Comments Add Comment

ललितपुर महानगरको प्रस्तावः एकान्तकुना, ग्वार्को र सातदोबाटोमा इन्टरसेक्सन फ्लाइओभर

कात्तिकसम्मै काम, डेढ इन्चको पिच

३१ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुर भित्रिन र बाहिरिन प्रयोग हुने प्रमुख चोकहरुमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्ने भएको छ ।

शनिबार बसेको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र प्रस्तावित बजेट प्रस्तुत गर्दै मेयर चिचरीबाबु महर्जनले पूर्व घोषणा अनुसार कुपण्डोलदेखि बाग्मतीसम्म १.४ किलोमिटरको फ्लाइओभर बनाइने बताएका छन् ।

साथै ललितपुरका मुख्य नाकामा पनि इन्टरसेक्सन फ्लाइओभर बनाउन सम्भाब्यता अध्ययन गर्ने बताए । ‘चक्रपथबाट ललितपुर आउँदा एकान्तकुना, ग्वार्को र सातदोबाटोमा निकैबेर जाम खेप्नुपर्छ । अब यो अवस्था हटाउन त्यहाँ इन्टरसेक्सन फ्लाइओभर राख्न सम्भाब्यता अध्ययन गर्नेछौं’ मेयर मर्जनले भने ।

पार्किङको समस्या हटाउन भर्टिकल पार्किङको पनि सम्भाव्यता अध्ययन अध्ययन गरिने उनले बताए । नगर यातायात गुरुयोजना बनाएर सडक, ढल र अन्य शहरी पूर्वाधारको निर्माणका गति दिइने पनि ललितपुर महानगरको योजना छ ।

कात्तिकसम्म काम, डेढ इन्चको सडक पिच

वर्षभरी काम नहुने र आर्थिक वर्षको अन्त्यमा धेरै काम गरेर रकम सक्ने शैली अन्त्य गर्दै ललितपुर महानगरले आर्थिक वर्ष सकिएपनि कात्तिकसम्म बजेट फ्रीज नहुने बताएको छ ।

‘असारमै आएर बढी काम गर्ने परिपाटीले समस्या भएको छ । अब कात्तिकसम्म आयोजना चलाउन पाउने गरी ब्यवस्था गर्छौं’ मेयर महर्जनले भने, ‘यसले हतारमा हुने विकासलाई रोक्छ भने बषर्ामै गरिने गुणस्तरहीन विकासका कामलाई पनि छेक्छ ।’

मेयर महर्जनले अब महानगरभित्र बन्ने सबै कालोपत्रे सडक गुणस्तरीय हुने दावी गरे । त्यसका लागि सम्झौतामा स्पट प्रावधान राख्ने र अनुगमन गर्ने योजना छ । ‘मापदण्डअनुसार सडक कालोपत्रे नगर्ने परिपाटी अब अन्त्य हुन्छ । अब ठेकेदारसँग कालोपत्रे सडक १.५ इञ्च भन्दा कम हुनै नहुने गरी समझौता गर्छौं’ मेयर महर्जनले भने, ‘यदि कमसल सडक बनाएर भत्किए एक वर्षसम्म उसको परर्फमेन्स ग्यारेन्टी जफत गरेर उसलाई नै ममर्त गर्न लगाउँछौं । एक वर्षसम्म सडक नभत्किएपनि यो ग्यारेन्टी रकम राखिराख्छौं ।’

ऐतिहासिक पर्यटकीय स्थानका सकडमा आरसीसी ढलानलाई विस्थापित गरिने भएको छ । त्यस्ता महत्वपूर्ण ठाउँमा ढुंगा छाप्ने कामलाई तीव्रता दिने बजेटमा उल्लेख छ ।

ललितपुर महानगरपालिकाले ३ वर्षभित्र सबै वडा कार्यालयको आफ्नै भवन बनाइसक्ने योजना बनाएको छ । साथै शंखमुलमा विद्युतीय शवदाह गृह बनाइने भएको छ ।

अब सबै वडामा विद्युतीय नक्सापासको प्रक्रिया अबलम्बन गर्ने, भूकम्पीय जोखिमयुक्त घर भत्काएर पुनर्निर्माण गर्दा नक्सापास निःशुल्क गर्ने, ५००० वर्ग फिटभन्दा बढी क्षेत्रफलमा बनेका आवासीय क्षेत्रका भवनलाई पनि ब्यवसायिक मानेर कर उठाउने लगायतका विषय पनि महानगरको नीति तथा कार्यक्रममा परेका छन् ।

नीति तथा कार्यक्रम र बजेटमा सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र फोहोर ब्यवस्थापन पनि परेको छ ।

लगनखेल तरकारी बजारलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्न आवश्यक सुधार गर्ने र वैकल्पिक कृषि बजारका लागि बालकुमारी, धापाखेल, सुनाकोठी र सुन्दरीघाट क्षेत्रमा सम्भाब्यता अध्ययन गर्ने महानगरको बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment