Comments Add Comment

मधेस केन्द्रित दलहरुसँग आफ्नै नेतृत्वमा वार्ता गर्ने एमालेको निर्णय

२४० निर्वाचन क्षेत्र अस्वीकार्य, प्रदेश नम्बर २ मा पनि पहिलो पार्टी बन्ने लक्ष्य


१ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले मधेसवादी दलहरुसँग आफ्नै पहलमा ‘परिणाममुखी’ वार्ता गर्ने निर्णय गरेको छ । मधेस केन्द्रित दलहरुसँग संविधान जारी भएदेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेको एमालेले पछिल्लो समय शुरु भएको अनौपचारिक वार्तालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने बताएको छ ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले अनौपचारिक वार्ता जारी राख्ने निर्णय गरेको छ । परिणाममुखी वार्ता टुंगोमा पुगेपछि सार्वजनिक गरिने एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए ।

एमालेले मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतसँग अनौपचारिक छलफल भएको बताएको छ । पछिल्लो समय राजपा नेताहरुले समेत एमालेसँग सम्बन्ध सुधारको प्रयास गरेका थिए ।

तीन दिनअघि काठमाडौंमा मधेसी बुद्धिजिवीहरुसँगको छलफलमा अध्यक्ष ओलीले अब एमालेले मधेस समस्या समाधानका लागि विशेष पहल गर्ने बताएका थिए ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मधेस केन्द्रित दलहरुसँग निरन्तर सम्वाद भइरहेको र त्यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन पार्टी केन्द्रित रहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘एमाले मधेसी जनता र मधेशको समस्याबारे गम्भिर छ । हामी सत्तापक्षले जस्तो नक्कली कुरा गर्दैनौं, जे कुरा सम्भव छन् ती पूरा गर्न एमालेले अगुवाई गर्छ । त्यसका लागि सबै पक्षसँग संवाद गर्छौं ।’

२४० निर्वाचन क्षेत्र अस्वीकार

एमालेले २४० निर्वाचन क्षेत्र कायम राखेर चुनावमा जाने प्रस्तावलाई अस्वीकार गरेको छ । हालै भएको प्रमुख तीन दलका दलको शीर्ष बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले २४० निर्वाचन क्षेत्र राख्नेबारे राय मागेका थिए ।

एमालेले संविधान बमोजिम १६५ निर्वाचन क्षेत्र कायम हुनुपर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने माग समेत गरेको छ । ‘२४० निर्वाचन क्षेत्र स्वीकार्य छैन, संविधान विपरित सत्तापक्ष जान खोज्दैछ’ एमालेका एक नेताले भने ‘यो भनेको चुनाव नगराउने र अहिलेको संसदको आयु लम्ब्याउने खेल हो ।’ ।

नेता नेम्वाङले एमालेले पनि २४० निर्वाचन क्षेत्रको प्रस्ताव मानेको भनेर हल्ला चलाइएकाले भन्दै खण्डन गरेका छन् । उनले भने, ‘संविधान बमोजिम तोकिएको समयमा तीनै तहका निर्वाचन हुनुपर्छ, यसमा दायाँ बायाँ गर्न एमाले तयार छैन ।’

प्रदेश नम्बर २ मा पनि पहिलो बन्ने

पहिलो र दोस्रो चरणमा चुनाव भएका ६ प्रदेशमा पहिलो पार्टी बनेकोे एमालेले अब असोज २ गते हुने तेस्रो चरणको चुनावमा पनि प्रदेश नम्बर २ को पहिलो पार्टी बन्ने गरी तयारी थाल्न मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।

एमालेले ६ प्रदेशकै जनप्रतिनिधिहरुलाई साउन महिनाभित्रै काम कर्तव्य र अधिकारका बारेमा विज्ञहरुबाट प्रशिक्षण दिने निर्णय गरेको छ । साथै स्थानीय चुनाव कारण स्थगित गरिएका जिल्ला तथा भातृ संगठनका अधिवेशनहरु खुला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment