जेम्स डिलिङघाम यंगले यो नामपाटी त्यहाँ झुण्ड्याएको थियो । तर, अहिले आय घटेर बीस डलर हुँदा ती अक्षरहरु ड्ढमिला हुँदै गएका थिए ।

मिस्टर जेम्स डिलिङघाम घर पुग्दा मिसेज जेम्स डिलिङघामले उसलाई माया गरेर आलिङ्गन गर्थी र ‘जीम’ भनेर बोलाउँथी । मिसेज जेम्स डिलिङघामलाई तपाईंले अघि नै भेटिसक्नुभयो । ऊ डेला हो ।

डेलाले रुन छाडी र गालामा पाउडर दली । ऊ झ्यालनेर आएर उभिई अनि बाहिर खैरो आँगनमा खैरो पर्खालमाथि हिँडिरहेको एउटा खैरो बिरालोलाई शून्य दृष्टिले हेरी । भोलि क्रिसमस । उसले जीमलाई एउटा उपहार दिन चाहन्थी । तर, डेलासँग खालि एक डलर र सतासी सेन्ट थियो । महिनौंदेखि उसले जम्मा गरेको पैसा त्यत्ति हो । हप्ताको बीस डलरले के पुग्थ्यो र ? आफूले हिसाब गरेकोभन्दा खर्च बढ्ता हुन्थ्यो । खर्च सधैं यस्तै हुन्थ्यो ।

जीमको लागि उपहार किन्नलाई ऊसित केवल एक डलर र सतासी सेन्ट थियो । उसको प्यारो जीम ! उसलाई कुनै राम्रो उपहार दिने विषयमा ऊ धेरै बेरसम्म सोचिरही । उपहार खूबै राम्रो होस् । उपहार जीमलाई सुहाउने होस् ।

कोठाभित्र झ्यालहरुको माझमा एउटा ऐना थियो । आठ डलरको भाडाको घरमा तपाईंले यस्तो ऐना देख्नुभएको होला । ऐना सानो थियो र आफ्नो अनुहारको सानो भाग मात्र देख्न सकिन्थ्यो । तर, मान्छे दुब्लो र हात छिटो चलाउने भए मात्र उसले आफ्नो अनुहारको राम्रो भेउ पाउन सक्थ्यो । डेला पातली थिई र यस कलामा सिपालु थिई ।

एक्कासि ऊ झ्यालबाट फनक्क फर्की र ऐना अघि उभिई । उसका आँखा चमचम गर्दै चम्किरहेका थिए । तर, एकैछिनमा उसको अनुहारको रङ उड्यो । उसले छिटो-छिटो आफ्नो कपाल फुकाई र त्यसलाई पूर्णरुपले झर्न दिई ।

जेम्स डिलिङघाम यंगहरुसित गर्व गर्न लायकका दुइटै कुरा थिए । एउटा थियो, जीमको सुनको घडी बाबु-बाजेको पालाको । अर्को थियो, डेलाको कपाल । पल्लो कोठामा सेबाकी रानी बसेकी भए डेलाले आफ्नो कपाल धोएर रानीले देख्ने गरी सुकाउने थिई र उनका हीरा-मोतीहरु तुच्छ तुल्याइदिने थिई । अनि तल्लो कोठामा आफ्नो सारा सम्पत्ति थुपारेर राजा सोलोमन बसेको भए, त्यो बाटो जाँदा जीमले उसलाई देखाई-देखाई त्यो घडी हेर्ने थियो । राजा चाहिँ ईर्ष्याले आफ्नो दाह्री तान्ने थियो ।

अहिले डेलाको सुन्दर केशराशि खैरो पानीको झरना झैं झलमल्ल भएर उसको आङमा झर्‍यो । उसको कपाल घुँडामुनिसम्म पुग्यो र यो उसको पोशाक जस्तै देखियो । फेरि उसले झटपट कपाल बाँधी । एकछिन हच्की र नहल्लीकन उभिइरही । उसका आँखाबाट तपतप दुई थोपा आँसु थोत्रो गलैंचामा खसे ।

उसले आफ्नो पुरानो खैरो टोप लगाई । स्कर्टले फनक्क फेरफ मारेर आँखामा चमक लिएर ऊ घरबाट फटाफट निस्की र बाटामा आइपुगी ।

जहाँ पुगेर ऊ रोकिई, त्यहाँ एउटा साइनबोर्ड थियो- ‘श्रीमती सफ्रोनी- सबै किसिमका कपाल पाइने पसल ।’ डेला दौडँदै एक सासमा एक तलामा पुगी । स्याँ-स्याँ गर्दै सास फेरेर उसले आफूलाई सम्हाली । श्रीमती सफ्रोनी थिइन् ठूलो जिउकी, साह्रै गोरी अनि रुखो स्वभावकी ।

‘मेरो कपाल किन्नुहुन्छ ?’ डेलाले सोधी ।

‘किन्छु’- श्रीमती सफ्रोनीले भनिन्- ‘टोपी फुकाल्नुस्, कस्तो छ हेरुँ !’

त्यो खैरो झरना लहराएर तलतिर झर्‍यो ।

डेलाको कपाल अभ्यस्त हातले श्रीमती सफ्रोनीले भनिन्- ‘बीस डलर ।’

‘दिनुहोस्, चाँडो दिनुहोस् ।’ डेलाले भनी ।

त्यसपछि ऊ दुई घण्टासम्म सुन्दर कल्पनाको पखेटा लाएर उडी । जीमको निम्ति उपहार किन्न ऊ पसल-पसल चहार्दै हिँडी ।

बल्ल उसले भने जस्तो चिज पाई । यो जीमकै लागि बनेको थियो, अरु कसैका लागि होइन । यस्तो चिज अरु कुनै पसलमा थिएन । उसले शहरका सबै पसल चहारिसकेकी थिई । यो थियो प्लाटिनमको घडीको चेन- सादा र शुद्ध ढाँचाको । फोस्रो अलङ्कारले होइन, तर सामग्री हेर्दा मूल्यवान् देखिने । सबै राम्रा चिजहरु यस्तै हुन्छन् नि !

यो जीमको घडीलाई खूब सुहाउने किसिमको थियो । यो देख्नेबित्तिकै उसलाई के लाग्यो भने यो चेन जीमकै निम्ति बनेको हुनुपर्छ । यो जीम जस्तै थियो । शान्त र सानदार । जीम र यो चेन दुवैमा यी गुण थिए । यसको लागि उसले एक्काइस डलर तिरी । ऊ त्यो चेन र सतासी सेन्ट लिएर हतार-हतार घरतिर हिँडी ।

आफ्नो घडीमा त्यो चेन लगाएर जीम आफ्ना साथीहरुको बीचमा समय हेर्न उत्सुक हुनेछ । उसको घडी सानदार थियो तर चेन चाहिँ पुरानो छालाको थियो । यसैले कोही बेला अरुका आँखा बचाएर ऊ घडी हेर्थ्यो ।

घर पुगेपछि डेलाले विवेकसित काम गर्न थाली । कपाल काट्दा बसेको दाग छोप्ने कोसिसमा लागी । माया र उदारता दुवै मिलेपछि गहिरा खाटा बनाइछोड्छन् । यी खाटाहरु छोप्न सजिलो छैन, साथी हो सजिलो छैन ।

चालीस मिनेटपछि उसको शिर स-साना घुँगुरिएको कपालले ढाकियो, ऊ अहिले स्कूल-भगुवा केटो जस्तै देखिन्थी । उसले ऐनामा धेरै बेरसम्म आफ्नो प्रतिरुप आँखा गाडेर हेरीरही ।

उसले मनमनै भनी- ‘जीमले मलाई मारेन भने, उसले भन्नेछ तिमी त कोनी टापुमा गाएर हिँड्ने केटी जस्तो देखिन्छ्यौ त ! अहो, एक डलर र सतासी सेन्टले म के गर्न सक्थेँ ?’

सात बजे कफी तयार भयो । चप बनाउन स्टोभमाथि ताप्के राखियो ।

जीम कहिले पनि अबेर गर्दैनथ्यो । डेलाले मुठीमा चेन राखी र ढोकाको छेउको एक कुनामा बसी । जीम सधैं त्यहीँबाट आउँथ्यो । त्यसपछि उसले जीमले भर्‍याङ उक्लेको आवाज सुनी । एकछिन त ऊ सेतै भई । प्रतिदिनका साधारण कुरामा पनि ऊ भगवान्‌सँग मनमनै प्रार्थना गर्थी । अहिले उसले भनी- ‘हे भगवान्, जीमले मलाई अझै राम्री नै देखून् ।’

ढोका खुल्यो । जीम भित्र पस्यो अनि ढोका थुन्यो । ऊ दुब्लो-पातलो र गम्भीर देखिन्थ्यो । बिचरा, ऊ बाइस वर्ष त पुगेको थियो । तब उसको काँधमा एउटा परिवारको भार थियो । उसलाई एउटा ओभरकोटको आवश्यकता थियो । फेरि उसका हातमा पञ्जा पनि थिएन ।

जीम भित्र आयो । ऊ सिकारको गन्ध पाएको कुकुर जस्तै अचल भएर उभियो । डेलामाथि उसका आँखा गाडिए । उसको हेराइमा एक किसिमको भाव थियो, डेलाले त्यो बुझ्न सकिन । त्यसले उसलाई भयभीत पार्‍यो । त्यो न त क्रोध थियो, न आश्चर्य, न अस्वीकृति, न भय, न त कुनै यस्तो भाव जुन उसले सामना गर्न तयार थिई ।

डेला जीमकहाँ गई ।

‘मेरो प्यारो जीम’, उसले कराएर भनी, ‘मलाई त्यसरी नहेर । मैले आफ्नो कपाल काटिदिएँ र बेचिदिएँ । मैले तिमीलाई क्रिसमसको उपहार नदिई बस्न सकिनँ । मेरो कपाल त बढिहाल्छ नि ! के तिमी रिसायौ ? मैले यसो नगरी सकिनँ । मेरो कपाल त ज्यादै छिटो बढ्छ । जीम, मेरी क्रिसमस भन न ! हामी खुसी मनाऔं न ! तिमीलाई थाहा छैन होला, मैले तिम्रो निम्ति कति सुन्दर कति मनोहर उपहार ल्याएकी छु ।’

‘तिमीले आफ्नो कपाल काटिदिएकी ?’ जीमले मुश्किलसाथ भन्यो, मानौं उसले त्यो सोझो कुरा बुझ्न सकेको छैन ।

‘काटेर बेचिदिएँ’, डेलाले भनी- ‘के म अब मन पर्दैन ? म त उही हुँ नि जीम । मेरो कपाल मात्र त छैन । होइन र ?’

जीमले कोठाको चारैतिर आश्चर्यको दृष्टिले हेर्‍यो ।

‘तिम्रो कपाल छैन भनेको होइन त ?’ मूर्खले जस्तो उसले भन्यो ।

‘तिमीले मेरो कपाल नखोजे पनि हुन्छ’, डेलाले भनी- ‘त्यो त मैले बेचिसकेँ । म भन्दै छु त्यो त बिक्री भएर कहाँ पुगिसक्यो । आज क्रिसमसको पूर्वसन्ध्या हो । जीम, मसित नरिसाऊ । त्यो त मैले तिम्रै निम्ति बेचेकी हुँ । सायद मेरो शिरको कपाल एक-एक गरी गन्न सकिएला’, स्वरमा गम्भीर मधुरता ल्याएर ऊ भन्दै गई- ‘तर तिमीसित मेरो माया कसैले गन्न सक्दैन । जीम, के अब चपहरु ल्याऊँ ?’

मूर्छाबाट जीम एक्कासि ब्युँझेको जस्तो भयो । उसले आफ्नी डेलालाई अँगालोमा बाँध्यो । अब हामी केहीबेरको निम्ति अर्को दिशातिर हेरौं । हप्तामा आठ डलर होस् वा वर्षमा लाखौं डलर होस्- अन्तर के छ र ? गणित जान्ने वा बुद्धिमानले गलत उत्तर दिनेछन् ।

जीमले आफ्नो ओभरकोटको खल्तीबाट एउटा पोको निकाल्यो र टेबलमाथि फालिदियो ।

‘मलाई नराम्रो नसम्झ डेला’, उसले भन्यो, ‘तिमीले कपाल काट्दैमा, खौरेर वा धोएर फ्याँक्दैमा तिमीलाई मैले कम माया गर्ने त होइन नि ! तर, तिमीले त्यो पोको खोलेर हेर्‍यौ भने तिमीलाई थाहा हुन्छ, तिमीलाई देख्दा मलाई कस्तो लाग्यो ।’

सेता-सेता औंलाहरुले पोकाका धागो र कागज खोलिए । उसले तुरुन्तै हर्षको ध्वनि निकाली । त्यसपछि अफसोस ! त्यो हर्ष नारीको रोदन र विलापमा परिणत भयो । अनि त घरको स्वामीले उसलाई मनाउन धेरै उपाय गर्नुपर्‍यो ।

त्यो पोकामा थिए क्लिपहरु- जुन डेलाले ब्रडवेको पसलको झ्यालमा देखेकी थिई र धेरै अघिदेखि लोभिएर हेर्दै आएकी थिई । ती क्लिपहरु अत्यन्त सुन्दर थिए, शुद्ध कछुवाका खपटाले बनेका, किनारमा हीराले जडिएका- डेलाको कपालमा अति नै सुहाउने ! उसलाई थाहा थियो, ती क्लिपहरु साह्रै दामी थिए । ती क्लिप पाउने कुनै आशा थिएन, तर उसको मनमा तिनलाई पाउने लालसा थियो । अनि अहिले ती क्लिपहरु उसकै भए, तर त्यो केशराशि जसलाई ती अलङ्कारहरुले सुशोभित गर्ने थियो, त्यो त अहिले थिएन । उसले ती क्लिपहरु आफ्नो छातीमा टाँसी अनि अन्तमा मधुरो आँखाले मास्तिर हेरी । ऊ हाँसी र भनी, ‘जीम, मेरो कपाल अचम्मै छिटो बढ्छ त !’

त्यसपछि डेला आगोले पोलेको बिरालो जस्तो बुरुक्क उफ्री र कराई, ‘अहो ! अहो !’

जीमले अहिलेसम्म उसको लागि डेलाले ल्याइदिएको सुन्दर उपहार देखेको थिएन । डेलाले त्यसलाई खोलेर आफ्नो खुला हत्केलामा राखेर जीमतिर सारिदिई ।

डेलाको उज्ज्वल र प्रदीप्त अन्तरात्मा त्यस संवेदनशून्य अनमोल धातुमा चम्किरहेको जस्तो देखियो ।

‘के यो राम्रो छैन त जीम ? यो पाउन म सारा शहर नै चहारिहिँडेँ । अब त तिमीले सयौंपल्ट घडी हेर्नुपर्छ । खै, तिम्रो घडी देऊ त । त्यसमा यो चेन कत्तिको सुहाउँदो रहेछ, हेरुँ त !’

उसको कुरा मान्नुको साटो जीम सोफामा थचक्क बस्यो, टाउको पछाडि हात राख्यो अनि हाँस्यो ।

‘डेला’, उसले भन्यो, ‘हामी क्रिसमसका उपहारहरु एकछिनका निम्ति परतिर राखौं । ती यति राम्रा छन् कि तिनलाई अहिले प्रयोग गर्न सकिँदैन । तिम्रो निम्ति क्लिपहरु किन्न मैले मेरो घडी बेचिदिएँ । लौ, अब चप खाऔं कि ?’

तपाईंलाई थाहा छ, ‘मजाई’ हरु ज्ञानी थिए । क्रिसमसमा उपहार दिने चलन उनीहरुले चलाएका थिए । बुद्धिमान् भएका हुनाले उनीहरुले बुद्धि पुर्‍याएर उपहार दिन्थे । आज मैले दुई बुद्धिहीन बालक-बालिकाको कथा सुनाएँ । उनीहरुले एक-अर्काका लागि आफ्ना मूल्यवान् वस्तुहरु समर्पित गरे । अचेलका विद्वान्‌हरुमध्ये यी दुई हुन् सबभन्दा विद्वान् । वास्तवमा उनीहरु हुन् ‘मजाई’ ।

अनुवाद: राजनारायण प्रधान

२०७४ असार ३१ गते १०:४५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this