Comments Add Comment

एडिलेडलाई घन्काएपछि नेपथ्य सिड्नीतर्फ

१६ जुलाई, एडिलेड । यस वर्ष अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत दोश्रो कन्सर्ट शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा सम्पन्न भएको छ ।

स्तरिय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरुको निम्ति विश्वमै प्रसिद्ध बरोसा भ्यालीसँग नजिकै रहेको यो सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो ।

सिड्नी र मेलबर्नको तुलनामा एडिलेडमा असाध्यै थोरै नेपालीहरुको बसोबास रहेको छ । यति हुँदाहुँदै पनि लगभग ३ हजार नेपालीको बसोबास रहेको यस सहरमा झण्डै तीस प्रतिशत मानिस नेपथ्यलाई हेर्न र सुन्न कन्सर्ट हल आइपुगेका थिए ।

‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरुलाई एकतामा जोड्ने काम गर्छ,’ आयोजक समितिका खुम घले भन्छन्, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो ।’

घलेका अनुसार सन् २०१२ मा नेपथ्य सिड्नीको टाउनहलमा प्रस्तुत हुँदैगर्दा धेरै दर्शकहरु सुरक्षाका कारण बाहिरै रहन बाध्य हुनुपरेका मध्ये एक उनी पनि थिए ।

‘सिड्नीको मुटुमै रहेको त्यो प्रसिद्ध हल बाहिर कुनै नेपाली कार्यक्रमकै कारण सडकमा ट्राफिक जाम भएको र थुप्रै प्रहरी परिचालित गर्नुपरेको त्यो घटना आफैमा अविष्मरणीय बन्न पुगेको थियो,’ खुम भन्छन्, ‘त्यतिबेला अगाडिनै हल भरिएको कारणले सयौं दर्शकहरु कार्यक्रम नहेरेरै फर्किनुपरेको थियो ।’

त्यस्तो अवस्थामा शनिबार एडिलेडको कार्यक्रममा भने एकजना पनि नेपाली दर्शक निराश भएर फर्किनु नपरेकोमा खुम आफुलाई गौरव महशुस भएको छ भन्छन् ।

‘हामी नेपालीको पि्रय ब्याण्ड बन्न पुगेको नेपथ्यले स्थापनाको २५ वर्ष मनाइरहेको बेला एडिलेडमा एकजना पनि दर्शक फर्किनु परेन,’ खुमले भने, ‘कार्यक्रमको महत्वलाई पूर्वानुमान गरेर सुरुमै हामीले फराकिलो हल र उचित व्यवस्थापन अपनाएकोमा त्यो सफल भएको छ ।’

आफ्नो भवनमै घन्टाघरसमेत समेटेको सय वर्ष पुरानो नरउड कन्सर्ट हल आफैँमा एडिलेडस्थित ऐतिहासिक भवन हो ।

कार्यक्रमको प्रारम्भमै नेपथ्यको भर्खरै रिलिज भएको म्यूजिक भिडियो ‘घरको कुरा’पनि प्रस्तुत गरिएको थियो । गीतको भावले दर्शकहरुको मनलाई छोएको देखिन्थ्यो ।

‘यसका शब्दहरु कति बलिया रहेछन्,’ तीन वर्षदेखि एडिलेड बस्दै आएका प्रदिप खत्री भनिरहेका थिए, ‘घरलाई सम्झेर एकछिन त आफुलाई थाम्न पनि मुश्किल भयो ।’

यतिबेला दक्षिणी गोलार्द्धमा जाडोको महिना चलिरहेको छ । अर्थात जब वायुको तापक्रम ११ डिग्रीमा ओर्लिएको थियो ठीक त्यतिबेलै नेपथ्यको कन्सर्ट सुरुहुने बित्तिकै नरउड हलको तापक्रम भने उच्च बन्न पुगेको थियो ।

‘शिरफूल’देखि लिएर ‘यो जिन्दगानी’ सम्म दर्शकलहरले अमृत सँगसँगै गीत गाएका थिए ।

‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महशुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘स्टेजबाट गाइरहेको बेला अन्धकारले गर्दा दर्शकदीर्घा जसै म देख्न सक्दिनँ त्यसैगरि त्यस क्षणले मलाई म स्वदेशमा गाइरहेको छु वा विदेशमा भन्ने छुट्याउन नसक्नेगरि आत्मीयता महशुस गराइरहेको हुन्छ । यति धेरै माया गरेर तपाइहरुले मलाई यति ठूलो ऋणी बनाइरहनुभएको छ जसको म उल्लेख पनि गर्न सक्दिनँ ।’

केही लोकधुनमा आधारित गाना र भावनात्मक गीतहरु सुनाएपछि नेपथ्यले दर्शकहरुलाई आफ्नो देशभक्तिमा आधारित नयाँ रेकर्ड ‘हामी नेपाली’सुनाएको थियो ।

अमृतले गीतको थालनी गर्दै जसै ‘तिमी पनि नेपाली’ भनेका थिए जवाफमा दर्शकको भीँडले नै गाएर ‘म पनि नेपाली’ भनेको थियो र फेरि सबै जनाले संयुक्त स्वरमा गाएका थिए, ‘हामी नेपाली, हामी नेपाली ।’

केही दिनअघि मात्र अमृतले यस गीतको संगीत र एरेन्जमेन्टको बारेमा फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरेका थिए । यो गीतलाई रविन्ऽ मिश्रले लेखेर अमृतलाई हस्तान्तरण गरेका थिए । त्यो शब्दलाई अमृतले आफ्नो गोठ बसाइकै बेला संगीतवद्ध पारेको जानकारी त्यसमा थियो ।

यसरी नेपाली पारामै संगीतवद्ध गरिएता पनि यसलाई एरेन्जमेन्ट गर्दा भने ‘रक’शैलीको प्रभाव पर्न गएको अमृतले उनको फेसबुकमा खुलासा गरेका थिए ।

अमृतले विश्वप्रसिद्ध रक ब्याण्ड एसीडीसीका गायक ब्रेन जोन्सनको सम्झना गर्दै उनकै प्रभाव यस गीतमा कता कता भित्रिएको जानकारीका साथ उनलाई नै यो गीत समर्पित गरेका थिए ।

त्यसपछि अमृतले लोकगीतहरुको अर्को श्रृंखला थालनी गर्नुअघि नेपालका कुना कन्दरा घुम्दै लोकगीत संकलनका आफ्ना अनुभवहरु दर्शकसँग साटे ।

‘हिजो मात्र मोरियाल्टा कन्जर्भेसन पार्क घुम्दैगर्दा मैले त्यसको सुन्दरतामा रमाउन पाएँ । यस्तो लाग्यो म नेपालै घुमिरहेको छु,’ उनले थपे, ‘यदि तपाइलाई नेपालको यादले छटपटी भइरहेको छ भने तपाई पनि यो पार्कमा गएर घुम्न नबिर्सनु होला ।’

रातको ठीक ८ बजे सुरुभएको कन्सर्ट दुइ घन्टासम्म चलेको थियो ।

अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब सिड्नीमा भब्य प्रस्तुतीका लागि न्यु साउथवेल्स राज्यतर्फ प्रस्थान गर्नेे छ ।

विश्वप्रसिद्ध हार्बर बि्रजकै तल अवस्थित लुना पार्कको विशाल अडिटोरियममा जुलाइ २२ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरु घन्काएर सिड्नीलाई सँधैजस्तै तरंगित बनाउने अठोट लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment