Comments Add Comment

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो- क्षेत्र निर्धारण आयोग गठन गर्न ढिला भइसक्यो

फास्ट ट्र्याकबाट ऐन पारित गर्न माग

तस्वीर रासस

१ साउन, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरेका छन् । साथै प्रदेश सभा तथा प्रतिनिधि सभासम्वन्धी ऐन फास्ट ट्र्याकबाट पारित गर्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री श्री शेर बहादुर देउवा र प्रमुख निर्वाचन पदाधिकारीबीच सिंहदरबारमा भएको छलफलमा गृहमन्त्री जनार्दन शर्मा पनि उपस्थित थिए ।

भेटमा प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनबारे कुराकानी भएको छ । ‘हामीले क्षेत्र निर्धारण आयोग गठन गर्न ढिला भयो । चाँडो गरिदिनुपर्‍यो भनेका छौं,’ आयुक्त नरेन्द्र दाहालले अनलाइनखबरसँग भने ।

साथै प्रदेश सभा तथा प्रतिनिधि सभासम्वन्धी ऐन फास्ट ट्र्याकबाट पारित गर्न पनि आयोग पदाधिकारीले आग्रह गरेका छन् । ‘नभए निर्वाचनलाई असर गर्छ भनेका छौं,’ दाहालले भने, ‘प्रधानमन्त्रीले निर्वाचन सम्बन्धी ऐनहरू पारित र आयोग गठन चाँडै गर्छौं भन्नु भएको छ ।’

आयोगले प्रदेश र संघीय संसदको चुनाव छुट्टाछुट्टै गर्नुपर्ने भन्दै निर्वाचनसम्वन्धी ऐन कानुन असार मसान्तभित्र पारित गरिसक्न सरकारलाई आग्रह गरेको थियो । साथै साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आफूले नपाए निर्वाचन गर्न गाह्रो हुने बताएको थियो ।

प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्वन्धी ऐन संसदमा विचाराधीन छ । तर, निर्वाचन क्षेत्र निर्धारण आयोग अझैसम्म गठन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment