Comments Add Comment

ट्रयाक खुलेको ५० वर्षपछि डुम्रे-चन्द्रावती सडक कालोपत्रे

२ घण्टा लाग्ने यात्रा अब ४५ मिनेटमै

२, साउन, तनहुँ । ट्याक खुलेको ५० बर्षपछि तनहुँको डुम्रेदेखि चन्द्रावती बजारसम्मको कच्ची सडक कालोपत्रे भएको छ । डुम्रेदेखि चन्द्रावतीसम्म १४.२ किलोमिटर सडक कालोपत्रे गरेर सकिएको डिभिजन कार्यालय तनहुँका इन्जिनियर कर्ण केसीले जानकारी दिए ।

डुम्रेदेखि स्याउली बजारसम्म सडक विभागले यसअघि नै कालोपत्रे गरेको भए पनि स्याउली बजारदेखि चन्द्रावतीसम्म करिव ७.२ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी थियो । डीबीएडी प्रविधि अपनाएर सडक कालोपत्रे गरिएको इन्जिनियर केसीले बताए ।

सडक कालोपत्रे गर्नका लागि चितवन र तनहुँको आशिष ऋषि शक्ति पराजुली जेभीसँग भ्याटसहित ५ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको थियो । सडक ४ मिटर पिच गरिए पनि ट्याक भने ८ मिटरको बनाइएको छ ।

‘मुलभूत रुपमा सडकको पिच गर्ने काम सकियो, अझै नालीको केही काम बाँकी छ’ विभागका इन्जिनियर केसीले भने, ‘वर्षातको समय सकिएपछि कामको अनुगमन र मूल्याङन हुन्छ, केही रकम अझै भुक्तानी दिन बाँकी छ ।’

पृथ्वी राजमार्गसँगसँगै २०२३ सालमा ट्याक खोलिएको यो सडक निकै लामो समयपछि कालोपत्रे भएपछि त्यस क्षेत्रका वासिन्दाहरु खुसी भएका छन् ।

१४.२ किलोमिटरको दुरी पार गर्न यसअघि २ घण्टा लाग्ने गरेकोमा अब भने ४५ मिनेटमै सडक पार गर्न सकिने भएको छ । साथै भाडादर समेत घट्ने भएको छ । कति भाडा घटाउने भन्ने बारेमा समिति र जनप्रतिनिधीहरूका बीचमा छलफल हुन भने बााँकी छ । यस सडकमा दैनिक १२ वटा ठूला बस र ८ बटा साना जीपहरू चल्दै आएका छन् ।

गत आर्थिक वर्षमा बाँकी सडक कालोपत्रे गरेर सक्ने सम्झौता भएको भए पनि ठेकेदारले भूकम्प र नाकाबन्दीको कारण देखाउँदै समय थप मागेको थियो । एक वर्षअघि सक्नुपर्ने सडक यसै आर्थिक वर्षभित्र कालोपत्रे गरेर सकिएको हो । आदिकवि भानुभक्तको जन्मस्थान चुँदीरम्घा भएर जाने यस सडकलाई ‘भानु मार्ग’ को नाम दिइएको छ ।

तनहुँको उत्तरी क्षेत्रका साविकका ९ गाविसहरु मिर्लुङ, वसन्तपुर, सतिश्वारा, भानु, चोकचिसापानी, वरभञ्याङ, रिस्ती, तनहुँसुर, रूपाकोट गाविसका झण्डै ३५ हजार भन्दा बढी जनताहरू यहि सडक भएर हिँडछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment